परदेशीको झोलामा पैसा र कृति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ माघ २०७१, शुक्रबार ०६:५९

10537941_642829672529066_5874822716284265340_oप्रकाश पुष्पक राई/ दमन राई
धेरैलाई लाग्छ, परदेसिएका युवा सम्पत्ती कमाउनमा मात्र तल्लिन हुन्छन्, उनीहरु सँधै व्यक्तीगत सुख शयलका लागि मात्र पसिना बगाइरहन्छन् । तर हैन, कतिपय युवा बिदेशीभूमीमा साहित्य सिर्जनामा पनि उत्तिकै क्रियासिल छन् । दिनभरको काम अनि थकानबाट बचेको समयमा साहित्यीक सिर्जनामा लागेका कैयौं युवाको उदाहरणहरु छन् । रोजगारीका सिलसिलामा मलेसिया, कतार, दुबई लगायतका खाडी मुलुकमा पुगेका कतिपय युवा झोलाभरी सम्पत्ती मात्र हैन कथा, कबिता, गीत, गजल, नियात्रा, संस्मरणका ठेली बोकेर फर्किन्छन्, फर्कीरहेका छन् । यही मेसोमा लागेका छन् खोटाङका चिसाङ शेर्पा र प्रदीप राई ।
चिसाङ शेर्पाले आत्मकथा ‘उपहार सपनाकी छोरी’ र प्रदीप राईले गजल सङग्रह ‘चर्किएको ऐना’ प्रकाशनको तयारी गर्नु भएको छ ।
पत्रकारितालाई थाँती राखेर मलेसिया पुगेका शेर्पाले ‘उपहार सपनाकी छोरी’ नामक आत्मकथा प्रकाशन गर्ने तयारी गरेका छन् । दिनभर काम गरेपछि बाँचेको समयलाई सदुपयोग गर्दै लेखिएको आत्मकथा प्रकाशनको अन्तिम चरणमा पुगेको शेर्पाले जानकारी दिनुभयो । ‘दिनभरीको कामले ज्यान लखतरान थाकेको हुन्छ,’ नुनथला घर भएका शेर्पाले भन्नुभयो, ‘तर पनि रातका समयलाई नेपाली साहित्य सिर्जनामा खर्च गर्ने प्रयास गरेको छु ।’ पाण्डुलिपी लिएर केही समयपछि नेपाल आएलगत्तै आत्मकथा प्रकाशन गर्ने उहाले जानकारी दिनुभयो । आत्मकथा ‘उपहार सपनाकी छोरी’भित्र युवा पुस्ताको जीवन र भोगाईहरु समेटिएका छन् । जीवनको भोगाईलाई पर्दाफाँस गर्ने प्रयास गरिएको आत्मकथा अहिलेका युवा पुस्ताका लागि शिक्षामूलक रहेको शेर्पाको दाबी छ । हाल आत्मकथा लेखनका काम पूरा भइसकेको उहाले बताउनु भयो ।
स्थानीय हलेसी एफएममा समाचार शाखामा काम गर्नेक्रममा आमाको खुट्टाको उपचारका लागि खर्च जुटाउन शेर्पा दुई वर्षअघि मलेसिया पुगेका हुन् । आर्थिक समस्याका कारण बिदेसिएका शेर्पाले स्वदेश फर्किएपछि पुःन पत्रकारितामा क्रियासिल रहने बताउनु भयो ।
मलेसियामै रहेका बतासेका प्रदीपले गजल सङग्रह ‘चर्किएको ऐना’ प्रकाशनको तयारी गर्नु भएको छ । ८० वटा गजल समाबेश गरिने संग्रहमा वियोगान्त शेयरहरु समेटिएको राईले बताउनु भयो । उहाको गजल सङग्रह प्रकाशनको जिम्मा मञ्जरी प्रकाशन नेपालले लिएको छ । मलेसिया बसाइकैक्रममा राईको उपन्यास ‘आखिर भुल कसको थियो’ र गजल संग्रह ‘वियोग’ बजारमा आइसकेका छन् ।
बैदेसिक रोजगारीको थालनीसँगै प्रबासी सिर्जनाको फाँट पनि फैलिँदो छ । बिदेश पुगेका युवाको क्रियासिलतामा बिभिन्न साहित्यीक संघ संगठनहरु खोल्ने, साहित्यीक कार्यक्रमहरु गर्ने, पुस्तक प्रकाशन गर्ने लहरै चलेको छ । सम्पत्ती कमाउन प्रबास पुगेका युवाले झोलाभरी साहित्यीक कृतिको पोको लिएर घर फर्कनुलाई कुनै नौलो र अनौठो विषय मान्न नहुने हङकङ बसाइकाक्रममा कबिता संग्रह ‘बिरुद्धमा’ प्रकाशन गर्नुभएका कबि भोगेन राई ‘एक्ले’ बताउँछन् । देशसँग छुट्टिएपछि चुकचुकाएको मनले आफ्नो माटोमा उम्रने साहित्यका लागि ‘केही गरौँ’ भन्ने भावनाबाट प्रेरित भएर प्रबासी युवाले साहित्य सिर्जना गर्नेगरेको राईको तर्क छ । ‘आफ्नो थाँतथलो छाडेर बिरानो ठाउँमा पुगेपछि एक्लो महसुस हुन्छ, फरक वाताबरण र परिवेसमा मन उथल पुथल हुन थाल्छ, अनि लेख्न सुरु गरिन्छ,’ हङकङमा एक दशक बढि बिताएर फर्किनु भएका भोगेनले भन्नु भयो, ‘तर यसलाई भावनामा बहकिएको भन्न मिल्दैन, कतिपय सिर्जनाहरु चेतनामूलक र उत्तिकै पठनीय पनि छन् ।’ प्रबासमा कतिपय अरुको देखासिकी गर्दै लहडमा लेख्नेहरुको भीड पनि बाक्लो छ । तर, सबै श्रष्टालाई उही दृष्टिले हेर्न नहुने भोगेनको सुझाव छ । नेपाली साहित्यको उचाईका बिषयमा बिश्वभर जानकारी दिने काममा तिनै प्रबासी नेपालीको महत्वपूर्ण योगदान रहेको उहाले बताउनु भयो । ‘प्रबासी श्रष्टाहरुको सिर्जना पनि तिखारिएको हुन्छ,’ राईले थप्दै, ‘नेपाली साहित्यको बिकासमा प्रबासी सिर्जनाको योगदानलाई हामीले भुल्नु हुँदैन ।’ स्वदेशमा चाहेर पनि आर्थिक कारणले गर्न नसकिएको कृति प्रकाशनका काम बिदेश पुगेपछि गर्न सकिने प्रबासी श्रष्टाहरुको अनुभव छ । उब्रिएको समय र दुःख गरी कमाएको पैसालाई भाषा र साहित्यको क्षेत्रमा खर्च गर्ने प्रबासी युवाको कदमलाई सबैले सम्मान गर्नुपर्ने राईले बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१