जन्डिसको जगजगी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७१, सोमबार ०५:५४

बिराटनगर ,५ जेठ । खानेपानी संस्थानका फुटेका पाइपबाट ढल छिर्दा विराटनगरमा जन्डिसको महामारी फैलिएको छ । खानेपानी संस्थानले ५५ वर्षअघि जडान गरेको पानीको पाइपबाट ढलको मलमूत्र छिरेर उपभोक्ताको धारामा पुगेकाले विराटनगरमा हेपाटाइटिस ई (जन्डिस) रोग निरन्तर फैलँदैछ । तीन सातादेखि फैलिएको जन्डिसले ३० वैशाखसम्म विराटनगरमा १४ सयलाई लपेटिसकेको छ भने ११ जनाको ज्यान गएको छ ।
विराटनगरको कोशी अञ्चल अस्पताल सहित निजी अस्पताल अहिले जन्डिसका बिरामीले भरिभराउ छन् । २३ वैशाखमा विराटनगरका सबै अस्पतालमा रगत परीक्षण गराउनेमध्ये १७६ जना जन्डिसका रोगी पाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जताततै जोखिम
जन्डिस फैलनुमा खानेपानीको पाइप फुटेर ढल मिसिनु कारण रहेको अनुगमन टोलीको निष्कर्ष छ । २८ वैशाखमा होटलहरूमा अनुगमन गर्दा शौचालय नालामा मिसाइएको पाइएपछि जनस्वास्थ्य कार्यालयले शौचालयको पाइप सार्न निर्देशन दिएको छ । खानेपानी संस्थानको पाइपबाट आउने पानी परीक्षण गर्दा पनि जन्डिस संक्रमण हुने ‘कोलिफर्म’ नामक जीवाणु पाइएको छ ।
नगरका १३ स्थानमा परीक्षण गर्दा चार ठाउँको पानीमा यो जीवाणु पाइएको र रोगीहरू पनि ती ठाउँमै बढी भेटिएका थिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले संस्थानले वितरण गरेको पानीमा भेटिएको कोलिफर्म मानिसको दिसापिसाबबाट आएको बताए ।
शौचालयभन्दा ४० फिट नजिकको ट्युबेलको पानीमा कोलिफर्म सर्ने सम्भावना रहेकोमा विराटनगरका अधिकांश घरमा शौचालयको ट्याङ्की नजिकै ट्युबेल गाडिएका छन् । डा. मरासिनी कोलिफर्म मिसिएको धाराको पानी नउमाली फिल्टर गरेर मात्रै पिउँदा जन्डिस सर्ने बताउँछन् ।
जनस्वास्थ्य र नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरवासीलाई जन्डिसबाट जोगिन आह्वान गरेका छन् । जन्डिसको रोकथामका लागि रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको पानीमा मिसाएर पिउन ४ हजार ६०० बोतल पियूष र ६० हजार क्लोरिन ट्याब्लेट वितरण गरिएको जनस्वास्थ्य प्रमुख नवराज सुब्बा बताउँछन् । पियूष र क्लोरिन महाशाखा र युनिसेफसँग थप माग गरिएको पनि उनले बताए ।
छानबिन र नियन्त्रणका लागि विशेषज्ञहरू विराटनगर आउने क्रम जारी रहे पनि अहिलेसम्म उपलब्धि देखिएको छैन । अस्पतालहरूले बिरामीलाई केही दिन राखेर खतरामुक्त भएपछि घरमै आराम गर्न पठाउने गरेका छन् । डा. सिग्देल भन्छन्, “आराम, स्वच्छ खान र पिउन पाएपछि जन्डिस निको हुन्छ, अरू औषधि चाहिंदैन ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१