खेलाडीद्वारा रेफ्रीमाथि दुव्र्यवहार र मुक्का प्रहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०७३, बुधबार ०७:२८

इटहरी । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार पुरुष भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सकिएलगत्तै पश्चिमाञ्चल विकास क्षेत्रका खेलाडीले रेफ्रीमाथि दुव्र्यवहार र मुक्का प्रहार गरेका छन् ।
इटहरी रंगशालामा त्रिभुवन आर्मी क्लबसँग पराजय बेहोरेको पश्चिमाञ्चलका खेलाडीले राष्ट्रिय रेफ्री एवं प्रतियोगिताका मुख्य निर्णायक विनय राईमाथि मुक्का प्रहार गरेका हुन् । खेलमा पश्चिमाञ्चल आर्मीसँग २०–२५, २५–२०, २५–२०, २५–११ को सेटले पराजित भएको थियो । रेफ्रीले आर्मीको समर्थन गरेका कारण यस्तो अवस्थाको सिर्जना भएको खेलाडीले दाबी गरेका छन् । खेल सकिएलगत्तै हात मिलाउन जम्मा हुने क्रममा एक्कासि आफूमाथि खेलाडीले मुक्का प्रहार गरेको राईले बताए ।
‘खेलमैदानभित्र खेलको नियमविपरीत अश्लील शब्द बोलेपछि मैले खेलाडीलाई पहेँलो कार्ड दिएको थिएँ’, उनले भने, ‘त्यसको रिस उनीहरूले खेल सकिएलगत्तै ममाथि आक्रमण गरेर पोखे ।’ खेल चालू रहेकै अवस्थादेखि पश्चिमाञ्चलका खेलाडी रेफ्री राईप्रति आक्रोशित बनेका थिए । रेफ्री बसेर खेल खेलाइरहेको अवस्थामा सटर सञ्जुविक्रम शाहले मैदानबाटै ताकेर बल प्रहार गरे पनि राईलाई भने लागेन । राईले उक्त प्रहारलाई सामान्य रूपमा लिए ।
‘सट प्रहार गर्ने क्रममा निहुँमा मैदानबाटै बल प्रहार गरियो । हार बेहोर्दै गएका खेलाडीको आवेशलाई मैले सामान्य रूपमा लिएँ’, राईले भने, ‘खेल सकिएपछि भने आक्रमण नै भयो । रेफ्रीले गरेको निर्णय चित्त नबुझेमा कानुनी उपचार खोज्न सकिने व्यवस्थाको विरुद्धमा अनुशासनविपरीत खेलाडी उत्रिएका छन् ।’ खेल अवधिमा दर्शकको भारी समर्थन बटुले पनि रेफ्रीमाथि खेलाडीले आक्रमण गरेपछि भने दर्शक पश्चिमाञ्चलविरुद्ध खनिएका थिए । त्यसलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षा दिएर खेलाडीलाई मैदानबाट बाहिर निकाल्नु परेको थियो ।
आकस्मिक रूपमा बसेको भलिवल संघको बैठकले दुव्र्यवहारमा उत्रने खेलाडीलाई एक वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बैठकमा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का प्रतिनिधि, क्षेत्रीय र जिल्ला भलिबल संघका पदाधिकारी तथा रेफ्रिहरूको समेत उपस्थिति थियो । कुटपिटमा संलग्न खेलाडी रमेश केसी, लोकेन्द्र भण्डारी र राजन थापालाई एक वर्षको प्रतिबन्ध लगाइएको प्रतियोगिता व्यवस्थापक लेखनाथ पराजुलीले जानकारी दिए । उनका अनुसार सुरुमा केसीले रेफ्रीलाई मुक्का प्रहार गरेपछि अन्य खेलाडी पनि कुटपिटमा उत्रिएका थिए । ‘खेलको नियमविपरीत खेलाडीले रेफ्रीमाथि आक्रमण गरेकाले कारबाहीस्वरूप एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरिएको छ’, उनले भने, ‘निलम्बनमा परेका खेलाडीले भलिबल संघले स्वीकृत दिएको कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछैनन् ।’
रेफ्रीमाथि बल प्रहार गर्ने तथा जालीमा लात्ताले हान्ने शाहले पनि सार्वजनिक रूपमा माफी माग्नुपर्ने निर्णय बैठकले गरेको छ । माफी नमागेमा उनलाई पनि एक वर्षसम्मको निलम्बन गरिने निर्णय भएको जानकारी पराजुलीले दिए । यस्तै उनका अनुसार पश्चिमाञ्चलका प्रशिक्षक र व्यवस्थापकलाई समेत माफी मगाउने निर्णय भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१