स्टाफ कलेज परीक्षामा सहभागी सय डिएसपीमध्ये नौ मात्र उत्तीर्ण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७३, बुधबार ०८:४५

काठमाडौं ।  सशस्त्र प्रहरीमा स्टाफ कलेज तालिमका लागि लिइएको परीक्षामा सहभागीमध्ये ९० प्रतिशत डिएसपी अनुत्तीर्ण भएका छन् । परीक्षामा सहभागी सय डिएसपीमध्ये नौ मात्र उत्तीर्ण भएका छन् ।

arm-police-force 1स्टाफ कलेजको पहिलो सेमेस्टरका लागि सशस्त्रका सिनियर सय डिएसपीलाई छनोट गरी गत महिना परीक्षामा सहभागी गरिएको थियो ।

पहिलो सेमेस्टरमा उत्तीर्ण हुन ५० प्रतिशत प्राप्तांक आवश्यक थियो । तर, ९१ डिएसपी ५० प्रतिशत कटाउन असफल भएका छन् । स्टाफ कलेजको नियमअनुसार पहिलो सेमेस्टरमा अनुत्तीर्ण हुनेहरू तालिममा भाग लिन पाउँदैनन् । उनीहरूले फेरि अर्को वर्ष परीक्षा दिनुपर्ने हुन्छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गत वर्ष सयमध्ये १२ जना उत्तीर्ण भएका थिए । यस वर्ष गत वर्षभन्दा थोरै मात्र उत्तीर्ण भएका छन् । सशस्त्रमा स्टाफ कलेज तालिम उत्तीर्ण नगरे एसएसपीभन्दा माथिल्लो पदमा बढुवा हुँदैन । तर, पहिलो सेमेस्टरमै धेरै उत्तीर्ण हुन नसकेपछि सशस्त्रमा स्टाफ कलेजले धेरै डिएसपीको करिअर संकटमा पारेको छ ।

लगातार तीनपटक पहिलो सेमेस्टरमा अनुत्तीर्ण हुने सशस्त्र प्रहरीले सो तालिममा भाग लिन पाउनेछैनन् । ५० भन्दा धेरै डिएसपी लगातार दोस्रोपटक अनुत्तीर्ण भइसकेको स्रोत बताउँछ ।

तालिम र जाँचबाट क्षमतावान् अधिकारीलाई मात्र माथिल्लो पदमा पु(याउने अवधारणाअनुसार सशस्त्र प्रहरीमा गत वर्षदेखि सशस्त्र प्रहरीमा स्टाफ कलेज तालिम सुरु भएको हो । तर, प्रवेश परीक्षामा नै थोरै मात्र उत्तीर्ण भएपछि सशस्त्र नेतृत्व नै तालिमसम्बन्धी प्रावधानबारे अन्योलमा परेको छ ।

सशस्त्रको स्टाफ तालिम त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गरिएको हो । जसको एमएसरहको मान्यता हुन्छ ।

तालिमको पाठ्यक्रम तथा परीक्षा त्रिविले नै सञ्चालन गर्ने तालिमका संयोजक सशस्त्र प्रहरीका पूर्व एआइजी रविराज थापाले बताए । ‘पहिलो सेमेस्टरमा जति उत्तीर्ण हुन्छन्, उनीहरू मात्र तालिममा सहभागी हुन्छन्,’ उनले भने, ‘स्टाफ कलेजको अन्तर्राष्ट्रिय नियमअनुसार नै हामीले कार्यक्रम सञ्चालन गरेका हौँ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१