मनोनयन दर्ता भएका क्याम्पसमा चुनाव नरोकिने ,यी क्याम्पसमा स्ववियु चुनाव स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७३, मंगलवार ०७:५३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियन को कार्यतालिकाअनुसार उपत्यकाका ठूला क्याम्पसमा चुनाव नहुने भएको छ । उम्मेदवार मनोनयन दर्ता हुन नसकेपछि उपत्यकाका अधिकांश ठूला क्याम्पसमा १८ फागुनमा निर्वाचन नहुने भएको हो ।

त्रिविको निर्वाचन कार्यतालिका अनुसार १४ फागुनमा उम्मेदवारी मनोनयन दर्ता नभएपछि सोमबार साढे १० बजेसम्मलाई समय बढाइएको थियो । तर, विद्यार्थी संगठनहरू चुनावी प्रक्रियामा सहभागी नभएपछि धेरै क्याम्पसमा चुनाव नहुने भएको हो । केही क्याम्पसले औपचारिक रूपमा सूचना निकालेर चुनाव स्थगित गरेका छन् भने केही क्याम्पसमा तालाबन्दी छ । ‘त्रिविले थपेको समयसीमाभित्र जुन–जुन क्याम्पसमा उम्मेदवारी मनोनयन दर्ता भएका छन्, ती क्याम्पसमा मात्र चुनाव हुन्छ,’ त्रिवि केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव गंगाबहादुर थापाले भने ।

१८ पछि त्रिवि केन्द्रीय प्रशासनले चुनाव गराउँदैन
प्रा।डा। सुधा त्रिपाठी त्रिवि शिक्षाध्यक्ष
त्रिविका जुन–जुन क्याम्पसमा मनोनयन भएको छ, त्यहाँ चुनाव हुन्छ । १८ गते मतदान नहुने क्याम्पसमा त्रिवि केन्द्रीय प्रशासनले अब स्ववियु चुनाव गराउँदैन । हाम्रा अरू पनि काम छन् । अहिले हामीले दुई महिना स्ववियु चुनावका लागि खर्च गर्‍यौँ । वर्षभरि स्ववियु चुनावकै तनाव लिएर हुँदैन । हामीले चुनाव गराउन धेरै प्रयास गर्‍यौँ । त्रिविमा आएर विद्यार्थी संगठनले हस्ताक्षर गरे पनि चुनाव गर्ने विषयमा गम्भीर भएको देखिएन । जुन क्याम्पसमा चुनाव हुँदैन, त्यहाँ क्याम्पस प्रशासनले आन्तरिक कार्यतालिका बनाएर प्रस्ताव गरेमा अनुमति दिन्छौँ । विभिन्न क्याम्पसबाट चुनावमा विद्यार्थी संगठनहरू नै गम्भीर नपाएको गुनासो आएको छ ।

यी क्याम्पसमा स्ववियु चुनाव स्थगित
उपत्यकाका केही ठूला क्याम्पसका निर्वाचन समितिले औपचारिक सूचना निकालेर चुनाव स्थगित गरेका छन् । पाटन संयुक्त क्याम्पसमा वैद्य र विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनको तालाबन्दीका कारण चुनाव स्थगित भएको छ । निर्वाचन समितिले विद्यार्थी संगठनलाई छलफलका लागि सोमबार बिहान ८ बजे बोलाए पनि विद्यार्थीहरू सहभागी नभएपछि चुनावी कार्यक्रम अघि बढाउन नसकिएको क्याम्पसका निर्वाचन आयुक्त जगदीशचन्द्र भण्डारीले बताए । बागबजारस्थित पद्मकन्या क्याम्पसमा पनि चुनाव स्थगित भएको छ । चुनावी प्रक्रिया अघि बढेका वेला विद्यार्थी संगठनबीच झगडा भएपछि चुनाव स्थगित भएको हो ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

सोह्रखुट्टेस्थित सरस्वती बहुमुखी क्याम्पसमा पनि स्ववियु चुनाव स्थगित गरिएको छ । सो क्याम्पसमा बिबिएमका विद्यार्थीको मतदाता सूचीमा नाम नआएपछि विद्यार्थीको विरोधका कारण चुनाव स्थगित गरिएको हो । बानेश्वर बहुमुखी क्याम्पसमा पनि स्ववियु चुनाव स्थगित भएको छ । विद्यार्थी संगठनहरूले विभिन्न माग राख्दै क्याम्पसमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया अघि बढाउन नसकेर निर्वाचन समितिले सूचना निकाली चुनावका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको जनाएको छ ।

यसअघि नेपाल ल क्याम्पसले पनि स्ववियु चनाव स्थगित गर्ने आइतबार निर्णय गरेको थियो । तर, सोमबार विद्यार्थी संगठनबीच चुनाव गर्ने सहमति भएमा क्याम्पस प्रशासन तयार रहेको जनाएको थियो । यसैबीच, त्रिवि केन्द्रीय, महेन्द्ररत्न, आरआर, विश्वभाषा, शंकरदेव, पब्लिक युथ, पशुपति बहुमुखी क्याम्पसलगायतमा तालाबन्दीका कारण उम्मेदवारी मनोनयन दर्तासमेत हुन सकेन ।

कमर्स क्याम्पसमा ताला खुल्यो, प्रक्रिया बढेन
नेपाल कमर्स क्याम्पसमा एक साताअघि लागेको ताला खुलेको छ । फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै एक साताअघि मधेसी विद्यार्थी फोरम ९लोकतान्त्रिक० ले ताला लगाएको थियो । सोमबार बिहान क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थी संगठनका केन्द्रीय प्रतिनिधिबीच फर्जी विद्यार्थीको भर्ना खारेज गर्ने सहमतिपछि ताला खुलेको थियो । तर, अन्य विद्यार्थी संगठनले सो सहमतिको विरोध गरेपछि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको निर्वाचन आयुक्त प्रा।डा। सुशीलभक्त माथेमाले बताए ।

त्रिचन्द्रमा फेरि ताला
त्रिचन्द्रमा एक साताअघि लागेको ताला खुलेसँगै विद्यार्थीले सोमबार फेरि तालाबन्दी गरेका छन् । असन्तुष्ट विद्यार्थीको माग छलफलबाट टुंग्याउने सहमतिपछि आइतबार ताला खुलेको थियो । तर, क्याम्पस प्रशासनले केही संगठनको आडमा छलफल प्रक्रिया अघि नबढाएको विरोधमा नेविसंघले ताला लगाएको त्रिचन्द्र क्याम्पसका नेविसंघका नेता विष्णु पौडेलले बताए ।

आन्दोलनमा उत्रियो अखिल क्रान्तिकारी
स्ववियु चुनाव नहुने वातावरण देखेपछि माओवादी केन्द्रनिकट अखिल ९क्रान्तिकारी० आन्दोलनमा उत्रेको छ । उपत्यकाका अधिकांश क्याम्पसमा तालाबन्दीका कारण १८ फागुनमा हुने भनिएको स्ववियु चुनाव अन्योलमा परेपछि क्रान्तिकारी आन्दोलनमा उत्रेको हो । तोकिएकै समयमा चुनाव गराउन माग गर्दै आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीका विद्यार्थी नेता मिलन एमसीले बताए । चुनाव गराउन नसके क्याम्पसका पदाधिकारीले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

सानोठिमीमा नेविसंघको विरोध
भक्तपुरस्थित सानोठिमी क्याम्पसमा पनि चुनाव नहुने संकेत देखिएको छ । सो क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघबीचको संयक्त प्यानल मनोनयन भएकामा केन्द्रीय प्रतिनिधिले त्यसको विरोध गरेका छन् । सो क्याम्पसका नेविसंघ केन्द्रीय प्रतिनिधि विकास थापाले सोमबार विज्ञप्ति निकाली त्यसको विरोध गरेका छन् । उनले चुनाव रोक्न आग्रह गर्दै त्यसो नगरे तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

त्रिवि केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव गंगाबहादुर थापाका अनुसार उपत्यकाका भक्तपुर, सानोठिमी शिक्षा, जनप्रशासन, आयुर्वेद, ललितकला, महाराजगन्ज चिकित्सा, महाराजगन्ज नर्सिङ, पुल्चोक इन्जिनियरिङ र थापाथली इन्जिनियरिङ क्याम्पसमा उम्मेदवारी मनोनयन भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१