धार्मिकस्थलको अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार आवश्यक : मन्त्री शाही

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७३, मंगलवार १६:२३

चितवन  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपालका धार्मिकस्थलको अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार गरी धार्मिक पर्यटक भित्र्याउनुपर्ने बताउनुभएको छ ।

देवघाट क्षेत्र विकास समितिले निर्माण सुरु गरेको आँपटारीबाट देवघाटसम्मको सडक छेउका पुष्पबाटिकामा आज वृक्षरोपण गर्दै उहाँले यहाँका धार्मिक र अन्य पर्यटकीय महत्व बोकेका ठाउँको सौन्दर्य बढाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सांसद गीता वाग्लेले पुष्पबाटिका निर्माणका लागि संसद् विकास कोषबाट रु पाँच लाख र व्यक्तिगततर्फबाट दुई बाटिका निर्माणमा सहयोग गरिने बताउनुभयो । स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलले जिविसले बाटिका निर्माणका लागि बीज रकम रु दुई लाख दिएको जानकारी दिँदै आफ्ना स्व मातापिताका नाममा निजीतर्फबाट दुई बाटिका निर्माण गरिने बताउनुभयो ।

समितिका अध्यक्ष टङ्कनाथ पौडेलले नारायणगढ मुग्लिन–सडकखण्डअन्तर्गत देवघाट प्रवेश गर्ने आँपटारी चोकबाट देवघाटसम्म दुई सय पुष्पबाटिका निर्माण गर्ने उद्देश्यका साथ काम भइरहेको बताउनुभयो । निजी र सरकारी तवरबाट सहयोग जुटाएर बाटिका निर्माण गरिएको हो ।
एउटा बाटिका निर्माणका लागि रु १२ हजार लागेको छ । बाटिकामा कपुर, तुलसी, श्रीखण्ड, रक्तचन्दन लगायत सौन्दर्य प्रदान गर्ने धार्मिक फूल रोपिएका छन् ।
हालसम्म ४० बाटिका दाताको सहयोगमा निर्माण भइसकेको छ । आँपटारीबाट देवघाट पुलसम्मको करिब चार किमी दूरीको सडकका दायाँबायाँ बाटिका निर्माण गर्ने काम भइरहेको छ । ठाउँ ठाउँमा शौचालय र फोहोर राख्ने भाँडासमेत राखिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१