झाडापखालाको उच्च जोखिममा उपत्यका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७१, आईतवार १२:५७

सरोज ढुङ्गेल

काठमाडौँ,    काठमाडौँ उपत्यका हैजा र झाडापखालाको उच्च जोखिममा रहेको छ ।  अत्यधिक जनसङ्ख्या, दूषित खानेपानी, अस्वस्थ किसिमका खानेकुरा, अशिक्षा, अज्ञानताजस्ता कारणले उपत्यका हैजा र झाडापखालाको उच्च जोखिममा रहेको हो ।  
शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. शङ्करबहादुर श्रेष्ठले काठमाडौँ हैजा र झाडापखाला प्रकोप हुने स्थानमध्ये अत्यधिक जोखिममा रहेको बताउनुभयो ।  ‘हैजा र झाडापखालाको उच्च जोखिममा काठमाडौँ रहेको छ’ निर्देशक डा. श्रेष्ठले भन्नुभयो, “काठमाडौँमा हैजाको प्रकोप फैलिए रोकथाम गर्न गाह्रो पर्नसक्छ । ”
काठमाडौँको जनसङ्ख्या अत्यधिक छ, श्रेष्ठले भन्नुभयो, “केही शिक्षित र रोगप्रति चेतना भएका मानिसहरू भए पनि लाखौँ मानिस ग्रामीण क्षेत्रका र अशिक्षित तथा हैजासम्बन्धी चेतना नभएकोले काठमाडौँ हैजाको उच्च जोखिममा रहेको छ । ” झाडापखाला, हैजाजस्ता सरुवा रोग खानपान तथा व्यक्तिको दैनिक व्यवहारजस्ता क्रियाकलापले लाग्ने गर्दछ, निर्देशक श्रेष्ठले भन्नुभयो, “अझै पनि काठमाडौँमा हात नधोई खाना खाने, दिसा गरेपछि राम्ररी साबुनपानीले हात नधुने सङ्ख्या उल्लेख्य छ । ”
दैनिक ज्याला तथा मजदुरी गरी खाने वर्गलाई सरसफाइसम्बन्धी जानकारी नहुँदा गर्मी मौसममा हैजा, झाडापखाला, जण्डिसलगायतका सरुवा रोगहरूले सङ्क्रमण गर्न सक्दछ, सरुवा रोग अस्पतालका निर्देशक डा. श्रेष्ठले थप्नुभयो, “हामीकहाँ सरसफाइ र खानपानसम्बन्धी सामान्य ज्ञान नहँुदा पनि ठूला–ठूला सरुवा रोगको शिकार बन्नुपर्दछ । ”
काठमाडौँमा वितरण हुने पानी निर्धक्क पिउन नसकिने भन्दै श्रेष्ठले खानेपानीलाई कम्तीमा पनि १५ मिनेट राम्रोसँग उमालेर खान सुझाव दिनुभयो ।
यता ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी मुख्यतया खानेपानीको कारणले हैजाको प्रकोप फैलनसक्ने भन्दै शुद्ध खानेपानी प्रयोग गर्न सुझाव दिनुहुन्छ ।  काठमाडौँ हैजा फैलन सक्ने सम्भावना भएको क्षेत्र हो, डा. मरासिनीले भन्नुभयो, “यसलाई उच्च जोखिम भन्नुभन्दा पनि हैजा फैलनसक्ने केही सम्भावनाहरू रहेका छन् । ”
गत वर्ष पनि काठमाडौँमा १४ जना हैजाका बिरामी देखिएका थिए ।  गत वर्ष बिरामीको दिशा परीक्षण गर्दा भिब्रियो कोलेरा भन्ने हैजाको मुख्य जिवाणु पुष्टि भएको थियो ।  सन् २०१० अक्टुबरमा हाइटीमा चार हजार ७२२ जनामा हैजा देखिएको थियो भने तीमध्ये ३०३ जनाको मृत्यु भएको थियो ।  त्यही जिवाणु काठमाडौँमा देखिएको थियो ।
ट्याङ्कर तथा बोतलको पानी दूषित भएमा पनि हैजाको प्रकोप फैलन सक्ने भन्दै डा. मरासिनीले गर्मी मौसममा शुद्ध खानेपानी र सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो ।  विगत वर्षहरूमा केही स्थानमा फाट्टफुट्ट रूपमा हैजाका बिरामीहरू देखिन्थे, डा. मरासिनीले भन्नुभयो, “अशिक्षा, अज्ञानता तथा खानेपानीको कारणले काठमाडौँको कुनै एक ठाउँमा देखिएको हैजालाई प्रकोप भन्न मिल्दैन । ”
मौसम अनुसार कुनै निश्चित ठाउँमा हैजा तथा झाडापखालाका बिरामीहरू देखिन्छन्, मरासिनीले थप्नुभयो, “खानेपानीमा ध्यान दिनसके हैजा, जण्डिसलगायतका अन्य सरुवा रोगबाट सहजै बच्न सकिन्छ । ”
सरुवा रोग नियन्त्रणमा स्वास्थ्य क्षेत्रले मात्र केही गर्न नसकिने भन्दै डा. मरासिनी खानेपानी संस्थानले शुद्ध खानेपानी वितरण गर्नुपर्ने, खानेपानी आपूर्तिका पाइपहरू टुटफुट अवस्थामा रहन नदिने हो भने अधिकांश सरुवा रोगबाट बच्न सकिने बताउनुहुन्छ ।
आजभन्दा ८०÷९० वर्ष पहिले बेलायतमा पनि हैजाको प्रकोप फैलिने गर्दथ्यो, मरासिनीले भन्नुभयो, “त्यहाँ विस्तारै मानिसमा जनचेतना आयो, अहिले हामी त्यही स्थितिमा छौँ, स्वास्थ्य जागरणमा ध्यान दिन सक्यौँ भने हैजालगायतका सरुवा रोगबाट बच्न सकिन्छ । ”
विगतका वर्षहरूमा डोटी, जाजरकोटलगायतका जिल्लाहरूमा हैजाले महामारीको रूप लिएको थियो भने यो वर्ष रौतहटमा हैजा फैलिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१