खादाका कारण वार्षिक करोडौ रकम विदेसिंदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ श्रावण २०७३, बुधबार ०७:४८

khadaसंगम बानियाँ / काठमाडौं । नेपालमा प्रयोग हुने खादामा तिब्बती भाषामा होय रङजुङ लेखिने गरेको पाइएको छ । यसको अर्थ नेपाली भाषामा स्वतन्त्र तिब्बत हुन्छ भने अंग्रेजीमा फ्रि तिब्बत । नेपालमा प्रयोग हुने खादामा यस्तो देखिएपछि चिनियाँ राजदूत वा सरकारी अधिकारीहरुले अहिले तिब्बती खादा बहिस्कार गर्न थालेको संस्कृतिविद् डा। जगमान गुरुङले बताए ।

उनले भने–तिब्बती लिपीमा लेखिएको संस्कृति मन्त्रहरुले स्वतन्त्र तिब्बतको पक्षमा वकालत गर्ने गरेको पाइएको छ र यसले गर्दा चिनियाँ पाहुनाहरुले अहिले तिब्बती खादा वहिस्कार गर्ने गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको ५७ औं बार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा नेपालमा मौलाउँदो खादासँस्कृतिप्रति असन्तुष्टि व्यक्त गरेका थिए । कुनै औपचारिक कार्यक्रम वा शुभकार्यमा स्वागत तथा सम्मान गर्न नेपाली मौलिक सामग्रीको प्रयोग नगरेर विदेशी उत्पादन र सँस्कृतिलाई बढावा दिनु गलत भन्दै प्रधानमन्त्री ओलीले सकेसम्म सबैखाले गतिविधिमा नेपाली उत्पादनको प्रयोग गर्न सुझाव दिएका थिए ।

‘स्वागतमा खादा नै प्रयोग गर्ने हो भने पनि स्वदेशमै उत्पादन गरौं’ भन्दै प्रधानमन्त्री ओलीले आयातीत, पुनप्रयोग गर्न नमिल्ने, नडढ्ने र नसड्ने खादा प्रयोगले वातावरणलाई झन् प्रदुषित बनाएको तर्क गरेका थिए । छिमेकी भारतमा महात्मा गान्धीले स्वदेशमै कपडा बुनेर लगाउन अभिप्रेरित गरेको चर्खा आन्दोलनको सन्दर्भ उठाउँदै उनले स्वदेशमै उत्पादित सामग्रीको प्रयोगले राष्ट्रिय भाव बढेर आउँने प्रधानमन्त्रीको भनाई थियो ।
क्रमशः स्वागत गर्ने परम्परागत ढाँचालाई पनि परिवर्तन गर्नु आवश्यक भन्दै प्रधानमन्त्रीले ओलीले गरेको तर्कबाट त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले खुब रुचाएका थिए र कार्यक्रममा प्राध्यापकहरुले प्रधानमन्त्रीलाई समर्थन गरेका थिए । प्रधानमन्त्रीको यो भनाई मात्रै होइन, खादाको विषयमा धेरै पटक बहस भइसकेको छ ।

खादालाई पवित्र वस्त्रका रुपमा बुझ्नेहरु पनि छन् । तर, खादा नेपाली मौलिक सँस्कृतिभित्र नपर्ने र नेपालमा प्रयोग हुने खादा विदेशबाट आयात हुने कुरामा शंका छैन । नेपालका केही भूभागमा खादाको उत्पादन हुने भए पनि आयातीत खादाकै प्रयोग ज्यादा छ । नेपालका एक खादा व्यापारी लालवहादुर बस्नेतका अनुसार नेपालमा वार्षिक २० करोड रुपियाँभन्दा बढीको खादा आयात हुन्छ र बर्षिने खादाको प्रयोग बढिरहेको छ ।
खादासँग जोडिएको अर्को विवादको विषय भनेको स् खादामा तिब्बती भाषामा लेखिएका सन्दर्भ हो । चिनबाट नेपालमा आउँने खादामा स्वतन्त्र तिब्बतको पक्षमा विभिन्न सबालहरु उल्लेख गरिएको हुन्छ भन्नेहरु धेरै छन् । नेपालले औपचारिक रुपमै एक चीन नीतिलाई स्वीकारेको र चीनको नीतिलाई सघाउने वताईसकेको अवस्थामा स्वतन्त्र तिब्बतको प्रचार हुने सामग्रीलाई हामीले स्वागत तथा सम्मानको सामग्री बनाउँनु गलत हो ।
पछिल्ला दिनहरुमा चीनका विशिष्ठ अधिकारीहरुले स्वगत तथा सम्मानमा खादा प्रयोगलाई निषेध गरेका छन् । त्यस्तै नेपालका कतिपय नेताहरुले पनि खादा प्रयोग अनावश्यक भन्दै प्रयोग नगर्ने गरेका छन् । चितवनमा नेपाली काँग्रेसले स्वागत तथा सम्मानमा खादा प्रयोगलाई पूर्णतः प्रतिबन्ध लगाएको छ । त्यस्तै एनआरएन यूएईले पनि खादा प्रयोगलाई निषेध गरेको छ । तर पनि खादाको पक्ष र विपक्षमा मत बाझिएको छ किनकी केही धर्मावलम्वीका लागि यो जसरी आवस्यक र महत्वपूर्ण छ, अन्य मानिसहरु यसबाट आर्थिक, सामाजिक क्षेत्रमा गम्भीर असर परिरहेको तर्क गरिरहेका छन् ।
बौद्ध धर्मका लामा गुरुहरुले शुद्द, चोखो, पवित्र र उच्च सम्मानले हेरिने यो खादालाई एन आर एन युएईले प्रयोग नगर्ने जानकारी गराई लगतै युएईमा रहेका नेपालीहरुको सामाजिक संजालमा तरंग आएको छ । खादा भनेको चौडाईमा अन्दाजी चार पाँच अम्बल र लम्बाइमा अन्दाजी डेढ दुई हात सम्मको हुन्छ । तिब्बतीयन बौद्ध धर्म अनुसार चार टिचिङ निङ्गमा, गेलुक्पा, कग्युपा, सक्यापामा चढाउने खादाको विकाश भएको हो । यो सिल्क मलमल कपडाबाट बनेको पहेलो,सेतो र बिभिन्न रंगमा बौद्ध मन्त्र सहितको छापेको कपडा उपहार हो । खासगरी मान्छे जन्मिएर शुद्ध चोखाई सकेपछि बिहे, ब्रतबन्ध, छेवार, पास्नी, बिदाइ, स्वागत र कहिँ कतै मृत्युपछीको सम्मानमा प्रयोग हुने यो खादा पछिल्लो समय भने बिभिन्न राजनीतिक पार्टीका नेताहरुको सम्मानमा,सामाजिक संघसस्थाका प्रतिनिधिहरुको सम्मानमा बढी प्रयोग हँुदै आएको छ ।
पछिल्लो समय नायिका तथा मोडल शुभेच्छ्या थापाले एउटा फोटो सुटमा खादाको प्रयोग गर्दा खादाको अपमान भयो भनेर पनि कतिले टिप्पणी गरे । कतिले खादालाई बौद्ध धर्म र सँस्कृतिसँग जोडेर पनि हेर्ने गरेका छन् । तर यो विषय साप्रदायिक भन्दा बढी देशहीत विपरित छ भन्न कठिन छैन । किनकि, खादा आयातीत सामग्री हो । खादामै नेपालबाट बार्षिक करोडौं रुपियाँ विदेशिन्छ । नेपालमा स्वागत तथा सम्मान गर्न आफ्नै उत्पादन ः फूल, माला आदि छ । स्वागत गर्न नमस्कार मात्रै पनि पर्याप्त छ । खादा नसड्ने, नडढ्ने र पुनप्रयोग गर्न नमिल्ने हुनाले यसले वातावरणलाई पनि प्रतिकुल प्रभाव पार्छ । साभार – न्युज २४ नेपाल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१