नेपालीलाई अस्ट्रेलियाको पढाइ महँगो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ जेष्ठ २०७१, बुधबार ०५:२८

अस्ट्रेलियामा उच्च शिक्षा महँगो भएको छ। त्यहाँको सरकारले विश्वविद्यालयहरूलाई विगतमा दिँदै आएको अनुदान रकम यो वर्षको बजेटबाट कटौती गरेपछि शिक्षा महँगो हुन लागेको हो।

जानकारहरूका अनुसार अस्ट्रेलियन सरकारको यो निर्णयबाट अब उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जाने नेपालीलगायत विदेशी विद्यार्थी पनि प्रभावित हुनेछन्। यसअघि सरकारले आफ्नो बजेटको निश्चित रकम उच्च शिक्षाको लागि छुट्ट्याउने गथ्र्यो। जसले गर्दा सरकारी अनुदान लिएर विश्वविद्यालय तथा कलेजहरूले विद्यार्थीबाट थोरै शुल्क लिएर पठनपाठन गराउँदथे।

अब भने विश्वविद्यालयमा लाग्ने पढाइ खर्च सबै विद्यार्थीबाट असुल्नुपर्ने हुन्छ।नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष राजेन्द्र बरालका अनुसार सरकारी अनुदानबाट चलेका विश्वविद्यालयहरूले अब विद्यार्थीबाट नै शुल्क लिएर सञ्चालन गर्नुपर्छ। उनका अनुसार यो निर्णयसँगै त्यहाँको शैक्षिक संस्थामा सबै मुलुकका विद्यार्थीले अब विगतको भन्दा धेरै शुल्क तिर्नुपर्ने हुन्छ।

अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा अध्ययन गरिरहेका दीपक बसौलाले भने, ‘अब अस्ट्रेलियाका उच्च शिक्षा प्रदायक हरेक संस्थाले विद्यार्थीबाट विगतमा लिएको शुल्कमा २० देखि ३० प्रतिशतसम्म शुल्क बढाएर लिनेछन्। यसको असर नेपाली विद्यार्थीमा समेत प्रत्यक्ष पर्नेछ।’

पछिल्लो समय नेपाली विद्यार्थीको लागि अस्ट्रेलिया उच्च शिक्षा अध्ययनको लागि गतिलो गन्तव्य बनेको छ। अध्ययनसँगै रोजगारीको अवसरहरू प्रशस्त भएकोले विद्यार्थी आकर्षण बढेको हो। इक्यान अध्यक्ष बरालले भने, ‘अब भने आफै कमाएर विश्वविद्यालयको शुल्क तिर्ने योजना बनाएर गएका विद्यार्थीलाई बढी मर्का पर्नेछ। अस्ट्रेलिया जान विद्यार्थीको संख्यामा पनि कमी आउन सक्छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१