पहिलो ‘साक्षर जिल्ला’ बन्दै चितवन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७१, सोमबार ०७:१२

प्रकाश सिलवाल,भरतपुर, २६  जेठ ।  ‘सबैका लागि शिक्षा’को लक्ष्यअनुसार सन् २०१५ सम्ममा नेपाललाई साक्षर मुलुक बनाउन चुनौती देखिए पनि चितवन भने आफूलाई पहिलो साक्षर जिल्ला घोषणाको तयारीमा छ ।चितवन जिल्लाको यो आकाँक्षालाई साकार पार्न जिल्ला शिक्षा कार्यालय, राजनीतिक दल, जिल्ला विकास समिति, गाउँ विकास समिति, गैरसरकारी संस्था, सामुदायिक अध्ययन केन्द्र, सामुदायिक विद्यालयका शिक्षक–विद्यार्थी, सञ्चारकर्मी एकसाथ जुटेका छन् ।विसं २०६९ असार ८ गते देशमै पहिलोपटक चितवनको फूलबारी गाविस साक्षर घोषित भएको थियो भने मुलुककै दोस्रो साक्षर घोषित गाविस पनि चितवनकै गीतानगर हो । त्यसपछि चितवनलाई पछ्याउँदै कास्कीको हेम्जा गाविस साक्षर घोषित भयो भने अहिले चितवनमा जस्तै साक्षर गाविस र जिल्ला बनाउने प्रयास अन्यत्र पनि थालिएका छन् ।263841367155

पहिलो साक्षर गाविस घोषणामा अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेल पुग्नुभएको थियो भने रत्ननगरलाई साक्षर घोषणा गराउने कार्यक्रममा शिक्षा मन्त्रालयका तत्कालीन सचिव नारायणगोपाल मलेगो प्रमुख अतिथि हुनुहुन्थ्यो ।चितवनमा फूलबारी र गीतानगरसहित शिवनगर, शारदानगर, भण्डारा, दिव्यनगर, कल्याणपुर, बगौडा, पदमपुर, जगतपुर गरी १३ वटा गाविस साक्षर घोषित भइसकेका छन् । त्यस्तै भरतपुर र रत्ननगर नगरपालिकाका केही वडा पनि साक्षर घोषित भएका छन् ।जिल्लामा कुल ३६ वटा गाविस रहेकामा दुई नयाँ नगरपालिका बनेकाले गाविसको सङ्ख्या यकिन हुन बाँकी छ ।चितवनबाट भक्तपुर सरूवा भएर रमाना लिने क्रममा रहनुभएका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा भन्नुहुन्छ, “यही गतिमा जाने हो भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा चितवनका अधिकांश गाविस र नगरका वडा साक्षर घोषित हुनेछन् । अब चेपाङ बस्ती र केही पहाडी गाउँमा साक्षरता अभियान केन्द्रित हुने शिक्षा अधिकारी शर्माले बताउनुभयो ।

शिक्षा अधिकारी शर्मा सामुदायिक विद्यालयमा कुनै औपचारिक कार्यक्रममा आफूलाई आमन्त्रण भएमा कार्यक्रम स्थलमा ‘साक्षर चितवन अभियान’ लेखिएको ब्यानर राख्नैपर्ने सर्त दिने गरेकाले पनि अभियानमा माहोल आएको बताउनुहुन्छ ।कतिपय गाउँमा दिउँसो काम गर्नुपर्ने मानिस राति टर्च बालेर पनि साक्षरता कक्षामा सहभागी हुने गरेको पाएपछि शिक्षाको महत्व समुदायमा बढ्न थालेको उहाँको भनाइ छ ।शिक्षा अधिकारी शर्माका अनुसार जिल्लाको साक्षरता अभियानमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा लायन्स क्लब, रोटरी इन्टरनेसनल, चितवन मेडिकल कलेज, नारायणी सामुदायिक अस्पतालले सघाएका छन् भने केही निजी विद्यालयले रेडियोमा साक्षरता सन्देश बजाउन प्रायोजन गरेका छन् ।गत संविधानसभा निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा पनि साक्षरताका सन्देश सम्प्रेषित गरिएको थियो । ११० जना म्यादी प्रहरीलाई पनि साक्षरता अभियानमा परिचालन गरिएको थियो ।

चालु आर्थिक वर्षमा जिल्लामा साक्षरता कार्यक्रमका लागि रू दुई करोड ३२ लाख बजेट विनियोजन गरिएको छ । हुन त चितवन पहिलेदखि नै साक्षरतामा कमजोर भने थिएन । विसं २०६८ को जनगणनामा यहाँको साक्षरता दर ७६ दशमलव ९८ प्रतिशत पुगेको थियो ।जिल्लामा आर्थिक वर्षको सुरूमा निरक्षरको सङ्ख्या ४३ हजार ७०० जना रहेको मानिएको थियो भने अहिले यो सङ्ख्या घट्दो क्रममा छ । साक्षरता कक्षा सञ्चालनका लागि एक हजार ७२९ जना सहजकर्ताले १०० वटा कक्षा सञ्चालन गरेका छन् । १७२ जना स्थानीय निरीक्षक तोकिएका छन् । साक्षर भएका अहिले सामान्य अक्षर चिन्न सक्ने, हरहिसाब गर्नसक्ने र सामाजिक रूपमा खुलेर संवाद गर्न सक्दछन् ।चितवनमा साक्षरताका नियमित कक्षाका अतिरिक्त वातावरण, बालअधिकार, महिला अधिकार, परिवार नियोजन, सरसफाइ, केन्द्रको अभिलेखमा पनि साक्षरता अभियान सञ्चालनका क्रममा चितवन अगाडि नै छ ।केन्द्रका उपनिर्देशक विष्णुप्रसाद मिश्रका अनुसार जिल्लामा शिक्षा कार्यालयले सबै पक्षसँग समन्वय गर्नसक्नु, स्थानीय सहयोग जुट्नु, जिल्ला विकास समितिले साक्षर हुने गाविसलाई रू १० हजार राशीको पुरस्कार दिने निर्णय गर्नु तथा मानिहरूको जागरूकता उच्च भएकाले पनि चितवन साक्षरता अभियानमा अगाडि आउन सकेको हो । मिश्र भन्नुहुन्छ, “सम्भवतः चितवन मुलुककै पहिलो साक्षर जिल्ला बन्नेछ र अरू जिल्लालाई प्रोत्साहित पनि गर्नेछ । ”केन्द्रका निर्देशक पौडेल अभियानमा देशभर मध्येकै उत्कृष्ट काम चितवनले गरेको बताउनुहुुन्छ । नयाँ आउने शिक्षा अधिकारीले पनि पहिलाको जस्तो गतिमा काम गर्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।साक्षर गाविस घोषणा कार्यक्रममा समुदाय र विद्यालयका तर्फबाट ¥याली तथा सभा गरिनेछ, साथै चेतनामूलक गीत, नाटक, भजन र नृत्य पनि प्रस्तुत गरिन्छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला उपाध्यक्ष दानबहादुर गुरूङ साक्षरता अभियान शिक्षकको पनि सहभागिताका कारण प्रभावकारी भएको भन्दै चाँडै चण्डिभञ्ज्याङलगायतका गाविस साक्षर घोषणा हुने बताउनुहुन्छ ।विसं २०६८ को जनगणनाअनुसार पाँच वर्षभन्दामाथि उमेरको साक्षरता प्रतिशत ६५ दशमलव ९ प्रतिशत छ । विसं २००४ देखि सुरू भएको साक्षरता अभियान सुरू भए पनि अहिलेसम्म पूर्ण साक्षर मुलुक बन्न सकेको छैन ।अवधारणा लागू भएको ती वर्षमा नेपाललाई निरक्षरता उन्मूलन गर्ने कार्ययोजना लिइएको थियो । त्यसअघि आर्थिक वर्ष २०६५÷०६६ को बजेट वक्तव्यमा दुई वर्षभित्र निरक्षरता हटाउन राष्ट्रिय साक्षरता अभियान ल्याइएको थियो ।केन्द्रको मान्यताअनुसार कुनै गाविसका बासिन्दामध्ये ९५ प्रतिशत साक्षर भएको प्रमाणिक भएमा त्यसलाई औपचारिक समारोह गरी साक्षर घोषणा गरिनेछ । घोषणा गर्नुपूर्व घरधुरी सर्वेक्षण र सरोकारवाला पक्ष तथा स्थानीय राजनीतिक परामर्श ९सहमति० गरेर साक्षर भएको निक्र्योल गरिन्छ । हालैमात्र जिल्ला शिक्षा अधिकारीको नेतृत्वमा गर्दी गाविसको वाल्मीकि आश्रममा घरधुरी सर्वेक्षण गर्दा तीन बालबालिका विद्यालय बाहिर रहेको पाइएको थियो ।जिल्लाका १३ वटा स्रोत केन्द्रमा निःशुल्क तथा अनिवार्य शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको छ । प्रवेशिका परीक्षामा गत वर्ष ५८ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । जिल्लामा ३९० सामुदायिक र १६६ संस्थागत विद्यालय तथा २१ वटा क्याम्पस सञ्चालित छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१