दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ माघ २०७३, शुक्रबार ०८:२२

बेङ्लोर ।  नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन् ।
जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

बी थ्री क्याटेगोरीका पदम दृष्टिविहीन विश्वकप क्रिकेटमै दोहोरो शतक प्रहार गर्ने दोस्रो क्रिकेटर बनेका छन् । नेपालका लागि भने शतक र दोहोरो शतक प्रहार गर्ने उनी नै पहिलो क्रिकेटर हुन् ।

यसअघि सन् २०१२ मा भएको पहिलो विश्वकप क्रिकेटमा पाकिस्तानका मोहम्मद अक्रमले वेस्ट इन्डिजविरुद्ध दुई सय ६४ रन प्रहार गरेका थिए । त्यसयता अन्य कुनै पनि देशका खेलाडीले दोहोरो शतक प्रहार गर्न सकेका थिएनन् । टेस्ट मान्यता पाएका १० मध्ये नौ राष्ट्र ९जिम्बाबेबाहेक० का दृष्टिविहीन टोलीले प्रतिस्पर्धा गर्ने विश्वकपमा नेपाली खेलाडीले दोहोरो शतक प्रहार गर्नु महत्ववपूर्ण उपलब्धि हो । सन् २०१२ देखि सुरु भएको दृष्टिविहीन टीट्वेन्टी विश्वकपमा प्रतिस्पर्धा गर्ने नेपाल एकमात्र टेस्ट मान्यता नपाएको राष्ट्र हो ।

न्युजिल्यान्डविरुद्धको खेलमा पदम र नेपालका अन्य केही कीर्तिमानसमेत कायम भएका छन् । पदमले शुक्रबार न्युजिल्यान्डविरुद्ध मात्र ९० बलको सामना गर्दै ३६ चौका प्रहार गरे जुन अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालिमा कुनै पनि नेपाली खेलाडीले प्रहार गरेको सर्वाधिक चौका हो ।

पदमले ऐतिहासिक प्रदर्शनमा खुसी लागेको बताए । ‘दोहोरो शतक प्रहार गर्छु भनेर त सोचेको थिइनँ । टिमलाई जिताउँछु भनेर गएको थिएँ’, २१ वर्षीय पदमले भने, ‘दोहोरो शतक प्रहार गर्न सकेकोमा खुसी लागेको छ । आगामी प्रतियोगितामा पनि यस्तो प्रदर्शन जारी नै राख्नेछु ।’ कैलालीका अलराउन्डर पदम पछिल्लो पाँच वर्षयता दृष्टिविहीन क्रिकेट खेल्दै आइरहेका छन् ।

पदमको कीर्तिमानी प्रदर्शनसँगै नेपालले न्युजिल्यान्डलाई एक सय ११ रनको ठूलो अन्तरले पराजित गर्न सफल भयो । यो जित पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा हात पारेको ९रनका आधारमा० अहिलेसम्मकै सर्वाधिक ठूलो अन्तरको जित हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०