यसरी हुदैंछ सामाजिक सञ्जालमा भाइबरबाट ठगी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०७३, आईतवार ०९:३२

काठमाडौं ।  धेरै भाइबर चलाएबापत ५० लाख भारु र एउटा कार चिट्ठा परेको भन्दै काभ्रेका कुलन लामालाई गत महिना भाइबरमै फोन आयो । भाइबर कम्पनीबाट बोलेको भन्दै एक भारतीय युवकले उनलाई फोन गरेका थिए । लामा निकै भाइबर चलाउँथे । त्यसकारण आफूलाई चिट्ठा परेको हुन सक्ने भन्दै उनी मक्ख परे । फोन गर्ने व्यक्तिले बैंकको खाता नम्बर, फोटो र नागरिकताको परिचयपत्र मागे ।
सोहीअनुसार उनले सबै कुरा बुझाए । तर, पैसा आएन । पैसा नआएपछि सो नम्बरमा उनी आफैँले फोन गरे । त्यसका लागि केही पैसा लाग्ने भन्दै उनीसँग ५७ हजार रुपैयाँ मागियो । झन्डै एक करोडको पुरस्कारका लागि ५७ हजार रुपैयाँ पठाउन उनलाई कुनै समस्या भएन । ती व्यक्तिले भनेकै खाता नम्बरमा उनले पैसा हालिदिए । त्यसपछि धेरै पत्रकारहरूका अगाडि उक्त पुरस्कार दिइने भएकाले स्टेजमा बोल्न अभ्यास गर्न निर्देशन दिइयो । मिडियामा आफू छाउने सपनामा लामा मक्ख भए ।

तर, उनको खुसी धेरै दिन टिकेन । फेरि तिनै व्यक्तिले फोन गर्दै पुरस्कारका लागि करबापत थप पैसा लाग्ने बताएपछि उनी झस्किए । ठगले आफूलाई फसाएको हुन सक्ने लागेपछि उनी प्रहरीमा पुगे । प्रहरीले उनले कुनै पुरस्कार पाउन लागेको नभई त्यसरी ठग्ने गिरोह सक्रिय रहेको बतायो । त्यसपछि अनुसन्धानका लागि उनले प्रहरीमा उजुरी दिए । तर, ठगी गर्ने व्यक्ति पत्ता लागेका छैनन् । भाइबरबाट ठगी गर्नेहरूको मोबाइल नम्बर खुल्ने भए पनि विदेशबाट फोन गर्ने भएकाले नेपाल प्रहरीले उनीहरूलाई अनुसन्धान गर्न सक्दैन । सम्बन्धित देशका प्रहरीले पनि सहयोग गर्दैनन् । विगतमा इमेलबाट तथा मोबाइलमा एसएमएस पठाई लाखौँको चिट्ठा परेको भन्दै भ्रममा पारेर करको पैसा मागी ठगी हुने गरेको थियो । पछिल्लो समय भाइबर, ह्वाट्सएप, इमोलगायत फ्री एपहरूबाट समेत एसएमएस पठाई ठगी हुन थालेको प्रहरी बताउँछ ।

पोखरामा पनि गत वर्ष एक युवकले भाइबरमार्फत ठगी गरे । आफू व्यवसायी शेष घलेको छोरा भन्दै पोखराका चित्रबहादुर श्रेष्ठले फेसबुक र भाइबरमार्फत चिनजान गरी ठगी गर्दै आएका थिए । फेसबुकमा आकाश घलेको नाममा अकाउन्ट बनाएर उनले ठगी गरेका हुन् । कतिपयलाई प्रेमिका बनाएर त केहीलाई अमेरिका र अस्ट्रेलिया पठाउने भनेर उनले ठग्ने गरेको रहस्य पछि मात्र खुल्यो । प्रहरीले पक्राउ गरेकोमा उनी धरौटीमा छुटे ।

नक्कली इमेलले ५० लाख गुम्यो
नेपालमा नक्कली इमेलबाट समेत व्यवसायीहरू ठगिन थालेका छन् । नक्कली इमेलबाट तिलगंगा आँखा अस्पतालको एकैपटक ५० लाख रुपैयाँ गुमेको छ । नियमित रूपमा अस्पताललाई आवश्यक सामान पठाउँदै आएको विदेशी कम्पनीसँग अस्पतालले इमेलमार्फत नै सम्पर्क राख्दै आएको थियो । ५० लाख रुपैयाँबराबरको सामान आयात गरेपछि कम्पनीले नियमितभन्दा अर्को खातामा पैसा पठाउन आग्रह गर्‍यो । सोहीअनुसार अस्पतालले भुक्तानी पठायो । तर, त्यो इमेल विदेशको कम्पनीसँग मिल्दोजुल्दो भए तापनि नक्कली थियो । इमेल ह्याक गरेर कारोबारको बारेमा सबै थाहा पाएपछि ह्याकरहरूले ठगी गरेका हुन् । अस्पतालले अनुसन्धानका लागि सिआइबीमा उजुरी दिएको छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

त्यस्तै यती एयरलाइन्स र ठमेलको एक अर्गानिक कफी कम्पनी पनि त्यसैगरी ठगिएका छन् । उही नाम र उस्तै देखिने इमेल आइडी बनाएर झुक्याइ ठगी हुने गरेका घटना बढ्दै गएका छन् । काठमाडौंमै रहेको कोरियाको दूतावासलाई पनि त्यसरी ठगी गर्ने प्रयास भएको थियो, तर सजगता अपनाउँदा दूतावासले भुक्तानी भने दिएन । दूतावासले इमेल ह्याक गरेर ठगी प्रयास भएको भन्दै सिआइबीमा उजुरी दिएको छ । ठूला कारोबार गर्दा इमेलबाट मात्र नभई फोनबाट समेत कुरा गरेर मात्र पेमेन्ट गर्नुपर्ने प्रहरी अधिकारीको भनाइ छ ।

यस्तै किसिमका ५ वटा उजुरी महानगरीय अपराध महाशाखामा पनि परेका छन् । यस्ता इमेल ठगीमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता रहेको तर अनुसन्धानमा इमेल कम्पनीहरूले सहयोग नगर्दा समस्या भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१