बन्द हड्ताल गराउने दलका प्रमुख नेताका छोराछोरीले कहाँ पढिरहेका होलान् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७३, बुधबार ०६:२४

विप्लवदेशभरिका शैक्षिक संस्थामा दुईदिने हड्ताल गर्न ‘आदेश’ दिएको माओवादी क्रान्तिकारीको विद्यार्थी संगठनका कार्यकर्ताले सोमबार काठमाडौँस्थित मोडेल नर्सिङ कलेज, एसएमएस कलेज र शंकरापुर एकेडेमीमा तोडफोड गरे।

आफ्नो ‘आदेश’ नटेरेको भन्दै कर्यकर्ताले तोडफोड गरेपछि विद्यार्थीको सुरक्षा जोखिममा पर्ने डरले मंगलबार लगभग देशभरिका सबै स्कुल-कलेज ठप्प छन्।

निजी स्कुलदेखि विश्वविद्यालयसम्मले हचुवा भरमा वृद्धि गरेको शुल्क फिर्ता गर्नुपर्ने, गरिब विद्यार्थीले मेडिकल शिक्षा नि:शुल्क पाउनुपर्ने लगायत माग राख्दै उक्त संगठनले देशभरका शैक्षिक संस्थामा हड्ताल गरेको हो।

विद्यार्थीको सुरक्षा प्रभावित गर्ने गरी बन्द हड्ताल गराउने दलका प्रमुख नेताका छोराछोरीले कहाँ पढिरहेका होलान्?

माओवादी क्रान्तिकारीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्ना छोरालाई महंगो शुल्क तिर्नुपर्ने चितवन मेडिकल कलेजमा एमबिबिएस पढाइरहेका छन्। चन्दपुत्र प्रकाशले आफू शुल्क तिरेरै निजी मेडिकल कलेजमा पढिरहेको बताए।

‘तपाईं आफैं त्यत्रो महँगो शुल्क लाग्ने क्याम्पसमा पढिरहनुभएको रहेछ नि?’ भन्ने प्रश्नमा प्रकाशले जवाफ दिए, ‘पढ्न पाउनु त मेरो अधिकार हो नि हैन र?’

उनले थपे, ‘मैले युद्धकालभरि रुकुमको सरकारी स्कुल पढेँ, आइएस्सी अस्कलमा पढेँ। एमबिबिएस पढ्न यहाँ आएको हुँ। मलाई हरि (कलेजका सञ्चालक) सरले केही सहुलियत दिनुभएको छ। सुरुमा दस लाख बुझाएको हो, त्यसपछि वर्षैपिच्छे एक-दुईलाख तिरेर पढिरहेको छु,’ उनले भने।

उनी आफ्ना बाबुको पार्टीको विद्यार्थी संगठनमा पनि आबद्ध छन्।

‘तपाईंहरुको बन्द हड्तालले सर्वसाधारणका छोराछोरीको पढ्न पाउने अधिकार खोसियो भन्ने लाग्दैन?’

‘बन्द हड्ताल राम्रो विकल्प त होइन तर विद्यार्थीकै हकहितका माग राखेर हामीले बेलाबेला सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनेन। त्यसैले सरकारलाई नै दबाब दिन हामीले हड्ताल र बल प्रयोग गर्नुपरेको हो,’ प्रकाशले भने।

चिकित्सा शिक्षामा कायम बेथितिविरुद्ध डाक्टर गोविन्द केसीले शृंखलाबद्ध आमरण अनसन बस्दा चन्दले मुखसम्म खोलेका छैनन्। स्कुल तोडफोडमा उनकै नेतृत्वको भ्रातृसंगठनले प्रेस विज्ञप्ति जारी गर्दै जिम्मेवारीसमेत लिएपछि सेतोपाटीले उनीसँग फोन सम्पर्क गरेको थियो। उनले फोन उठाएनन्।

निजी स्कुल सञ्चालकहरु भने चन्दको पार्टीले चन्दाका लागि आफूलाई दु:ख दिन बन्द हड्ताल गरेको आरोप लगाउँदै आएका छन्। विगतमा पनि बन्द गर्ने र ‘कुरा मिलेपछि’ फिर्ता लिने गरेको उनीहरुको भनाइ छ। सेतोपाटी बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१