आइतबारदेखि काठमाडौं र पोखरा उपत्यकामा चौथो पुस्ताको मोबाइल सेवा अर्थात् फोरजी सञ्चालन हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ पुष २०७३, शुक्रबार ०७:२१

काठमाडौँ ।  नेपाल टेलिकमले आगामी आइतबारदेखि काठमाडौं र पोखरा उपत्यकामा चौथो पुस्ताको मोबाइल सेवा अर्थात् फोरजी सञ्चालन गर्ने भएको छ । टेलिकमले फोरजी सञ्चालनका लागि प्रणाली अद्यावधिक, सफ्टवेयर जडान र परीक्षणलाई तीव्रता दिइरहेको छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले तोकिएकै दिनदेखि फोरजी सुरु हुने बताएका छन् । टेलिकमले १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा फोरजी सेवा सञ्चालन गर्नेछ । यो ब्यान्डमा रहेको १५ मेगाहर्जमध्ये ५ मेगाहर्ज फ्रिक्वेन्सी फोरजी सञ्चालनका लागि छुट्याइएको छ । सेवा सुरु भएकै दिनमा फोरजी सञ्चालनको विधि, फोरजीको महसुल तथा प्याकेजसमेत सार्वजनिक गर्ने टेलिकमको तयारी छ । काठमाडौं र पोखराका ३ लाख ग्राहकलाई सुरुवातमा फोरजी सेवा उपलब्ध गराइनेछ । तत्कालका लागि सुरुवातमा ३२ दशमलब ४ एमबिपिएस डाटा क्षमताको फोरजी सेवा सञ्चालन गर्ने भएपनि यसको क्षमता विस्तार गर्दै ७५ एमबिपिएससम्म पुर्‍याउने कम्पनीको योजना छ । टेलिकमले पछिल्ला वर्षमा बिक्री गरेको युसिम युनिभर्सल सिममा मात्रै फोरजी चल्ने जनाएको छ । टेलिकमका ग्राहकले आफ्ना पुरानो सिम कम्पनीमा गएर नयाँसँग साट्न सक्नेछन् । यसको महसुलदर तय भैनसकेपनि सेवा सुरु हुने दिनमा घोषणा गर्ने तयारी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१