शिशुको मुख हेर्न नर्सलाई ‘भेटी’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ जेष्ठ २०७१, शुक्रबार १२:११

जनकपुरधाम,१६ जेठ ।  धनुषाको महदैया तपनपुरका राजेश यादवले पहिलो सन्तानको रूपमा बिहीबार बिहान जनकपुर अञ्चल अस्पातलमा छोरा पाए। छोरा हेर्न र काखमा लिन ब्याकुल यादवलाई जनकपुर अञ्चल अस्पतालमा प्रसूति गराउने नर्सहरूले हजार रुपैयाँ नदिएसम्म बच्चा नदिने भन्दै करिब एक घन्टा हैरान पारे।

नवजात शिशुलाई हेर्न यादवको पूरै परिवार व्यग्र थियो तर बच्चा दिन नर्सहरूले बार्गेनिङ गरिरहेका थिए। अन्तमा सात सय रुपैयाँ दिएपछि बच्चा काखमा लिन पाएको यादवकी आमाले बताइन्। सरकारद्वारा अस्पतालमा प्रसूति गराउँदा यातायात खर्चबापत तराईमा पाँच सय रुपैयाँ प्रसूति महिलालाई उपलब्ध गराउने गरिएपनि जनकपुर अञ्चल अस्पतालमा पाउने भत्ता सबै नर्सहरूले नै जबरजस्ती लिने गरेको गुनासो आउने गरेको छ।

छोरी हुँदा त्यत्ति धेरै दबाब नदिए पनि छोरा भयो भने हजार, पाँच सयभन्दा कममा बच्चा दिन धेरै झमेला गर्ने गरेको अञ्चल अस्पतालमै प्रसूति गराएकी जनकपुर ४ की मिनाक्षी झाले बताइन्। ‘सरकारी अस्पतालामा भत्ता पाइन्छ र अन्य कुनै किसिमको खर्च लाग्दैन भन्ने सोचका साथ गर्भवतीहरू यहाँ आउने गर्छन् तर नर्सहरूको मनोमानीका कारण सरकारी सुविधा समेत उपभोग गर्नबाट वन्चित भएको छौं’, झाले गुनासो गरिन्।

धनीहरूले अधिकांश निजी अस्पतालमै प्रसूति गराउने भए पनि मध्यम तथा गरिब परिवारका लागि प्रसूति भत्ताबापत पाइने पाँच सय रुपैयाँले यातायात, औषधि तथा फलफूल खानका लागि सहयोगी भए पनि अस्पतालका कर्मचारीको मनोमानी तथा प्रशासनको मौनताका कारण समस्या भएको महिला अधिकारकर्मी रेणु झाको भनाइ छ।

यता, जनकपुर अञ्चल अस्पतालमा नर्सहरूले मात्र नभई अस्पताल प्रशासनले नै संस्थागत रूपमै प्रसूति गराउनेहरूबाट रकम असुली गरिरहेको छ। अञ्चल अस्पतालमा प्रसूतिलाई दिइने यातायात भत्ताको पाँच सय रकममध्ये एक सय रुपैयाँ रिसेप्सनमै काटेर चार सय मात्र दिइने व्यवस्था गरिएको छ। यस विषयमा जनकपुर अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कामेश्वर झाले भने, ‘एक सय रुपैयाँ हामी जन्म प्रमाणपत्र दिनका लागि काट्ने गर्छौं।’

सरकारी प्रावधानमा यातायात भत्ताबाट कुनै पनि विषयमा रकम कटौती गर्ने प्रावधान रहेको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१