यसकारण नेपाल घुम्नैपर्ने देश हो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०७३, सोमबार ०६:१८

गतसाता इन्डोनेसियाको राजधानी जकार्तामा सम्पन्न पाटा ट्राभल मार्टमा सहभागी ६० भन्दा बढी मुलुकमध्ये एक दर्जन मुलुकलाई ‘मिडिया ब्रिफिङ’को अवसर प्रदान गरिएको थियो । त्यसमध्ये नेपाल पनि एक थियो । नेपालका तर्फबाट नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले नेपाल किन घुम्नैपर्ने मुलुक हो भन्ने विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसमक्ष ब्रिफिङ गरेका थिए । नेपालको प्रस्तुति अन्य मुलुकको भन्दा उत्कृष्ट रहेको भन्दै सहभागीले प्रशंसा गरेका थिए । जोशीले मिडिया ब्रिफिङका क्रममा प्रस्तुत गरेको सामग्रीलाई संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ :dipakraj-joshi-516x330

१. सानो क्षेत्रफल अपार विविधता विश्वको कुल क्षेत्रफलमध्ये नेपालले ०.०३ प्रतिशत मात्र हिस्सा ओगटेको छ । तर, भौगोलिक तथा प्राकृतिक रूपमा प्राप्त हुने विविधताका हिसाबले विश्वकै धनी मुलुक हो । विश्वमा अस्तित्वमा रहेका कुल स्तनधारी प्रजातिमध्ये ३ दशमलव ९६ प्रतिशत यहाँ उपलब्ध छन् । ३ दशमलव ७२ प्रतिशत प्रजातिका पुतली र ८ दशमलव ९ प्रजातीका पक्षीको घर नेपाल हो । अत्यन्त सानो क्षेत्रफलभित्र यति धेरै पशुपक्षी रमाउन सक्ने नेपाल प्राकृतिक रूपमा विश्वकै एक सुन्दर मुलुक हो । मुलुकभर फैलिएका राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा यी जीवजन्तु संरक्षित रूपमा रहेका छन् ।

२. हिमालको बादशाह विश्वको सर्वोच्च शिखर सगरमाथाको देश हिमाल र पर्वतारोहण गतिविधिका लागि विश्वको नम्बर एक मुलुक हो । ८ हजार मिटर उचाइका १४ हिमालमध्ये सगरमाथासहित ८ हिमाल नेपालमा छन् । खासगरी साहसिक पर्यटकीय गतिविधिका लागि यी सम्पदाले नेपाललाई विश्वकै लोकप्रिय गन्तव्य बनाउन भूमिका खेलेको छ । करिब १ हजार ३ सयभन्दा बढी हिमचुचुरा रहेको नेपालले ४ सय १४ हिमाल आरोहणका लागि खुला गरेको छ । सगरमाथासहित नेपालका अन्य हिमाल विश्वभरका आरोहीका लागि लोकप्रिय गन्तव्य हुन् ।

३. छोटो दूरीमा अलौकिक मौसमी विविधता उत्तर–दक्षिण १ सय ५० देखि २ सय ५० किलोमिटरको दूरीभित्र नेपालमा अलौकिक मौसमी विविधताको अनुभव गर्न सकिन्छ । यो दूरीभित्र समुद्री सतहबाट ६० मिटर उचाइदेखि विश्वको सर्वोच्च शिखरसम्म अटाएको छ । तराई, पहाड र हिमाली क्षेत्रका रूपमा फैलिएको नेपालमा हरेक २० मिटरको उचाइपछि फरक प्रकारको मौसम फेला पर्छ । मौसमी रूपमा प्राप्त सोही विविधताकै कारण यहाँ विश्वका कुना–कुनामा पाइने हरेक प्रकारका जीवजन्तु र वनस्पतिको अस्तित्व कायम रहन सकेको हो ।

४. अर्गानिक आतिथ्य सेवा नेपालमा पर्यटकलाई भगवान्सरह मान्ने गरिन्छ । ‘अतिथि देवो भव’ मूलमन्त्र मानेर अतिथिको सेवा गरिन्छ । नेपाल भौतिक संरचना तथा पूर्वाधारमा कमजोर पक्कै छ । तर, स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली नागरिकले मनैदेखि स्वागत र सत्कार गर्छन् । नेपालमा पर्यटकले प्रयोग गर्ने खाद्यान्न, पानी मात्र होइन, आतिथ्य सेवासमेत अर्गानिक पाउँछन् । पर्यटकको स्वागत–सत्कारदेखि उनीहरूको आवश्यकता पूर्तिका लागि मनैदेखि लागिपर्ने नेपालीकै कारण धेरै पर्यटकको मन आकर्षित हुने गरेको छ ।

५. वाइल्ड लाइफ पर्यटनको आकर्षण वाइल्ड लाइफ पर्यटनका लागि नेपाल एसियाकै लोकप्रिय गन्तव्य हो । नेपालमा हात्तीपोलो प्रतियोगिता आयोजना गरिन्छ भने हात्तीमाथि चढेर जंगल सफारी गर्न सक्ने सुविधा छ । त्यसक्रममा विश्वकै दुर्लभ एकसिँगे गैँडा, बाघजस्ता जंगली जनावरको अवलोकन यहाँ गर्न सकिन्छ । वाइल्ड लाइफ टुरिजमका लागि चितवन राष्ट्रिय निकुञ्ज चर्चित र लोकप्रिय गन्तव्य हो । कोसी टप्पु वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्जजस्ता क्षेत्र पनि वाइल्ड लाइफ पर्यटन र जंगल सफारीका लागि चर्चित छन् । मुलुकको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष पनि पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको छ ।

६. सयौँ संस्कृति–एक मुलुक नेपाल बहुजात–जाति, धर्म र समुदायको संयुक्त बासस्थान रहेको मुलुक हो । सानो क्षेत्रफल र जनसंख्याका बीच पनि नेपालभित्र १ सय २५ जातजाति र प्रजातिका मानिसको बसोवास छ । ती सबै नागरिकको मौलिक भाषा, धर्म र चालचलन रहेका छन् । नेपालमा हरेक दिनजसो विभिन्न प्रकारका चाडपर्व र उत्सव परिरहेका हुन्छन् । काठमाडौं उपत्यकामा बाहुल्य रहेको नेवार समुदाय मात्र पनि वर्षभर अधिक मेला–जात्रामा सहभागी हुन्छन् । नेपाल धार्मिक सहिष्णुता र आपसी मेलमिलापका लागि पनि विश्वकै उदाहरणीय मुलुक हो ।

७. पर्यटक सवारी एम्बुलेन्ससरह मानिन्छ नेपालले पर्यटनलाई कति महत्व दिन्छ भन्ने सवाललाई पर्यटक सवारीमाथि हुने व्यवहारले पनि प्रस्ट पार्छ । नेपालमा पर्यटक बोक्न प्रयोग हुने सवारीसाधनमा हरियो नम्बरप्लेट लगाइएको हुन्छ । कुनै पनि प्रदर्शन, बन्द या असहज परिस्थितिमा पनि हरियो नम्बरप्लेटको सवारीले कुनै असुरक्षित महसुस गर्नुपर्दैन । हरियो नम्बरप्लेटयुक्त सवारीलाई एम्बुलेन्स या अन्य अत्यावश्यक सवारीको साधनसरह मान्यता दिइएको छ । सोहीकारण नेपाल विश्वका सबै पर्यटकका लागि सुरक्षित गन्तव्य हो । यससँगै नेपालमा पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीको समेत व्यवस्था छ । विश्वका अति कम मुलुकमा मात्र पर्यटक सवारीका लागि छुट्टै सवारी नम्बरप्लेट तथा पर्यटक प्रहरीको व्यवस्था गरेका छन् ।

८. सेलेब्रिटीको रोजाइ नेपाल विश्वभरका सेलेब्रिटीले बिदा मनाउने तथा सामाजिक गतिविधिका लागि रोज्ने मुलुक हो । खासगरी पदयात्रा तथा ग्रामीण भेगमा स्थानीय समुदायको आतिथ्यता र अर्गानिक परिकारले उनीहरूलाई लोभ्याएको पाइन्छ । नेपाल योगा तथा आयुर्वेदिक उपचार पद्धतीका लागि पनि उचित गन्तव्य हो । स्वच्छ वातावरणसँगै असल मानिससँगको संगत चाहने र मानसिक तथा शारीरिक तनाव कम गर्नका लागि मानिसले नेपाललाई रोज्ने गरेका छन् । आफ्नो पेसा–व्यवसायमा रमाउन नसकेका कतिपय मानिस नेपालमा १–२ महिना बिताएर फर्किएपछि राम्रो प्रगति गरेका धेरै उदाहरण छन् ।

९. धार्मिक पर्यटनको आकर्षण नेपाल भगवान् गौतम बुद्धको जन्मभूमि हो । यहाँको लुम्बिनी र यसआसपासको क्षेत्र बौद्ध धर्मावलम्बीका लागि पवित्र भूमि हो । नेपालमा हिन्दू धर्मावलम्बीको बाहुल्य छ । काठमाडौंस्थित पशुपतिनाथ मन्दिर यहाँको सबैभन्दा चर्चित धार्मिकस्थल हो । काठमाडौं उपत्यका मन्दिर नै मन्दिरको सहरका रूपमा विश्वभर परिचित छ । यहाँ केही मिटरको दूरीमा मन्दिर भेट्न सकिन्छ । नेपाल लामो इतिहास बोकेको मुलुक हो । राजनीतिक उतार–चढावसँगै यसअघिका शासकले प्रयोगमा ल्याएका दरबार पर्यटकको अवलोकनका लागि खुला गरिएका छन् । संग्रहालयका रूपमा राखिएका कतिपय सम्पदाले नेपालको इतिहास बोकेका छन् । यसबाहेक युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत १० सम्पदा नेपालमा छन् । काठमाडौं उपत्यकाभित्रको सानो क्षेत्रफलभित्र आधा दर्जन सम्पदा रहनुले पनि नेपाल पर्यटनका लागि कति महत्वपूर्ण छ भन्ने प्रस्ट हुन्छ ।

१०. विश्वस्तरीय होटेल सुविधा नेपालमा करिब १ दर्जन हाराहारीमा पाँच तारे होटेल सञ्चालनमा छन् । तारे होटेलको संख्या १ सय नाघेको छ । यी होटेलले विश्वस्तरीय आतिथ्य सेवा दिन सक्ने क्षमता राख्छन् । काठमाडौं, पोखरा, चितवनजस्ता चर्चित गन्तव्यमा विश्वका चेन होटेल आकर्षित भइरहेका छन् । कतिपय होटेल खुल्ने क्रममा छन् । नेपालले आतिथ्य सेवाका लागि होमस्टे अवधारणा अगाडि बढाएको छ । होमस्टेबाट पर्यटकले अर्गानिक खानासँगै मौलिक संस्कृति तथा अर्गानिक आतिथ्य सेवा प्राप्त गर्छन् ।

११. साहसिक गतिविधिको निर्विकल्प गन्तव्य नेपाल जाने धेरैजसो पर्यटकको रोजाइ पदयात्रा तथा पर्वतारोहण हुने गर्छ । यसका लागि विश्वचर्चित हिमाल र टे«किङ टे«लहरू नेपालसँग छन् । पछिल्लो समय सेवामा विविधीकरण गर्दै लगेको नेपालले साहसिक पर्यटनका अन्य विधासमेत थपिरहेको छ । सफा नदीमाथि गरिने ¥याफ्टिङका लागि नेपालका नदी विश्वकै उत्कृष्ट मानिन्छन् । प्याराग्लाइडिङ, जिप फ्लायर, स्काई डाइभिङ, बन्जी जम्प, हिमाली क्षेत्रमा हुने म्याराथन, साइक्लिङजस्ता गतिविधिका लागि पनि नेपाल एक आकर्षक गन्तव्य हो । enayapatrika बाट साभार

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०