जोगी बाबाहरुबाट खरिपाटीमा लेखेर अक्षर चिनेका पूर्वराज्यमन्त्री राठौर ( पढ्नुस जीवनी )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०७३, शनिबार ०६:०६

पूर्वराज्यमन्त्री,नेकपा एमालेका नेता,सांसद तथा व्यवस्थापिका संसदअन्तर्गतको सुशासन तथा अनुगमन समितीका सभापति मोहनसिंह राठौर । सल्यानमा जन्मिएका राठौरले ९÷१० बर्षको उमेर जन्मथलोमा विताएपनि त्यसपछि भने तराइमा हुर्किनुभयो । कैलालीमा खेती भएकाले उतै बसाईँ सरेका राठौर परिवार २०२१ सालदेखि नियमित कैलाली बस्दै आएको हो । किनकी त्यसअघि औलोको डरले मानिसहरु बाह्रै महिना तराइमा बस्न डराउथे । औलो उन्मुलन भइसकेपछि राठौरको परिवार पनि नियमित तराइ बसेपछि पूर्वराज्यमन्त्री राठौरले पनि आफ्नो कार्यथलो तराइलाइ बनाउनुभयो । बाल्यकालमा पहाडको डाँडाकाडा,बरपिपलको चौतारी,खुल्ला आकाशमुनी खरीपाटीमा लेखेर उहाँले सल्यानबाटै अक्षराम्भ गर्नुभयो । त्यसबेला मधेस तथा भारततिरबाट आएका जोगी बाबाहरुले उहाँहरुलाइ पढाउनुहुन्थ्यो । उहाँ माइलो सुपुत्रको रुपमा जन्मिनुभयो । यद्यपी अहिले उहाँको दाजु वितिसक्नुभएको छ भने भाइ एकजना हुनुहुन्छ । त्यस्तै उहाँका ४ जना दिदीबहिनी हुनुहुन्छ । बाल्यकालमा चञ्चल स्वभावका राठौर औपचारिक शिक्षामा पनि टप फाइभमै आउनुहुन्थ्यो । मधेस झरिसकेपछि नेपालगंजबाट उहाँले हाइस्कुलसम्मको अध्ययन पूरा गर्नुभयो । सुरुमा भारतबाट आएका शिक्षकहरुले पढाउने भएपछि भाषाको समस्या झेलेका राठौरले विस्तारै हिन्दीभाषा पनि बुझ्दै जानुभयो । mohan
एसएलसी पासपछि २०२५ सालमा काठमाण्डौ छिरेर उहाँले त्रिभुवन विश्वविद्यालयबाट अर्थशाष्त्र विषयमा स्नातकोत्तर तहको पढाइ पुरा गर्नुभयो । खेलकुदतर्फ खासै रुची नभएका राठौरको बढी झुकाव साहित्यमा थियो । उहाँ युवाअवस्थासम्म कविता,लघुकथा लेख्नुहुन्थ्यो भने साहित्यका पुस्तकहरु पढ्न उहाँको विशेष रुची छ । उहाँ मध्यम वर्गीय परिवारमा हुर्किनुभयो । अर्थशाष्त्रभित्र पनि कृषि क्षेत्रमा बढि झुकाव राख्ने उहाँ नेपाल सरकारको कर्मचारी भएर अधिकृत स्तरको कार्यालय प्रमुख भएर पनि काम गर्नुभयो । करिब २ बर्ष यति ट्राभल्समा समेत उहाँले काम गर्नुभयो । नेपाल सरकारको कृषि मन्त्रालय अन्तर्गत अधिकृत स्तरमा ३६ सालदेखि ४२ सालसम्म सेवा गर्नुभयो । त्यसपछि उहाँले राजिनामा दिनुभयो ।

नेपालको कृषि परम्परागत रहेकाले व्यवसायीक बनाउनुपर्छ भन्ने कुरालाइ व्यवहारमा लागु गर्नुपर्छ भन्ने सोचेर उहाँले गाँउ फर्किएर आधुनिक खेती प्रविधीको सुरुवात गर्नुभयो । कृषिलाइ यान्त्रिकरण गर्ने प्रयासका साथ सरकारी जागिर छोडेर गाँउमा गएर कृषिकर्म गरेको देखेर स्थानीयहरु आश्चर्यचकित हुन्थे । कतिपयले उहाँलाइ पागल भएछ समेत भन्थे । पारिवारीक पृष्ठभूमि हेर्दा गाउस्तरको राजनीतिमा उहाँका पुस्ताहरु लागेको पाइएपनि केन्द्रिय राजनीतिसम्म प्रभाव जमाउने भने उहाँ नै पहिलो हो ।
ठकुरी परिवारमा हुर्किएका राठौरले अन्तरजातीय विवाह गर्नुभयो । यति ट्राभल्समा काम गर्दा त्यहिँ काम गर्ने महिला साथीसँग प्रेम भएर उहाँसगै विवाह भयो । ३६ सालमा उहाँले विवाह गर्नुभयो । प्रेमको प्रसंग आउदा केहि दुखद विगत पूर्वराज्यमन्त्री राठौरसँग छ । एउटा छोरा र एउटी छोरी भइसकेपछि उहाँहरुबिचको सम्वन्ध सँगै अघि बढ्न सकेन । कतिपय कुरा नचाहदा नचाहदैपनि भएरै छाड्छ,जीवनयात्रामा सँगै हिड्दै गरेको सहयात्रीले नै बाटो मोडेपछि एक्लिएको यात्रीले समेत एउटा बाटो त समाउनैपर्छ । यस्तै भयो पूर्वराज्यमन्त्री राठौरको जीवनमा । पछि उहाँले अर्को विवाह गर्नुभयो र दोस्रो विवाहपछि उहाँको थप २ जना छोराहरु भए । पूर्वराज्यमन्त्री राठौर समाजसेवा र कृषि पेशा अगाल्दा अगाल्दै स्थानीय राजनीतिमार्फत उहाँ अगाडी आउनुभयो । विद्यार्थी जीवनदेखि नै बामपन्थी राजनीतिको चेत खुलिसकेपनि उहाँ पछि गाँउमा गइसकेपछि उहाँलाइ पढेलेखेको मान्छे भन्दै गाँउघरले नै नेतृत्वमा आउन झकझकायो । rathor२०४७ सालपछि उहाँ तत्कालिन मालेबाट सक्रिय राजनीतिमा आउनुभयो । जिल्ला कमिटीको जिम्मेवारी पाउनुभयो । ४९ सालमा गाविस अध्यक्षमा निर्वाचित हुनुभयो भने त्यसपछि ५४ सालमा समेत पुनः गाविस अध्यक्षमा दोस्रोपटक निर्वाचित हुनुभयो । जिल्ला विकास समितीको सभापतिमा समेत ५४ सालमा पार्टीले बनायो । यद्यपी अन्य दलको गठबन्धनले उहाँ बिजयी हुन सक्नुभएन । जिल्ला कमिटीको सचिव भएर एक दशकजति बसिसकेपछि उहाँ एमालेको अनुसासन आयोगको सदस्य,निर्वाचन आयोगको सदस्य बन्नुभयो । त्यसैक्रममा उहाँले २०६३÷६४ सालमा उहाँले राज्यमन्त्री हुने अवसर प्राप्त गर्नुभयो । ६४ सालको चुनावमा पराजित भएपनि उहाँ २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभयो । आफ्नो राजनीतिक यात्रामा कहिलेकाही आइपर्ने हारमा कहिल्यै वितृष्णा पैदा नहुने राठौरलाइ पछिल्लो समय राजनीतिमा देखा परेको मूल्य र मान्यतामा ह्रास आएकोप्रति वितृष्णा जाग्ने गरेको छ । निर्वाचनलाइ खेलको रुपमा लिने राठौर चुनावी प्रतिस्पर्धा अघि नै आफु पराजयलाइ पनि स्विकार्न सक्ने मानसिकता लिएर बस्ने गरेको बताउनुहुन्छ । चुनावी चलनचल्तीभन्दा आफुलाइ भिन्न ठान्ने राठौरले चुनावमा मनी मसल भन्दापनि आफ्नो विवेक प्रयोग गर्नुभयो । उहाँको सालीनता,भद्रता,शीष्ट बोलीको प्रभावदेखि स्थानीयहरुसँगको नजिकपना,सामाजिक सेवा र स्थानीयस्तरको समृद्धिमा देखिएको योगदानको कदर गर्दै कैलाली क्षेत्र नम्बर २ का जनताले उहाँलाइ अत्यधिक मतले विजयी गराए । चुनाव जित्न लाखौ खर्च गर्ने कहिँकतै सुनिएपनि उहाँको जीवनमा त्यस्तो गर्नुपरेन ।
संविधान जारी गर्नु ठूलो उपलव्धी भएको बताउने नेता राठौर नेपालको संविधान सर्वोत्कृष्ट भएको बताउनुहुन्छ । ९० प्रतिशत जनप्रतिनिधीले समर्थन जनाएको यो संविधान विश्वकै विरलै भएको र नमुना भएको उहाँको ठम्याइ छ । राष्ट्रले के खोजेको छ भन्ने कुरा प्रमुख रहेको बताउने नेता राठौर असन्तुष्ट पक्षका जायज माग सम्बोधन गरेर मुलुकको समृद्धितर्फ लाग्नुपर्ने बताउनुहुन्छ । संविधानलाइ सर्वस्विकार्यता,भूकम्पपछिको पूननिर्माण गर्दै संविधान जारी गर्दा दलहरुबिचको सहमति जस्तै यसको कार्यान्वयनमा पनि सहमति आवश्यक रहेको तर्क उहाँको छ । छिमेकी मुलुकहरुको विकासको गति र हाम्रो अवस्था निकै फरक रहेको र भारतको हस्तक्षेपसामु नझुकेर आफ्नो स्रोत साधनलाइ प्रयोग गर्दै मुलुकको विकास तर्फ लाग्नुपर्ने पूर्वराज्यमन्त्री,एमाले नेता एवं सांसद राठौरको धारणा देखिन्छ । व्यवस्थापिका संसदको सुसासन तथा अनुगमन समितीका सभापति समेत रहेका नेता राठौरले समितीमार्फत पनि सुशासनको क्षेत्रमा देशभित्रको बेथिती अन्त्य गर्ने क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१