ट्राउजर लगाउने ७५ छात्रालाई स्कुलबाट फर्काइयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०७३, आईतवार २०:३३

एकदमै टाइट ट्राउजर लगाएको आरोपमा एउटा स्कुलले ७५ जना छात्राहरुलाई घर फर्काएको छ । छात्राहरुले कसिलो ट्राउजर लगाउँदा छात्रहरु रोमाञ्चित भएको र पढाईमा ध्यान केन्द्रित गर्न नसकेको विद्यालयको दावी छ ।

बेलायतको वेस्ट मिडल्यान्ड्सस्थित सोलीहुलमा रहेको सिमथ वुड स्पोर्ट्स कलेजका छात्राहरुलाई विद्यालयको गाइडलाइन तोड्ने गरी पोशाक लगाएको आरोपमा घर फर्काइएको हो । उनीहरुलाई खुकुलो ट्राउजर लगाएर मात्र विद्यालय आउन भनिएको थियो ।

विद्यालयबाट लज्जित बनाइएका आफ्ना छोरीहरु रुँदै घर आएको अभिभावकहरुले बताएका छन् । उनीहरुले विद्यालयको यस्तो कदमको कडा आलोचना गरेका छन् ।

घर फर्काइएकी छात्रा किली हड्सनकी आमा हेइलीले आफ्नी छोरीले ४ वर्षदेखि उस्तै ट्राउजर लगाइरहेको बताइन् । उनले भनिन्, ‘म आफैं छोरीलाई टाइट ट्राउजर लगाउन रोक्छु, किनकी यो स्कुल हो फेसन परेड होइन ।’

अर्की आक्रोशित आमा जोडी प्याटिन्सले भनिन्, ‘मेरी छोरीले लगाएको ट्राउजर लेगिन्ज होइन, न त यो सस्तो खालको नै हो । मैले १६ पाउन्डका दरले तीन जोडी किनेकी थिएँ ।’ छात्रहरुलाई भने जस्तोसुकै पोशाक लगाएर आउन अनुमति दिइएको उनले बताइन् ।

विद्यालयका प्रिन्सिपल काटी क्रेगले अभिभावकहरुलाई पूर्वसुचना दिएर नै यस्तो कदम चालेको बताए । क्रेगका अनुसार स्कुलले आफ्नो वेवसाइटमा छात्राहरुले जेगिन्ज, लेगिन्ज र कसिला ट्राउजर लगाउन नपाउने उल्लेख गरेको छ । यस विषयमा अभिभावकहरुलाई टेक्स्ट म्यासेज पनि पठाएको उनले बताए ।

विद्यालयको वेवसाइटमा छात्राहरुले घुँडासम्म आउने स्कर्ट वा खुकुलो खालको ट्राउजर लगाउनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०