नाकमा किन बढी पसिना आउँछ र कसरी छुटकारा मिल्छ यस्ता छन् टिप्स

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७३, शुक्रबार ०७:४५

अनुहारमा पसिना आउनु साधारण प्रक्रिया हो । तर, कसैकसैलाई धेरै नै पसिना आउँछ । खासगरी कतिपयलाई नाकमा बढी पसिना आइरहन्छ । यस्ता व्यक्ति पसिनाकै कारण हैरान हुन्छन् । नाकको पसिनाका कारण महिलाले बढी पीडा महसुस गर्छन् । मेकअप गरेर बाहिर निस्कियो, केही बेरमै पसिना आएर मेकअप लतपतिन्छ । नाकमा किन बढी पसिना आउँछ र कसरी छुटकारा मिल्छ ?  ब्युटिसियन अनिता निरौला भन्छिन्ः

कारण
नाक तथा अनुहारमा बढी पसिना आउने कारण व्यक्तिअनुसार फरक–फरक हुन सक्छ । व्यक्तिका शरीरमा हुने रोगले पनि यसमा प्रभाव पारेको हुन्छ । खासमा पसिना निस्किने ग्रन्थि बढी सक्रिय भएपछि यो समस्या हुने हो । पसिना धेरै आएपछि छाला चिल्लो हुन्छ र समस्या देखिन्छ । यस्तो छालामा धुलोमैलो टाँसिएर विभिन्न समस्या देखिन्छ । अनुहार राम्रोसँग सफा नगर्नु, तनाव बढी लिनु पसिना बढी आउने कारण हुन् । सुगरका रोगीलाई नाकमा बढी पसिना निस्किन्छ । कुनै खाना या ड्रिंकको एलर्जीका कारण पनि नाकमा पसिना बढी आउने समस्या हुन्छ । कतिपयको भने शरीरअनुसार पनि कुनै अंगमा धेरै पसिना आउने हुन्छ ।

समस्या

चिल्लो र मिश्रित छालामा यो समस्या बढी हुन्छ । गर्मी महिनामा नाकमा पसिना आउने समस्याले धेरै सताउँछ । पसिना धेरै आउने समस्याले नाक रातो हुने, ब्ल्याकहेड्स निम्त्याउने, चिपचिप बढी गराउने र मेकअप नै बिगार्ने गराउँछ ।

समाधान

नाकमा पसिना धेरै आउने समस्या समाधान गर्ने विभिन्न उपाय छन् । रोग या एलर्जीलगायत कारणले समस्या भएको हो भने यसको समाधान खोज्नु पहिलो काम हुनेछ । पसिना बढी आउने मुख्य कारणको निवारण गरेपछि नियमित बाहिरी छालाको केयरमा ध्यान दिनुपर्छ । यस्तो समस्या भएको अनुहारमा जहिल्यै आयल फ्री क्लिन्जिङ प्रयोग गर्नुपर्छ । मोस्चराइजरको प्रयोग गर्नु हुँदैन । नियमित मनतातो पानीले मात्रै मुख धुनु उत्तम हुन्छ । छालाको प्रकृति हेरेर दक्ष ब्युटिसियन÷विज्ञको सुझाबअनुसार नियमित फेसियल गर्नुपर्छ । मेकअप जहिल्यै पाउडर बेसमा गर्नुपर्छ भने आयल फ्री सामग्री प्रयोग गर्नुपर्छ । नाकमा बारम्बार पसिना आइरहने समस्या हुनेले सधैँ टिस्यु पेपर बोकेर हिँड्न भुल्नु हुँदैन । मेकअप गरेको तथा नगरेको दुवै अवस्थामा पसिना आए टिस्युले हल्का टच गरिराख्नुपर्छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१