यस्ता छन् स्ववियु चुनावका छात्रा उम्मेदवारहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ फाल्गुन २०७३, शनिबार ०८:३५
काठमाडौं । यतिबेला विद्यार्थी संगठनहरु स्ववियुका उम्मेदवार छनोटमा व्यस्त छन् । केही विद्यार्थी संगठनले स्ववियु अध्यक्षको उम्मेदवार छनोट गरिसकेका छन् भने भने केहीले छनोट गर्न बाँकी छ ।
नयाँ पत्रिका दैनिक लेख्छ- उम्मेदवार घोषणा गरिसकेका र गर्ने तयारीमा भएका सानादेखि ठूला संगठनमा पनि अध्यक्षको उम्मेदवारमा छात्राको संख्या न्यून छ ।
दुई ठूला संगठन अनेरास्ववियु र नेविसंघले अझै उम्मेदवार छान्न सकेका छैनन् । नामावली तयार भइसकेको तर प्राविधिक कारण सार्वजनिक गर्न ढिलाइ भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए । नेविसंघमा भने उम्मेदवार छान्ने क्रममा विवाद भएकाले ढिलाइ भएको स्रोत बताउँछ ।

अनेरास्ववियु

अनेरास्ववियुले राजधानीका केही क्याम्पसमा छात्रा अध्यक्ष बनाउने संभावना देखिएको छ । बागबजारस्थित पद्मकन्या क्याम्पसमा संगिता रेग्मीलाई अध्यक्षको उम्मेदवार बनाउने औपचारिक निर्णय गरिसकेको छ ।

चावहिलस्थित कैलाशकुट बहुमुखी क्याम्पसमा मञ्जु श्रेष्ठ र नर्सिङ क्याम्पसमा बिमला धमलालाई अध्यक्षको उम्मेदवार बनाउने चर्चा छ ।

अनेरास्ववियूले राजधानीमा मात्र नभएर बाहिरका क्याम्पसहरुमा पनि महिला उम्मेदवारलाई अघि सारेको छ । पोखरास्थित पृथ्वीनारायण क्याम्पस

कास्कीमा सरीता पुरीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । पुरी अनेरास्ववियुको गण्डकी अञ्चल ईञ्चार्ज हुन् ।

त्रिभूवन आदर्श क्याम्पस स्याङ्गजामा रिता ढकाललाई अध्यक्षको उम्मेदवार बनाउने निश्चित भएको छ । ढकाल अनेरास्ववियुकी केन्द्रीय सदस्य हुन् ।

चितवनस्थित मायादेवी क्याम्पसमा पनि अनेरास्ववियुले सविना बर्तौलालाई अध्यक्षको उम्मेदवार बनाएको छ । उनी पनि केन्द्रीय सदस्य हुन् ।

शारदा हमाल रामपुर बहुमुखी क्याम्पस कञ्चनपुरबाट, जानकी भट्ट कञ्चनपुर बहुमुखी क्याम्पसबाट स्ववियु अध्यक्षका लागि उम्मेदवार बन्ने निश्चित भएको छ ।

नेविसंघ  

नेपाल विद्यार्थी संघ (नेविसंघ) को तर्फबाट पद्मकन्या क्याम्पसमा कौशिला भट्ट, रेखा परियार, अर्पणा खड्का, रिना योञ्जन, सुजता कोइराला लगायतका छात्रा अध्यक्षको आकांक्षी रहेका छन् । उनीहरु मध्ये भट्टको प्रवल संभावना रहेको नेविसंघ स्रोत बताउँछ । भट्ट नेविसंघको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।

त्रिचन्द्र क्याम्पसमा नेविसंघको तर्फबाट गीता गुरुङको संभावना प्रवल रहेको छ । गुरुङ पनि ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।

एन आर क्याम्पस नेपालटारमा पनि नेविसंघको तर्फबाट अध्यक्षको उम्मेदवार महिला बन्ने सम्भावना छ । उक्त क्याम्पसमा स्वेच्छा उप्रेतीको संभावना रहेको नेविसंघ स्रोत बताउँछ ।  नेपालटारस्थित ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा पनि लक्ष्मी सिलवाल र महाराजगञ्जस्थित नर्सिङ क्याम्पसमा समीक्षा सुवेदी अध्यक्षको उम्मेदवार बन्ने सम्भावना छ ।

ललितकला क्याम्पसमा गीता चौहान अध्यक्षको उम्मेदवारी हुने पक्कापक्की भएको छ । चौहान नेविसंघको क्याम्पस ईकाई अध्यक्ष हुन् ।

अखिल क्रान्तिकारी (प्रचण्ड)

अखिल क्रान्तिकारी (प्रचण्ड) ले उपत्यकामा जम्मा दुई जना छात्रालाई अध्यक्षको उम्मेदवार बनाएको छ । काठमाडौं शिक्षा क्याम्पसमा गंगा दाहाललाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

त्यसैगरी पद्मकन्या क्याम्पसमा दन्ता नेपाली (दर्शना) लाई अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । त्रिविको आंगिक क्याम्पसमध्ये पोखराको पृथ्वी नारायण क्याम्पसमा पनि छात्रालाई अध्यक्षको उम्मेदवार बनाएको छ । पिएनमा प्रबिणा अधिकारी अध्यक्षको उम्मेदवार हुन् ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा प्रवक्ता सुरेन्द्र बस्नेतले अरु पदमा धेरै छात्रा रहेको बताए । ‘अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये एकमा छात्रा हुन्छन,’ बस्नेतले भने, ‘अध्यक्ष बनाउन खोजेका हौं, तर चुनावी प्रतिस्पर्धामा धेरै कुरा मिलाउनुपर्ने भएकाले कम देखिनु बाध्यता हो ।’

– नयाँ पत्रिकाका भवानीश्वर गौतम र महेश तिमल्सिनाको रिपोर्ट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०