‘तारागाउँ म्यूजियम’को सहकार्यमा ०४६ सालअघिका कार्टुनहरु प्रदर्शनीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ फाल्गुन २०७२, बिहीबार ०९:३८
‘नेपाल कार्टुनिस्ट क्लब’को संयोजन तथा ‘नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान’ र ‘तारागाउँ म्यूजियम’को सहकार्यमा ०४६ सालका कार्टुनहरुको प्रदर्शनी मंगलबारदेखि सुरु भएको छ । राजधानीको बौद्ध, टुसालस्थित तारागाऊँ म्युजियममा सुरु भएको प्रदर्शनीमा राखिएका कार्टुनले तत्कालिन नेपाली राजनीति, समाज र संस्कृतिको इतिहास, राजनीतिक परिवर्तनमा कार्टुनको भूमिकालगायतका विषयमा स्पष्ट पार्छन् ।
प्रदर्शनीमा शशी शाह, कुलमानसिंह भण्डारी, दुर्गा बराल ‘वात्स्यायन’, रमेशनाथ पाण्डे, प्रा. रामकुमार पाँडे, टेकवीर मुखियाले २०२५ साल अघि बनाएका कार्टुन मुख्य आकर्षणमा छन् । त्यस्तै पञ्चायती व्यवस्थाको समयमा उज्ज्वल कुन्दन ज्यापू, बलराम थापालगायतले बनाएका कार्टुनले नेपाली समाजको तत्कालिन अवस्थाको चित्रण गर्छन् ।
प्रदर्शनीको सन्दर्भ पारेर प्रदर्शनीमा राखिएका कार्टुनसहितको कार्टुनको नालीबेली समेटिएको ‘नेपाली कार्टुनको एउटा कालखण्ड’ पुस्तकसमेत सार्वजनिक गरिएको छ ।
कार्यक्रममा नेपाली छापामाध्यममा पहिलो पटक कार्टुन प्रकाशित गरेका गोवद्र्धन विक्रम शाहले जानी नजानी बनाएको कार्टुन पनि पहिलो हुन पुगेको स्मरण गर्दै
कार्टुनको भविष्य राम्रो रहेको बताए ।
त्यस्तै, पूर्वमन्त्री तथा नयाँ सन्देश साप्ताहिकका सम्पादक रमेशनाथ पाण्डेले आफुले पत्रकारिता गर्दा कार्टुनिस्टको अभावमा आफैंले कार्टुन बनाएको स्मरण गर्दै अहिलेको अवस्थामा कार्टुन पत्रकारिताको अभिन्न अङ्ग बन्न पुगेको बताए । उनले विश्वमा सामाजिक व्यङ्गयका रुपमा सन् १७४० देखि शुरू भएको कार्टुन विधाले वि.स. १९१४ बाट भने राजनीतिक व्यवस्थालाई पनि व्यङ्ग गर्न थालेको जानकारी दिए ।
यसैबीच व्यंग्य लेखक तथा कार्टुनिष्ट रामकुमार पाँडेले आफ्नो समयमा कार्टुनिस्टहरुको कमी रहेको र कलाकारलाई आग्रह गरेर कार्टुन बनाउन अनुरोध गर्ने परम्परा आजका दिनमा व्यवसायिक कार्टुनिष्टहरुले तोडेको बताए ।
प्रदर्शनीमा चन्द्रमानसिंह मास्के, शशी शाह, कुलमानसिंह भण्डारी, रामकुमार पाँडे, दुर्गा बराल ‘वात्स्यायन’ उज्जल कुन्दन ज्यापु, रमेशनाथ पाण्डे, मोदनाथ प्रश्रित, मनुजबाबु मिश्र, मदन चित्रकार, सुरेन्द्रराज भट्टराई, शरद रञ्जित, अशोकमान सिंह, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, किरण मानन्धर, सुवास क्षितिज लगायत ४९ जनाका १३० भन्दा बढी कार्टुन राखिएका छन् ।
प्रदर्शनी फागुन २० गतेसम्म चल्नेछ । setopati बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१