नेकपा माओवादी केन्द्रका नेता सहित ५ सय जना एमालेमा प्रवेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०७३, शुक्रबार ०७:१२

काठमाडौं,११ चैत्र  । नेकपा माओवादी केन्द्रका नेता सहित ५ सय जना एमालेमा प्रवेश गरेका छन् ।  नेकपा एमाले काभ्रे काठमाडौँ सम्पर्क मञ्चले राजधानीको धुम्वाराही पार्टी प्यालेसमा आयोजना गरेको तिमालका युवाहरूको भेला कार्यक्रममा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जिल्ला नेतासहित ५५० जना एमालेमा प्रवेश गरेको नेकपा एमाले ठूलोपर्सेल काठमाडौं सम्पर्क कमिटिका संयोजक सत्यमान लामाले जानकारी दिए ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ५ र काभ्रेका माओवादी केन्द्रका जिल्ला सदस्य, नेपाली कांग्रेस गाउँ कमिटी अध्यक्ष, एवं पूर्वअध्यक्ष, संघीय समाजवादी फोरम नेपालका गाउँपालिका कमिटी सचिव लगायतको टिम धुम्वाराही आएर पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, नेकपा एमाले काभ्रेका पूर्व अध्यक्ष गोकुल बाँस्कोटा, अध्यक्ष टोकबहादुर वाइवा, युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारी लगायत नेताले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे । देशलाई साँचो माया गर्ने र देशको समृद्ध चाहनेहरु एमालेमा प्रवेश गर्न थालेको भन्दै पोखरेलले सांगठनिक जिम्मेवारी कटिबद्ध भएर पूरा गर्न निर्देशन दिए ।

पार्टी प्रवेश गर्दै नवप्रवेशीहरुले देशको भलो चाहने पार्टी एमाले मात्रै भएकाले पार्टी प्रवेश गरेको र कटिबद्ध भएर लाग्ने तथा चुनावमा इमान्दार स्वयंसेवकका रुपमा खटिने प्रतिबद्धता जनाएको युवा किसान संघ तीन नं। प्रदेश कमिटिका सचिव समिप त्रिपाठीले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले काभ्रेका सचिव नारायण पाण्डे, नेकपा एमाले काभ्रे जिल्ला कमिटि सदस्य तथा युवा संघ नेपालका सचिवालय सदस्य अमित लामा, नेकपा एमाले काभ्रेका सदस्य एवं अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य जेनिश लामा, युवा संघ काभ्रेका अध्यक्ष होमप्रसाद चौलागाईं लगायतका नेताहरूको सहभागिता रहेको थियो । कार्यक्रमको व्यवस्थापन र पार्टी प्रवेश गराउने सम्पूर्ण तयारी सत्यमान लामा र समिप त्रिपाठीले गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१