एनआरएन अमेरिकाको महाधिवेशन सकियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७१, बुधबार १२:२१

वासिंटन डीसी,११ चैत ।  गैर आवासीय नेपाल सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिकाको तेस्रो साधारण सभा तथा राष्ट्रिय महाधिवेशन संस्थालाई अझ मजबुत र फराकिलो बनाउने निर्णय गरी सम्पन्न भएको छ । उक्त साधारण सभाले सहभागीको धारणा लिई विधान पनि संशोधन गरेको छ । संस्थालाई समानुकुल र अझ मजबुत बनाउने विधान संशोधन गरिएको हो । संशोधित विधान अनुसार संस्थालाई अझ बृहत् बनाउने चार जना उपाध्यक्ष राखिने छ ।

दुई दिन सम्म सञ्चालन भएको सम्मेलनमा करिब एनआरएन अमेरिकाका झण्डै एक हजार प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएका छन् । सम्मेलनमा एक वर्षमा सदस्य सङ्ख्या अत्याधिक बढेर आकार ठुलो भयो तर, आफ्नो भूमिका कसरी सशक्त बनाउने भन्ने मुद्दामा केन्द्रित थियो । सहभागीहरुले भेला ब्यबस्थापना कमजोर अब्यवस्थित भएकोमा गुनासो गरेका थिए ।

nrn amiभेलामा लगानी विस्तार देखि नेपाल साहित्य लगायतका विषयमा चर्चा भएका थिए । सांस्कृत्तिक कार्यक्रममा ठुलो सङ्ख्यामा नेपाली कलाकारले आफ्नो प्रस्तुति गरेका थिए । उक्त भेलामा वासिंटन डीसी स्थित अमेरिकी सरकारका प्रतिनिधि, नेपाली दूतावासका अधिकारीहरू लगायत विभिन्न राज्यमा बस्ने नेपाली सहभागी थिए । करिब एक महिना पछि एनआरएन अमेरिकाको नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेकाले पनि साधारण सभा प्रति चासो बढेको थियो । नयाँ विधान संशोधन पछि निर्वाचन प्रक्रिया कसरी अगाडी बढाउने अन्योल थपिएको छ । उम्मेदवारी दिने समय यही मार्च २६ सम्म छ । महाधिवेशनले बिधान संशोधन गरी पदाधिकारीहरुमा परिवर्तन र उम्मेदवारले तिर्नु पर्ने शुल्क पनि थप घट गरेको छ । यसले पनि अन्योल बढाएको हो ।

नेतृत्वका आकांक्षी उम्मेदवारले मतदातालाई प्रभावित पार्न भेटघाट, छलफलमा व्यस्त थिए । पदाधिकारी लगायत कार्यसमितिमा जान ठुलो सङ्ख्यामा उम्मेदवारले आकाङ्क्षा देखाएका छन् । अव एक महिना एनआरएन अमेरिका नयाँ नेतृत्व चयनमा सक्रियता बढ्ने देखिएको छ । भेलाकै क्रममा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका सानुवावु सिलवालले आफ्नो समर्थन नरेन्द्र पौडेललाई रहेको जनाउंदै आफूले पछि हट्ने जानकारी दिएका थिए ।

अगामी नेतृत्वमा जान केही महिना यता देखिनै उम्मेदवारी घोषणा र प्रचार प्रसारले सुरु भएको थियो । अधिकांश पदमा एक भन्दा बढीले उम्मेदवारी घोषणा गरिरहेका छन् । अध्यक्ष देखि विभिन्न पदका उम्मेदवारहरुले अमेरिकाका विभिन्न सरहमा लगातार नेपाली समुदायसँग अन्तकृया गरिरहेका थिए । यो निर्वाचनले पनि एनआरएनप्रति अमेरिकामा चासो बढाएको छ । भेलामा थुप्रै उम्मेदवारहरुले सहभागीहरू माझ आफूलाई जिताए समुदायको हितका लागि अझ सक्रिय रूपमा काम गर्ने दाबी गरिरहेका थिए ।

दुई वर्ष अघिसम्म करिब तीन सय सदस्य रहेको एनआरएन अमेरिकामा अहिले झण्डै १२ हजार सदस्य पुगेको छ । यो सङ्ख्या विस्तारसँगै नेपालीका लागि नेपाली भन्ने नाराका साथ ७० भन्दा बढी देशमा फैलिएको विदेशमा बस्ने नेपालीको मुख्य संस्था एनआरएन केन्द्रीय तहमा पनि आफनो प्रभावकारी उपस्थित जनाउने प्रयासमा छ ।

एनआरएन अमेरिका अध्यक्ष खगेन्द्र जीसीले एनआरएन केन्द्रीय समितिमा जाने घोषणा गरेका छन् । खाडी मुलुक र मलेसिया पछि सबै भन्दा बढी नेपाली अमेरिकामा छन् । अहिले अमेरिका सबैभन्दा बढी एनआरएन सदस्य भएको देश हो । काठमाडौँमा एनआरएन भवनका लागि अमेरिकाले ३ लाख ७४ हजार अमेरिकी डलर उठाएको थियो । यस मध्ये आधा रकम नेपाल पठाईसकेको छ । यी कारणले पनि एनआरएन अमेरिका आफ्नो भूमिका बढाउने अभियानलाई तीव्रता दिएको हो ।

अमेरिकामा नेपालीको सङ्ख्या यतिनै छ भन्ने यकिन तथ्याङ्क छैन तर, विभिन्न स्रोतहरुले झण्डै ३ लाख रहेको नेपाली रहेको अनुमान छ । बढ्दो सङ्ख्या सँगै पेशागत विविधता पनि थपिएको छ । ठुला साना कम्पनीमा मात्र काम गर्ने मात्र होइन कयौँ सहरमा नेपालीले रेष्टुरेण्ट, ग्यांस स्टेसन लगायत विभिन्न व्यवसाय गरिरहेका छन् । अमेरिका बस्ने नेपालीको पनि प्रमुख मुद्दा नेपाली नागरिकताको निरन्तरता हो । अमेरिकी नागरिक बन्ने क्रम वढेकाले पनि दोहोरो नागरिकताको माग बढेको हो ।

यसबाहेक नेपालमा आफ्नो उपस्थिति कसरी देखाउने भन्ने सवाल पनि कयौँमा छ । यहाँ सिकेको ज्ञान र सिप नेपालमा कसरी लैजाने भन्ने खोजीमा पनि कयौँ नेपाली छन् । यसबाहेक यही जन्मेको नयाँ पुस्तालाई आफ्नो संस्कार सिकाउने देखि अमेरिका भित्र पनि कसरी आफूलाई स्थापित गराउने भन्ने चुनाती पनि यहाँका नेपालीले सामाना गरिरहेका छन् । नेपालीको बढ्दो सङ्ख्या सँगै थप चुनौतीहरू थपिएको लामो समय देखि अमेरिका बस्दै आएको जीसीको अनुभव छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१