६ महिनाभित्र व्यवस्थापन गर्ने सिमेन्ट उद्योगीको प्रतिबद्धता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०७३, बिहीबार १२:३३

प्रकाश उप्रेती। झापा दुहागढीमा सञ्चालित दुईवटा सिमेन्ट उद्योगलाई ६ महिनाभित्र व्यवस्थित गर्ने सम्बन्धित उद्योगीले प्रतिबद्धता जाहेर गरेका छन् । ‘नव सृजनशील युवा समाज’ दुहागढीले आयोजना गरेको उद्योगी र पीडित स्थानीयसँगको छलफलका क्रममा उद्योगीले यस्तो प्रतिबद्धता जनाएका हुन् । दुहागढी–१ मा हिमालयज सिमेन्ट उद्योग र दुहागढी–३ मा गोरखकाली सिमेन्ट उद्योग व्यवस्थित नहुँदा त्यहाँबाट निस्किएको धुँवा, धुलो र ध्वनीले आक्रान्त बनेका स्थानीयवासी आन्दोलित भएपछि युवा समाजको समन्वयमा उद्योगी र स्थानीयवासीबीच छलफल गरेको हो ।
छलफलमा स्थानीयले उठाएका १४ बुदे सवालमा उद्योगीले धुँवा, धुलो र ध्वनीलाई पूर्णरुपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस क्रममा उद्योगीले उद्योग व्यवस्थापन गर्न ६ महिनाको समय माग गरेका छन् । कार्यक्रममा गोरखकाली सिमेन्ट उद्योगका सञ्चालक दीपेश ढकाल, तीर्थ ढकाल, हिमालयज सिमेन्ट उद्योगका सञ्चालक उमेश डालमियाले उठेका सवालको जवाफसहित उत्पन्न समस्यालाई पूर्ण रुपले समाधान गर्ने आश्वासन दिएका थिए ।
उद्योग प्रभावित क्षेत्रका युवा–युवतिलाई उनीहरुको योग्यता र क्षमताको आधारमा स्थानीय नव सृजनशील युवा समाजको रोहवरमा रोजगारीको प्रबन्ध मिलाउने, स्वास्थ्य परीक्षणका लागि युवा समाजले अगुवाई गरिदिनुपर्ने, स्थानीयवासीलाई सहुलीयतमा सिमेन्ट उपलब्ध गराउनेलगायतका विषयमा स्थानीयवासी र उद्योग सञ्चालकले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उद्योगीले माग गरेको ६ महिनाको समयावधिभित्र सहमति कार्यान्वयन नगरे चरणबद्ध आन्दोलन गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् ।
यसैबीच उद्योग व्यवस्थापन भए–नभएको अनुगमनका लागि बद्री महतको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ । समितिको सदस्यमा पर्शुराम राजवंशी, राधिका सुब्बा, प्रकाश उप्रेती, लोकनाथ भट्टराई, हेमराज भट्टराई, टीका पौडेल, दुर्गा मिश्र, श्याम भट्टराई र खेमराज रिजाल रहेका छन् ।
कार्यक्रममा उद्योग संघ झापाका अध्यक्ष टीका ढकालले स्थानीयवासी र उद्योगबीचको सम्बन्ध प्रगाढ भएमात्रै दुवैतर्फको समस्या समाधान हुने धारणा राखेका थिए । उनले उद्योगबाट उत्पन्न समस्याप्रति उद्योगी सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पर्शुराम राजवंशी, लोकनाथ भट्टराई, कुमार भट्टराई, कृष्ण सिग्देल, अर्जुन थेवे, नरेन्द्र कार्की, बद्री भट्टराईलगायतले उद्योगबाट निस्किएको धुँवा, धुलो र ध्वनीले मानव तथा पशुपंछीको स्वास्थ्य र पर्यावरणलाई गम्भीर असर पुगेको भन्दै उद्योग व्यवस्थापन पक्षलाई ध्यानाकर्षण गराएका थिए । बद्री महतको अध्यक्षतामा सम्पन्न छलफलमा अध्यक्ष महतले १४ बुदे सवालपत्र बाचन गरेका थिए । कार्यक्रमको सञ्चालन प्रकाश उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१