सुर्खेत औलोको उच्च जोखिममा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ बैशाख २०७१, शुक्रबार १३:०९

सुर्खेत,  वैशाख । सुर्खेत औलोको उच्च जोखिममा रहेको जिल्लामा परेको छ ।

देशभरका औलोको उच्च जोखिममा रहेका ५४ गाविसमध्ये सुर्खेतका मात्रै चार गाविस परेकाले जिल्लालाई औलोको उच्च जोखिमका रुपमा लिइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका अनुसार यहाँका उत्तरगङ्गा, छिन्चु, हरिहरपुर र लेखगाउ“ गाविस औलोको उच्च जोखिममा रहेका छन् । यी गाविस वीरेन्द्रनगर नगरपालिकाको आसपास र बर्दिया जिल्लाको नजिकका गाविस हुन् ।

यी चार गाविसबाहेक जिल्लाका अन्य १६ वटा गाविसमा पनि औलोको जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका उदय विसीले जानकारी दिनुभयो ।

रामघाट, दशरथपुर, कल्यान, कुनाथरी, मालारानी, सहारे, मैनतडा, पोखरीकाडा, तातापानी गाविस औलोको मध्य जोखिममा रहेका गाविस हुन् । यस्तै तरङ्गा, बाबियाचौर, बिजौरा, घाटगाउ“, विद्यापुर र लेखपराजुल गाविस पनि औलो रोगको जोखिम रहेका छन् । तर यी गाविसमा उच्च जोखिम भने नभएको विसीले बताउनुभयो । यीबाहेकका अन्य ३० गाविसमा भने औलोको त्यति जोखिम नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयअनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म एक हजार ५७४ जनाको रगत परीक्षण गरिएकामा ७४ जनामा औलोको सङ्क्रमण देखिएको  छ । गत आर्थिक वर्ष २०६९÷७० मा ६९ पुरुष र ३८ महिला गरी १०७ जना औलो रोगका बिरामी भेटिएका थिए । औलोका कारण मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ ।

जिल्लामा औलो रोग उन्मूलन गर्नका लागि अहिलेसम्म करिब ४९ हजारभन्दा बढी झुल वितरण गरिएको छ । तर पनि यो रोगमा कमी आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टङ्कप्रसाद चापागाईंले बताउनुभयो ।

औलो रोग उन्मूलन गर्नका लागि उच्च सावधानी अपनाउन सुझाव दिँदै उहाँले सुर्खेतमा जोखिम हुनाको कारण भारत जानेको सङ्ख्या बढ्नु पनि भएको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१