तराई–मधेसमा शौचालय बनाउन विशेष अभियान सञ्चालन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ बैशाख २०७१, शुक्रबार १०:०२

कावासोती,  वैशाख । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तराई मधेस केन्द्रित विशेष सरसफाइ अभियान सुरु गरेको छ ।

पहाडी र भित्री मधेसका गाविसमा खुला दिसामुक्त अभियानले तीव्रगतिका साथ धमाधम खुला दिसामुक्त घोषणा भए पनि सोअनुरुप तराई मधेसमा गति लिन नसकेपछि सो कार्यालयले विशेष अभियान सुरु गरेको हो ।

तराई–मधेसका गाविसलाई नै लक्षित गरी सबै गाउँमा सामाजिक परिचालन गर्नका लागि दुई चरणमा ४९ जना परिचालकलाई विशेष अभियान प्रशिक्षण दिइएको कार्यालयका प्रमुख रामचन्द्र काफ्लेले जानकारी दिनुभयो । वैशाख ३ गतेदेखि ७ सम्म २५ जना र ९ गतेदेखि ११ गतेसम्म २४ गरी४९ जना परिचालकलाई अभियानबारे प्रशिक्षित गरी गाउँ पठाइएको छ । उनीहरुले वडा, गाउँ, टोल हँुदै घरघरमा पुगेर शौचालयबारे सर्वेक्षण गर्ने, शौचालय बनाउन उत्प्रेरित गर्ने, आवश्यक प्रक्रिया सिकाउने, मिस्त्री, सामग्री आदिको व्यवस्थापनमा सघाउनेलगायतका काम गर्नेछन् ।

जिल्लाको एक नगरपालिका र ७३ गाविसमध्ये तराई–मधेस क्षेत्रमा ३६ गाविस र रामग्राम नगरपालिका रहेका छन् भने पहाडी १७ र २० भित्री मधेसका गाविस रहेका छन् । हालसम्म ३८ गाविस र नगरपालिकाका एउटा वडामात्र खुला दिसामुक्त घोषणा हुन सकेको छ । जसमा तराई मधेस क्षेत्रका गाविसमध्ये सात वटा गाविस र नगरपालिकाका–३ नं वडामात्र खुला दिसामुक्त घोषणा गर्न सकिएको छ ।

विसं २०७१ असार मसान्तभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गरिने लक्ष्य निर्धारण गरिएको हँुदा यस अभियानमा पत्रकार, राजनीतिक दल, नागरिक समाज र विभिन्न गैससले सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०