धनीका कुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७३, बिहीबार ०७:५२

धनीका कुरा%e0%a4%b0%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a4%be

सामान्य मानिसका लागि विलासिताका वस्तु केहीका लागि भने अत्यावश्यक वस्तु बन्न पुग्छन् । नेपालकै केही व्यवसायी, बैंकर, राजनीतिज्ञ एवं चिकित्सकहरू करोडौंका गाडी चढ्छन्, लाखौंका ग्याजेट बोक्छन् भने प्रत्येक महिना लाखौं रुपैयाँ खर्च गर्छन् ।

तिनैमध्येमा पर्छन्, दिकेश मल्होत्रा (२९) । नेपालकै ठूला व्यवसायिक घरानामध्येको एक आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश सन् २०१० मा युकेको युनिभर्सिटी अफ इष्ट इङ्लियाबाट एमबीए सकेर स्वदेश फर्किएका हुन् ।

बेलायतबाट फर्किएपछि झन्डै ५ सयभन्दा बढी कर्मचारीको नेतृत्व गरिरहेका छन्, उनी । इलेक्ट्रोनिक्स, अटोमोबाइल, हाइड्रोपावर, रियलस्टेट आदि धेरै क्षेत्रमा उनको लगानी छ । दिकेशको जीवनशैली पनि लोभलाग्दो छ, उनी स्याङ्योङको १ करोड ९ लाख ७५ हजार रुपैयाँ पर्ने गाडी चढ्छन् ।
मासिक झन्डै ५० हजार खर्च गर्ने दिकेशले बजारमा आइनसकेको सामसुङको स्मार्टवाच सामसुङ गेयर एस–३ हातमा बाँधेका छन् । ‘यसमा सबै किसिमको सुविधा छ,’ मल्होत्रा भन्छन्, ‘हेल्थदेखि फोनसम्म सबै काम यही घडीबाटै सम्पन्न गर्न सकिन्छ ।’ उनको स्मार्टवाचले फोन आएको संकेत दिने, घडीबाटै फोन कन्ट्रोल गर्ने, म्यासेज पढ्ने र त्यहीबाट रिप्लाइ गर्ने, स्वास्थ्यका बारेमा जानकारी दिने आदि काम गर्छ ।

 

सामसुङको नेपालको आधिकारिता विक्रेता भएकाले पनि होला— उनी बजारमा आइनपुग्दै सामसुङका उत्पादनहरू प्रयोग गरिसक्छन् । यो स्मार्टवाच पनि बजारमा लन्च भैनसक्दै उनको हातमा झुन्डिसकेको छ । झन्डै ८५ हजारको सामसुङ ग्यालेक्सी एस–७ एज अहिले उनले बोक्ने मोबाइल हो । ‘सबै गरी मसँग झन्डै ५ लाख बराबरको ग्याजेट होला,’ दिकेश भन्छन्, ‘सामसुङको ट्याब्लेट नोट प्रो चलाउँछु, अरू सबैजसो ग्याजेट पनि सामसुङकै छन् ।’ भ्रमणमा पनि उत्तिकै रुचि राख्ने दिकेश विदेश गएकै बेला किनमेल गर्छन् । उनी क्यालभिन क्लाइन्टको वालेट बोक्छन् ।
यस्तै जीवनशैली छ, अर्का व्यवसायी शेखर गोल्छा (५०) को पनि । नेपालको ठूलो एवं पुरानो व्यवसायिक घराना गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर १ करोड २५ लाख पर्ने भक्सवागनमा हुइँकिन्छन् । उनले यो गाडी प्रयोग गर्न थालेको तीन वर्ष भयो । ‘गाडीबाहेक मेरो एकदमै ठूलो सौख साइकलिङमा छ, वाइकिङ र ट्रेकिङ पनि मलाई उतिकै मन पर्छ,’ गोल्छा भन्छन् । शेखरसँग १ देखि ३ लाखसम्मका ३ वटा माउन्टेन बाइक छन् । कावासाकी निन्जा बाइक चलाइरहेका शेखर अब चाँडै नै कावासाकी भर्सेस मोटरसाइकलमा सवार हुनेछन् । ‘अर्डर गरेको छु,’ उनले भने, ‘चाँडै आइपुग्छ होला ।’
सामान्यत: दुई वर्षमा मोबाइल फेर्ने शेखरसँग अहिले सामसुङ नोट फाइभ मोबाइल छ । त्यसबाहेक उनीसँग एप्पलको ल्यापटप तथा डेस्कटप छ । ‘सबै कुरा फोनबाटै सम्पन्न हुने भएकाले बढीजसो फोन नै प्रयोग गर्छु,’ शेखर भन्छन् । गोल्छा ब्रिइटलिङ ब्रान्डको घडि लगाउँछन् भने टीओडीएस ब्रान्डको वालेट बोक्छन् ।
चर्चित बैकर रबिना देशराजको जीवनशैली पनि कम छैन । मेगा बैंककी चिफ बिजनेस अफिसर देशराज केही कम्पनीको ब्रान्ड एम्बेस्डरको भूमिकामा पनि छिन् । उनीसँग झन्डै ७५ लाख रुपैयाँको किया स्पोर्टेज गाडी छ । सामसुङ एस७ एज तथा आइफोन गरी दुईवटा महँगा मोबाइल बोक्छिन् उनी । त्यसबाहेक रबिनासँग एप्पलको म्याकबुक तथा फेस मसाजर पनि छ । ‘आनन्दका लागि मसाजर तथा कम्युनिकेसनका लागि फोन निकै प्रिय लाग्छन्,’ रबिनाले बताइन् ।
सेवा आफ्नो रहरको क्षेत्र भएको बताउने रबिना २५ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत छिन् । यो अवधिमा उनले स्ट्यान्डर्ड चार्टड, नविलपछि मेगा बैंकको स्थापनाकालदेखि उपल्लो तहमा रहेर कार्यभार सम्हालिसकेकी छिन् । घडीकी पनि सौखिन हुन्, रबिना । उनीसँग विभिन्न ब्रान्डका घडीको राम्रै कलेक्सन छ । ‘म घडीको सौखिन नै हुँ,’ उनले सुनाइन्, ‘फरक–फरक ब्रान्डका थुप्रै घडी छन् ।’ रबिना निश्चित ब्रान्डका पर्स पनि बोक्छिन् ।
यी त केही प्रतिनिधि पात्रमात्र हुन् । कैयौं यस्ता व्यवसायी एवं पेसाकर्मीहरू छन्, जो ‘जगुअर’, मर्सिडिज, ल्याडरोभर, हम्मर, बीएमडब्लू, भक्सवागनजस्ता महँगा गाडीमा कुद्छन् । उनीहरूको जीवनशैलीको परिचय महँगा गाडीले मात्र होइन्, उनीहरूले लगाउने पहिरन तथा खानपिनले पनि दिन्छन् ।

 

यस्तैमध्येका एक हुन्, पर्यटन व्यवसायी– भोला थापा । प्रेसिडेन्सियल ट्राभल्सका सञ्चालक थापा कुनै समय राजा महेन्द्रले चढ्ने बेलायती कम्पनीको जगुरले उत्पादन गर्दै आएको ‘जगुअर ल्यान्डरोभरमा’ हुइँकिन्छन् । यो कम्पनीका कारको नेपाली बजार मूल्य १ करोड ३० लाखदेखि १ करोड ६० लाख रुपैयाँसम्म छ । बाइकका पारखी सौभर ज्योति १ करोड पर्ने होन्डा एकड चढ्छन् । नेपालकै एकमात्र डलर अर्बपति विनोद चौधरी २ करोडको रेञ्ज रोभरमा हुइँकिन्छन् । गाडी मात्र होइन, उनीहरूले चलाउने ग्याजेट पनि उत्तिकै महँगा छन् ।

 

थरी–थरीका रुचि 
झन्डै १७ हजार कर्मचारी कार्यरत गोल्छा गर्जनाइजेसनअन्तर्गत शेखरको कमान्डमा झन्डै ८ सय कर्मचारी छन् । आखिर कसरी लिड गर्छन् यति धेरै कर्मचारी ? गोल्छा भन्छन्, ‘यसका लागि सबैभन्दा पहिले आफ्नै हेल्थलाई फिट राख्नुपर्छ ।’ फिट रहन उनी बेला–बेलामा साइकलिङ तथा वाकिङमा निस्कन्छन् । त्यसो त शेखर यस्ता व्यवसायी हुन् जसलाई ट्रेकिङ र हाइकिङमा पनि उत्तिकै रुचि छ ।
गोल्छाले अन्नपूर्ण बेसक्याप, अन्नपूर्ण सर्किट, एभरेस्ट बेसक्याम्प आदिको ट्रेकिङ भ्याइसकेका छन् भने उनी भर्खरैमात्र अफ्रिकाको ३ हजार फिट अग्लो हिमाल चढेर फर्किएका हुन् । ‘दक्षिण अमेरिकाको पेरुलगायतका ठाउँमा पनि ट्रेकिङ गरेको छु । ट्रेकिङचाहिँ मेरो प्यासन हो,’ गोल्छाले साप्ताहिकसँग कुराकानी गर्दै बताए ।
‘मान्छे ब्यालेन्स हुनुपर्छ, फिजिकल्ली फिट हुन सकिएन भने कुनै पनि चिजबाट इन्जोय गर्न सकिँदैन,’ शेखर भन्छन्, ‘त्यसै कारण फिटनेस मेरा लागि एकदमै महत्वपूर्ण पक्ष रहँदै आएको छ । बिहान कि त वाकिङ जान्छु कि त साइकलिङ गर्छु । ‘सामाजिक सञ्जालमा भने आजभोलि उति सक्रिय छैनन् उनी । सबै शाखा म्यानेजरदेखि झन्डै १ सय ५० भन्दा बढी कर्मचारीको नेतृत्व गर्ने बैंकर रबिना आफूलाई फिट राख्न साइकलिङ गर्छिन् भने दिकेश फुटबल खेल्छन् ।
शेखर, रबिना तथा दिकेशको पहिरन छनोट पनि भिन्न–भिन्न छ । रबिन आफूलाई कुर्ता, सर्ट– पाइन्ट, ज्याकेट तथा साडीमा फिट मान्छिन् भने व्यवसायी शेखर गोल्छा अफिसियल ड्ेरसलाई नै पहिलो प्राथमिकतामा राख्छन् । त्यसबाहेक उनलाई जिन्स तथा टिसर्ट पनि कन्फर्टेबल लाग्छ । कुन ब्रान्ड भन्ने कुराले भने उनलाई उति फरक पार्दैन । दिकेश पनि अफिसियल पहिरनमै बढी रमाउँछन् ।
शेखर खानामा अलि कम चिल्लो र बढी स्पाइसी मन पराउँछन्, रबिना नेपाली तथा जापानिज परिकार भनेपछि हुरुक्कै हुन्छिन् । शेखरलाई मन पर्ने परिकार थकाली हो भने दिकेशको म:म । शेखर इटालियन तथा ओरियन्टल फुडजस्तै चाइनिज– थाइ फुड पनि
मन पराउँछन् ।
चलचित्र र पुस्तक प्रेम 
यी तीनै जनालाई चलचित्र तथा पुस्तक मन पर्छन् । उनीहरू फुर्सद मिल्यो कि चलचित्र र पुस्तकको नजिक पुगिहाल्छन् । नयाँ पुस्ताको भएकाले होला दिकेश पुस्तकभन्दा चलचित्रप्रति बढी झुकाव राख्छन् । रबिना र शेखरलाई भने फिल्म र पुस्तक दुवै मन पर्छन् ।
चलचित्र के–का लागि हेरिन्छ त ? तीनै जनाले फिल्म इन्टरटेनमेन्ट र प्रेरणाका लागि चलचित्र हेर्ने गरेको बताए । शेखरलाई बायोग्राफी एवं प्रेरणादायी पुस्तक मन पर्छन् भने रबिनाका लागि पुस्तक नयाँ कुरा जान्ने तथा ज्ञान बढाउने माध्यम हुन् ।
‘मानवता, ऊर्जा, फाइनान्स, म्यानेजमेन्ट जस्ता विषयमा जान्न चाहन्छु, त्यसैले पढ्छु,’ रविनाले सुनाइन् । ‘म प्राय: इन्टरटेनमेन्ट र प्रेरणाका लागि पुस्तक पढ्छु, फिल्महरू हेर्छु,’ शेखरले थपे । दिकेश भने इन्टरटेनमेन्ट तथा पारिवारिक गेट दुगेदरका लागि मुभी हेर्छन् ।

आध्यात्म र समाजसेवा 
शेखर धर्मभन्दा बढी आध्यात्ममा रुचि राख्छन् । उनी भगवान् पनि मान्छन् । ‘म धर्मभन्दा बढी आध्यात्मलाई मान्छु, मेरा लागि आध्यात्म धर्मभन्दा धेरै ठूलो कुरा हो,’ शेखरले भने । हिन्दू भएकाले उनी लक्ष्मीपूजा धूमधामसँग गर्छन् । दिकेश पनि धर्ममा विश्वास गर्छन् । उनको अफिसमा पनि शिवजी, कुबेर, तारा आदि विभिन्न भगवानका मूर्ति छन् ।
रविना त नियमतिजसो पुजाआजामा संलग्न हुन्छिन् । भगवान्लाई आफ्नो जीवनको ऊर्जा बताउने रबिना त्यसैले मानिसले त्यो ऊर्जालाई भगवानको नाम दिएको दाबी गर्छिन् । ‘म नियमित पुजा गर्छु, मेरो जीवन नै पूजा हो,’ उनले भनिन् । गणेश रबिनालाई सबैभन्दा मनपर्ने देवता हुन् ।
शेखर विभिन्न सामाजिक काममा पनि सक्रिय छन् । उनले टिच फर नेपालमा बर्सेनि ५० लाखभन्दा बढी सहयोग गरिरहेका छन् । समाजसेवालाई रुचिको विषय बताउने गोल्छाले अन्य विभिन्न सामाजिक कार्यमा पनि सक्रियता जनाउने गरेका छन् । दिकेशले आफूहरूले फाउन्डेसनमार्फत उच्च शिक्षाका क्षेत्रमा छात्रवृत्तिको ब्यवस्था गरिरहेको बताए । मोडलिङ तथा चलचित्रमा पनि सक्रिय रबिना ड्रग्स, टिनएज प्रेग्नेन्सी, सडक बालवालिका, एकल महिला, वृद्ध–वृद्धा आदिको क्षेत्रमा काम गरिरहेको बताउँछिन् ।

 

पैसा कमाउन चाहनेहरूका लागि 
सफलता चुम्न फिटनेस र हेल्थलाई अनिवार्य मान्छन्, शेखर । ‘फिजिकल फिटनेस एकदमै जरुरी छ,’ उनी भन्छन्, ‘फिटनेस ठीक रह्यो भने मात्र लाइफ इन्जोय गर्न सकिन्छ ।’ पैसा कसरी कमाउन सकिन्छ ?

 

‘रातारात धनी हुने कुनै त्यस्तो निश्चित फर्मुला छैन, तर मेहनतभन्दा पनि स्टाटेजिकल सोच जरुरी छ,’ उनले सुझाए, ‘स्टाटेजिक सोच नभएसम्म मेहनतको कुनै अर्थ छैन । त्यसमा पनि आफ्नो प्यासनअनुसार मेहनत गर्न सक्नुपर्छ र रियालिस्टिक सोच राखेर अघि बढ्नुपर्छ ।’

 

दिकेश भने पैसा कमाउन मेहनत गर्नुपर्ने तर्क गर्छन् । ‘पैसा कमाउन प्रसस्त मेहनत गर्नुपर्छ,’ उनले भने, पैसाको भ्यालु बुझ्न अनि त्यसको कदर गर्न सक्नुपर्छ ।’ पैसालाई इनर्जी एक्सचेन्जको माध्यम मान्ने रबिना कौशल हुनेले सजिलै पैसा कमाउन सक्ने बताउँछिन् । ‘पैसा इनर्जी एक्सचेन्ज हो,’ उनले फरक दृष्टिकोण व्यक्त गरिन्, ‘पैसा एवं भौतिक चीजहरू हामीलाई कम्फर्ट दिने माध्यम हुन् ।

 

स्किलबाट मान्छेले प्रसस्त आम्दानी गर्न सक्छ ।’ उनी युवाहरूलाई पैसाको पछिमात्र नदौडेर आफूभित्रैदेखि के गर्न चाहन्छु, त्यसमा लगानी गर्न सुझाव दिन्छिन् । ‘हरेक व्यक्तिले आ–आफ्नो क्षमतामा लगानी गर्नुपर्छ,’ रबिना भन्छिन्, ‘मान्छेले सबैभन्दा बढी चाहने कुरा सन्तुष्टि हो त्यसैले आफूलाई चिनेर अघि बढ्नुपर्छ ।’

 

दिकेश नेपालमा पनि प्रशस्त सम्भावना रहेको बताउँदैं यहाँ मेहनत गर्दै गए ढिलै भए पनि सफलता हात पार्न सकिने तर्क गर्छन् । ‘टाइम लाग्छ, मेहनत गर्ने हो भने नेपालमा पनि प्रसस्तै सम्भावना छ,’ मल्होत्रा भन्छन्, ‘हार्ड वर्क गर्‍यो भने रिटर्न आइहाल्छ । फरक कतिमात्र हो भने कसैका लागि चाँडो आउँला कसैका लागि ढिलो आउँला ।’

 

महँगा गाडीमा हुइँकिने केही नेपाली 
वसन्त चौधरी    मर्सिडिज एस क्लास— साढे ३ करोड बढी

सिद्धार्थशमशेर राणा    ल्यान्डरोजर— ३ करोड

विनोद चौधरी    रेञ्ज रोभर— २ करोड

आङछिरिङ शेर्पा    बीएमडब्लू— २ करोड

साहिल अग्रवाल    हमर— २ करोड

मीनबहादुर गुरुङ    मर्सिडिज एसयुबी— २ करोड
देवीप्रसाद भट्टचन    ल्यान्डरोभर— २ करोड

अलाइभ ग्लाइडर    ल्यान्डरोभर— १ करोड ८५ लाख

शेखर गोल्छा    भक्सवागन टोरेग— १ करोड २५ लाख

दिकेश मल्होत्रा    स्याङयोङ— १ करोड ९ लाख

सुरज वैद्य    टोयटा फ्रच्युनर— १ करोड  साभार – साप्ताहिक

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१