म्याग्दीमा तीन हजार पाँच सय निरक्षर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ बैशाख २०७१, बिहीबार १०:४४

म्याग्दी, ११ वैशाख । जिल्लामा अझै तीन हजार ५०० भन्दा बढी निरक्षर रहेको पाइएको छ ।

जिल्लाको ४१ गाविसमा १५ देखि ६० वर्ष उमेर समूहका गरी तीन हजार ६९२ जना निरक्षर रहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा एक हजारभन्दा बढीलाई साक्षर बनाउने लक्ष्य रहेको छ ।

जिल्ला शिक्षा कार्यालयले यो वर्ष पुलाचौर, रत्नेचौर, पिप्ले, पात्लेखेत र कुहूँ गाविसमा निरक्षरता उन्मूलन गर्ने तयारी गरेको छ । ती गाविसमा रहेका निरक्षरलाई साक्षर बनाउन विद्यार्थीहरू परिचालन भएका छन् ।

साक्षर नेपाल अभियान कार्यक्रम सञ्चालन भएका गाविसमा निरक्षरलाई साक्षर बनाएबापत स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयको २५ अङ्क बराबरको प्रयोगात्मक पूर्णाङ्कमा विद्यार्थीलाई १० अङ्क दिने व्यवस्था गरिएको छ । साक्षरता अभियानका लागि सरकारले माध्यमिकतहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रयोगात्मकतर्फको कक्षालाई समेत समावेश गरेको हो ।
त्यस्तै जिल्लामा निरक्षर रहेका सबैलाई साक्षर बनाई जिल्लाका ४१ गाविससहित जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने अभियानअन्तर्गत अहिले ३०० स्थानमा चलाइएको साक्षरता कक्षामा ६ हजार नवसाक्षरलाई साक्षरता शिक्षा दिने लक्ष्य लिइएको छ । तीन महिनासम्म सञ्चालन हुने साक्षरता कक्षाका लागि ३०० जना सहयोगी कार्यकर्ता परिचालन भएको विद्यालय निरीक्षक श्रेष्ठले बताउनुभयो ।

जिल्ला अनौपचारिक शिक्षा समितिमार्फत सबै गाविसमा कोटा वितरण गरी साक्षरता शिक्षा सञ्चालन भएको जिशिकाले जनाएको छ । सन् २०१५ सम्ममा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने नेपाल सरकारको लक्ष्यअनुसार अभियान तीव्र बनाइएको हो ।

आर्थिक वर्ष २०६५÷०६६ देखि ०६९÷०७० सम्म ३२ हजार ९८ जना निरक्षरलाई साक्षर बनाएको निरीक्षक श्रेष्ठले बताउनुभयो । जिल्लामा चालु वर्षमा अनौपचारिक शिक्षाका लागि रु १८ लाख १० हजार ५० बजेट खर्च हुने बताइएको छ । अनौपचारिक शिक्षाअन्तर्गत आयआर्जन कार्यक्रममार्फत जिल्लामा रहेका १९ वटा सामुदायिक अध्ययन केन्द्रलाई वार्षिक रु ५० हजार अनुदान उपलब्ध गराउने जिल्ला अनौपचारिक शिक्षा केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१