अर्थोपेडिक अस्पताल उत्कृष्ट व्यवस्थापनको

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ जेष्ठ २०७१, शुक्रबार ११:२३

२ जेठ, काठमाडौं । हाडजोर्नी-नसाको उपचारका लागि मुलुकमै अब्बल मानिने नेपाल अर्थोपेडिक अस्पताल न सरकारी हो न त निजी । तर पनि सेवासुविधा र व्यवस्थापनका दृष्टिले मुलुकका निजी र सरकारी अस्पतालको तुलनामा कुनै कुरामा कम छैन ।

सन् १९९८ मा नेपाल अपाङ्ग सङ्घ र रोटरी क्लब अफ पाटनको सहकार्यमा बेल्जियम रोटरी क्लबका लुक सालेन्सको सहयोगमा २० शययाबाट काठमाडौँको जोरपाटीमा साढे १० रोपनीमा नेपाल अर्थोपेडिक अस्पतालको स्थापना भएको हो ।

स्थापनाको १० वर्षमा आत्मनिर्भर हुने लक्ष्यका साथ सुरु गरिएको भए पनि उचित व्यवस्थापन र चिकित्सक एवम् कर्मचारीको इमान्दारपूर्ण सेवाभावले अस्पताल आठ वर्षमै आत्मनिर्भर बन्न पुगेको अस्पतालका प्रशासन प्रमुख श्याम रुपाखेतीले बताए ।

सुरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोटरी क्लबहरूको पूर्ण सहयोगमा स्थापना गरिएको अर्थोपेडिक अस्पतालले हाल आफ्नै आम्दानीले एक सय शयया विस्तार गरी दैनिक १ सय ५० देखि २ सय हाडजोर्नी-नसाका बिरामीलाई बहिरङ्ग सेवा र १० जनाको शल्यक्रिया गर्दै आएको छ ।

अस्पतालमा अपाङ्ग सङ्घका दुई, रोटरी क्लब अफ पाटनका दुई र सहयोग संस्थाका तर्फबाट दुईजनाको व्यवस्थापन समिति रहेको छ भने १ सय ४५ पूर्णकालीन चिकित्सक र कर्मचारी कार्यरत छन् ।

नेपालको एक मात्र हाडजोर्नी-नसाको अस्पतालका रूपमा परिचित अर्थाेपेडिक अस्पतालमा विशेषगरी मध्यम र निम्नवर्गका सर्वसाधारण मुलुकभरबाट उपचारका लागि आउने गरेको प्रमुख रुपाखेती बताए ।

बहिरङ्ग र शल्यक्रियामा अन्य निजी अस्पतालको तुलनामा सस्तो रहेको अर्थाेपेडिक अस्पतालले आफ्नो वाषिर्क बजेटको १० देखि १५ प्रतिशत रकम असहाय र निम्नआयका बिरामीको सहयोगमा खर्च गर्दै आएको अस्पतालको भनाइ छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१