इतिहासको कालखण्डमा संसारमा साम्राज्य जमाएको बेलायत अन्ततः टुक्रिएन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ आश्विन २०७१, शुक्रबार १६:१६

बेलायत 

इतिहासको कालखण्डमा संसारमा साम्राज्य जमाएको बेलायत अन्ततः आफ्नै एक राज्य स्कटल्याण्डबाट टुक्रिने खतराबाट मुक्त भएको छ। हिजो बिहीबार स्कटल्याण्डमा भएको ऐतिहासिक जनमत संग्रहमा स्कटल्याण्डका झन्डै ४२ लाख मतदातालाई स्कटल्याण्ड संयुक्त अधिराज्य बेलायतबाट स्वतन्त्र हुने वा नहुने भन्ने प्रश्न सोधिएको थियो जसमा स्वतन्त्र नहुने भन्ने पक्षले २० लाख १ हजार ९ सय २६ (५५ प्रतिशत) मत प्राप्त गर्दै बिजय हासिल गरेसँगै एकताको गाँठो कायमै रहेको हो।
स्वतन्त्र हुनुपर्छ भन्नेतर्फ १६ लाख १७ हजार ९ सय ८९ ( ४५ प्रतिशत) मत प्राप्त भएको थियो। जनसंख्याको ९७ प्रतिशत मतदाता सूचिमा रहेका करिब ४२ लाख मतदाताले गरेको मतदानमा झन्डै ८५ प्रतिशत मत खसेको बताईएको छ। निर्वाचनका लागि तोकिएका ३२ वटा स्थानीय निकाय मध्येका स्कटिस ठूलो शहर ग्लास्गो र वेस्ट डन्बार्टनशरले मात्र स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए।
इंगल्याड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्ड मिलेर बनेको वर्तमान विश्वमा समेत प्रभाव जमाउन सफल शक्तिशाली राष्ट्र संयुक्त अधिराज्य बेलायतको स्कटल्याण्डसँगको तीन शताब्दी पुरानो एकताको भविष्य निर्धारण गर्ने भएकोले पनि विश्वको नजर आजको नतिजा तिरै अल्झेको थियो।
स्कटल्याण्डलाई अलगै राज्य बनाउने घोषणा गरेको आलेक्स साल्मनको स्कटिस न्यास्नल पार्टीको गत आम निर्वाचनमा भएको बिजयसँगै जनमत संग्रह गराउन वेस्टमिनिस्टर केन्द्र सरकारलाई दवाव परे अनुरुप यो चुनाव सम्पन्न भएको थियो। मतदानको लागि ३२ वटा काउन्टीमा राखिएका ५ हजार ५ सय ७९ मतदान केन्द्रहरुमा निर्वाचन बुथ खडा गरिएको थियो भने झन्डै ८ लाख मतदाताले हुलाक मार्फत भोट खसाल्नको लागि पहिले नै दर्ता गरि सकेका थिए। निर्वाचनमा पहिलो पटक १६ र १७ वर्षका युवा युवतीले भाग लिन पाउने प्रावधान रखिएको थियो।
समाजवादी लेवर पार्टीका समर्थकहरु निर्णायक हुने ठानिएको चुनावको अन्तिम चरणमा स्वतन्त्रता पक्षधर विजय नजिक रहेको मत सर्वेक्षणले देखाउँदा केन्द्र सरकार र मुख्य पार्टीका नेताहरु चुनावी दौडाहामा हाम फालेका थिए। अलग्गिन नहुने अभियानको नेतृत्व गरेका पूर्व बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनको निर्वाचनको पूर्वसन्ध्याको भाषण निकै आक्रामक र तथ्यपरक भईरहँदा अनिर्णित मतदाताको मन जित्न सक्ने आंकलन समेत गरिएको थियो।
स्वतन्त्रता पक्षधर हरुले केन्द्र सरकारमाथि स्कटिसले साधन स्रोतको शोषण गरेको आरोप लगाइरहँदा एकताका पक्षधरहरुले भने एकतामै शक्ति रहेको र छुट्टीएमा अर्थतन्त्रनै धरापमा पर्न सक्ने तथा सिमा, सुरक्षा एबं जन सरोकारका आधारभूत सेवा सुबिधा प्रदानमा समेत असर पर्ने तर्क गरेका थिए।
वेस्टमिनस्टर सरकारले भने आफ्नै पार्लियामेन्ट रहेको स्कटल्याण्डलाई थप अधिकारहरु दिन सकिने बताएको थिए। सन् १९७९ र १९९७ स्वतन्त्रताको लागि भएको जनमत संग्रह असफल भए पश्चात १९९८ मा केहि अधिकारहरु हस्तान्तरण गर्दै स्कटिस संसद्को स्थापना गरिएको थियो।
बेलायतकी महारानीले यो नतिजाको औपचारिक लिखित बक्तब्य जारी गर्ने छन्। पराजयको नतिजा स्वीकार गर्दै स्वतन्त्रता पक्षधर नेता आलेक्स साल्मनले अब वेस्ट्मिनस्टरले आफ्ना प्रतिज्ञाहरु पूरा गर्नुपर्ने बताएका छन भने बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले नतिजा प्रति खुसि ब्यक्त गर्दै अब एक भएर अघि बढनुपर्ने बेला आएको बताए।
करिव ५/ ६ हजार नेपालीको अनुमानित बसाई रहेको स्कटल्याण्डका अधिकांश नेपाली अर्थतन्त्र र अन्य सवाललाई लिएर एकताको पक्षमा थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१