सपनै रह्यो ‘ग्रिनकार्ड रहर’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ मंसिर २०७१, मंगलवार ११:२६

दाङ,१६ मंसिर । अमेरिका धेरैको सपना हो। मोहनप्रसाद वलीको पनि थियो। पूर्णिमा वलीको पनि थियो । सपना सबैको पूरा हुँदैन। मोहनप्रसाद वलीको पूरा भएन।पूर्णिमा वलीको पनि पूरा भएन।
‘दुई वर्षमा ग्रिनकार्ड बन्छ, अनि तिमी र छोरीलाई लिन आउँछु,’ मोहनप्रसादले गएको शनिबार बिहान अमेरिकाबाट फोन गरेर यसै भनेका थिए। पत्नी पूर्णिमाको अनुहारमा खुसीले कान्ति छाएको थियो।
सात समुद्रपारि अमेरिकाको न्युयोर्कबाट पतिको फोन आउँदा सुरुमा त उनी हड्बडाएकी थिइन्। सन्चो–बिसन्चो के सुन्नुपर्ला भनेर सुर्ता मान्दै रिसिभर उठाइन्। मोहनप्रसादको आवाज प्रस्ट सुनियो। आवाज सुनेरै सुर्ताउनुपर्ने केही छैन भन्ने लख काट्न सकिन्थ्यो। तै पत्नीको मन कहाँ मान्थ्यो र१ घुमाइफिराइ दसथरिका प्रश्न सोधिहालिन्। आशय एउटै थियो, ‘तपाईंलाई कस्तो छ ?’
‘मलाई सब ठिक छ,’ उनले भने, ‘आत्तिनुपर्दैन ।’
पूर्णिमालाई आफ्नो छातीबाट सय टनको भारी बिसाएझैं हल्का भयो ।
उनले दुई वर्षमै जहान (छोरी र पत्नी) लाई अमेरिका लैजाने योजना सुनाएपछि त पूर्णिमामा खुसीको सीमै रहेन। सुखद कल्पनामा हराउन थालिन । उनलाई लाग्न थाल्यो, अब दुःखका दिन धेरै छैनन्।
राम्रो सपना देखेर झल्याँस्स ब्युँझदा एकछिनसम्म मान्छेको होस फिर्दैन। उसलाई विपना र सपनाबीचको मसिनो धागो खुट्ट्याउन समय लाग्छ – विपना सपनाझैं लाग्छ, सपना विपनाझैं।
पूर्णिमालाई त्यस्तै भइरहेको छ ।
घरि गएको शनिबार बिहान पतिले फोनमा दिएको आश्वासन सपनाझैं लाग्छ, घरि त्यसको २४ घन्टा नबित्दै अमेरिकाबाट आएको सन्देश सपनाजस्तो लाग्छ, जुन सन्देशले उनका सारा सपनालाई सिसाझैं चकनाचुर पारिदियो ।
अमेरिकामा बस्ने केही नेपालीले आइतबार बिहानै फोन गरेर भने, ‘४० फिट अग्लो घरबाट खसेर मोहनप्रसादको मृत्यु भयो।’ जोसँग सुखी जिन्दगी बिताउने मीठो कल्पनामा पूर्णिमा अघिल्लो रात मस्त निदाएकी थिइन्, बिहान उनैको मृत्युको खबर सुन्नुपर्यो, त्यसयताका कुनै रात निन्द्रै परेको छैन।
कहिलेकाहीँ चौबीस घन्टामा दिन र रात मात्र हुँदैन, जीवन र मृत्यु नै हुन्छ १आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०