दोहोरो नागरिकताको बारेमा निरन्तर आवाज उठाउछु :-ज्ञानदीप लामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ चैत्र २०७१, बुधबार १०:०५

अमेरिका,२५ चैत । एनआरएन एनसीसी, अमेरिकाको आसन्न निर्वाचनमा उपाध्यक्ष पदका लागि ज्ञानदीप लामाले उम्मेदवारी दिनुभएको छ । हाल सनफ्रान्स्सिको, क्यालिफोर्नियामा बस्दै आउनुभएका लामाले ‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने मूल नारा अर्थात दोहोरो नागरिकताको बारेमा निरन्तर जोड दिने र एनआरएन अमेरिकाको नेतृत्व मार्फत खबरदारी गरिरहने प्रतिवद्धतासहित औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । पर्सा जिल्लाको सुवर्णपुर गाविसको ज्ञानटिका माविमा बिद्यार्थी भएर अध्ययन गर्दादेखि आजसम्म निरन्तर सामाजिक गतिविधिमा समर्पित रहँदै आउनु भएका लामाले आफ्ना भावी योजनाहरु समेत सार्वजनिक गर्नुभएको छ ।

gandeep thapaएनआरएन समुदायको सहयोगका लागि आकस्मिक कोष स्थापना गर्न नेतृत्वमा रही पहल गर्ने, निरन्तर बृद्धि हुँदै गरेको नेपाली–अमेरिकन सदस्यहरुको जनसंख्यालाई एनआरएन अमेरिकामा क्रमशः समेट्दै जाने र सदस्य संख्यामा अधिकतम बृद्धिका लागि प्रयास गर्ने, दोहोरो कर अन्त्यका लागि एनआरएन अमेरिकाको वर्तमान नेतृत्वले गरिरहेको लबिङ र पहललाई निरन्तरता दिंदै नेपाल तथा अमेरिकाका दुवै सरकारसँग सशक्त पहल जारी राख्ने, एनआरएनको नेतृत्वदायी भूमिकामा रहेसम्म आफूलाई सक्रिय राजनीतिक गतिविधि र पार्टी सदस्यताबाट अलग गर्ने र एनआरएनलाई राजनीतिक गतिविधिबाट टाढा राख्न प्रतिवद्ध रहने लगायतका भावी योजनाहरु लामाले अगाडि सार्नुभएको छ ।

मातृभूमि नेपालमा वैदेशिक लगानीबारे बिद्यमान नियम, कानूनमा रहेका समस्याहरुलाई हटाउने बारे पहल गर्न सम्बन्धित निकायमार्फत पहल गर्ने, मातृभूमि नेपाल प्रवेश गर्दाको पहिलो प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिने व्यवहारमा क्रमिक सुधार ल्याउन एनआरएनका अन्य राष्ट्रिय समन्वय समितिसँग सहकार्य गरी विमानस्थलमा एक हेल्प डेस्क स्थापनाका लागि पहल गर्ने, एनआरएन परिवारका छोराछोरीका लागि नेपाली भाषा, रितिरिवाज, संस्कृति, परम्परा सिकाउनका लागि पहिलो चरणमा एनआरएन च्याप्टर मातहत भाषा पाठशाला सञ्चालनका लागि पहल गर्ने योजनाहरु समेत लामाले सार्वजनिक गर्नुभएको छ ।

प्रजातन्त्रप्रति आफ्नो आस्था र अडान अनि सामाजिक गतिविधिलाई सँगै लैजाने क्रममा नेपाल बिद्यार्थी संघको विभिन्न तहमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुभएका लामा तामाङ्ग को अपरेटिभ सोसाइटी अफ क्यालिफोर्नियाको सल्लाहकार, नेपाली जनसम्पर्क समिति, अमेरिका क्यालिफोर्निया च्याप्टरको अध्यक्ष, समितिको केन्द्रीय अधिवेशन तयारी समितिको सल्लाहकार जस्ता जिम्मेवारीमा रहेर आफ्नो तर्फबाट सक्दो योगदान पुर्याउनुभएको छ । एनआरएनको साझा मुद्दालाई समाधान गर्नसक्ने सक्षम नेतृत्व आसन्न निर्वाचनले प्रदान गर्ने आशा एवं विश्वास व्यक्त गर्दै एनआरएन एनसीसी अमेरिकाको उपाध्यक्ष पदका उम्मेदवार लामाले आफ्नो अमूल्य मत दिएर एनआरएनहरुको साझा मुद्दा समाधानका लागि आवाज बुलन्द गर्न सहयोग गर्नु हुनका लागि मतदाताहरुमा विनम्रतापूर्वक आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१