सुरक्षित छैनन् जार र बोतलका पानी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७१, बिहीबार १२:१९

काठमाडौँ, १ जेठ ।
‘शतप्रतिशत शुद्ध र प्रशोधित’ भन्दै जार र बोतलमा बिक्री भइरहेका अधिकांश पिउने पानी (मिनरल वाटर) पनि गुणस्तरहीन भेटिएका छन्। ‘स्वच्छ र गुणस्तरीय प्रशोधित पानी उत्पादन तथा बिक्री गर्छु’ भनेर सरकारी निकायबाट अनुमति पाएका उद्योगले गुणस्तरहीन पानी बेच्दै आएका छन्।BIK_7393_20110818090728

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रतिवेदनअनुसार यस आर्थिक वर्षमात्रै निजी क्षेत्रका २८ वटा पानी उद्योगबाट उत्पादित प्रशोधित पानीमा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने तत्त्व फेला परेको छ। कतिपयले भने अनुमतिपत्र नलिई पनि गुणस्तरहीन पानी उत्पादन गर्दै आएका छन्।

गुणस्तरीय पिउने पानी उत्पादन गर्ने नाम चलेकै उद्योगका पानीमा पनि कोलिफर्मका जीवाणु फेला परेको छ। कोलिफर्मयुक्त पानी पिउँदा जन्डिस, हेपाटाइटिस ई, झाडापखाला, डाइरियाजस्ता रोग लागेर ज्यान जाने सम्भावना हुन्छ।

काठमाडौंस्थित श्रीकृष्ण बेभरेज, दुवा फुड प्रोडक्ट एन्ड बेभरेज, काभ्रेपलाञ्चोकस्थित यती बेभरेज र वागद्वार फ्रेस मिनरल वाटरबाट उत्पादित पानी पिउन अयोग्य रहेको प्रतिवेदनमा उल्लेख छ। यीमध्ये कुनै उद्योगले उत्पादन गरेको पानी एकै वर्षमा दुईपटक गुणस्तरहीन फेला परेको छ भने कुनैले उत्पादन गरेको पानी एकै वर्ष तीनपटकसम्म पनि गुणस्तरहीन फेला परेको छ।

यस्तै शीतल जल उद्योग, क्रिस्टल ड्रिंक्स एन्ड बेभरेज, चण्डेश्वरी मिनरल एन्ड बेभरेज, सांग्रिला स्प्रिङ ड्रिंक्स एन्ड बेभरेज, आक्वा प्यासिफिक बेभरेज, सिटी मिनरल वाटर एन्ड बेभरेज, प्राची स्प्रिङ वाटर सोलुसन, शुभप्रभात बेभरेज, युनाइटेड वाटर एन्ड बेभरेज, ललितकृष्ण हिमचुली, आक्वा इनर्जी, सूर्यकुण्ड फुड एन्ड बेभरेज, एसपी ड्रिंक्स वाटर एन्ड बेभरेज र ओसियन डिंक्स वाटर नामक उद्योगबाट ‘शतप्रतिशत प्रशोधित र शुद्ध’ भनेर उत्पादित पानी पनि दूषित भेटिएको छ।

ललितपुरस्थित नेस्टली वाटर एन्ड बेभरेज, श्री आदिशक्ति भवानी घिउ उद्योग, अन्नपूर्ण स्प्रिङ एन्ड बेभरेज र प्रसिद्ध वाटर सोलुसन तथा भक्तपुरस्थित जिआर ड्रिंक्स उद्योगबाट उत्पादित पानी पनि गुणस्तरहीन फेला परेको छ।

गत आर्थिक वर्षमा काठमाडौंस्थित पशुपति स्प्रिङ वाटर, आक्वा मिनरल नेपाल, रियल माउन्ट एभरेष्ट बेभरेज, कञ्चनजंघा बेबी मिनरल वाटर एन्ड बेभरेज, निरजल रिभर्स अस्मोसिस वाटर, ग्रिनल्यान्ड मिनरल वाटर एन्ड बेभरेज, श्रीजल वाटर, डाँफे मिनरल वाटर, सांग्रिला स्प्रिङ ड्रिंकिङ वाटर, एबी बेभरेज, मञ्जुश्री गणेश हिमाल खानेपानी, श्रीकृष्ण बेभरेज, ललितपुरस्थित डल्फिन इन्डस्ट्रिज र भक्तपुरस्थित स्वस्तिक बेभरेजबाट उत्पादित पानी गुणस्तरहीन फेला परेको थियो।

तीनपटकसम्म दूषित पानी उत्पादन गरेर सर्वसाधारणलाई बेच्ने उद्योगलाई समेत सामान्य जरिबाना गराएर छाड्ने गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पटकपटक गल्ती दोहोर्‍याउने उद्योगको अनुमति खारेज गर्न अहिलेसम्म जिल्ला प्रशासन कार्यालयमा सिफारिस पनि गरेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०