दुईवटा बैठक सफल र सर्वसम्मत सम्पन्न गरेपछि ओलीजीले बदला लिन खोज्नुभयो’ : प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७७, बिहीबार ०५:५२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग बदला लिन खोजेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरु विधि, प्रक्रियाको बहसमा लागे पनि ओलीले बदला लिनेगरी काम गरेको आरोप लगाए ।

दुईवटा बैठकपछि ओलीले देशव्यापी भेला गरेर आफूविरुद्ध प्रहार थालेको बताए । उनले भने, ‘मैले मंसिर ४ गतेको सहमतिपछि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको अध्यक्षता गरे । त्यो बैठकमा जनवादी छलफल भएको थियो । त्यो बैठकले देशभरबाट आएका साथीहरुमा उत्साह थपेको थियो । तर ओलीजीलाई त्यो विडम्बना बन्न पुगेछ । अब यसरी हुँदैन भनेर उहाँहरुले छुट्टै भेला गरेर पोलिसी सिफ्ट गर्नूभयो ।’

सचिवालय बैठकका सर्वसम्मत निर्णय कार्यान्वयन नगरेको पनि उनले स्मरण गरे । उनले भने, ‘उहाँले पूर्व एमालेहरुलाई एक बनाउनुपर्छ । पूर्वमाओवादीमा पनि तान्नुपर्छ र प्रचण्डमाथि आक्रमण गर्नुपर्छ भन्नुभयो । मैले गरेका निर्णयहरु उल्ट्याउने, मसँग भेट्न गएकै कारण अपमानित गर्नेदेखि पार्टी बैठकमा कुर्सी हटाउने कामसमेत भयो । पार्टी एकताका लागि मैले अपमान सहेर पनि बसेँ । त्यो निषेधात्मक सोच र अरुलाई अपमानित गर्दा आनन्द मान्ने प्रवृत्ति थियो ।’

ओलीले पार्टी फुटाउनका लागि विभिन्न प्रयास गरेको बताउँदै प्रचण्डले अझै पनि पार्टी एकताका लागि प्रयास गर्ने बताए । उनले भने, ‘हामीले अहिले पनि एकता अक्षुण राख्न चाहन्छौं तर यो हाम्रो हातमा मात्र रहेन । त्यसैले खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार रहनुपर्छ । मैले त उदारतापूर्वक र झमेला पनि हुने देखेर मंसिर ४ गतेको सहमति गरेको हुँ । पाँचै वर्ष चलाउन भनेकै हो । मलाई त प्रधानमन्त्री हुने हतारो पनि छैन, रुची पनि छैन ।’

अहिलेको विवादमा गम्भीर सैद्धान्तिक विषय रहेको प्रष्ट पारे । उनले भने, ‘पार्टी मार्क्सवाद, लेनिनवादका आधारमा निर्देर्शित पार्टी बनाउने कि बुर्जुवा मान्यतालाई पक्रिएर जाने ? पार्टीलाई निश्चित राजनीतिक मान्यतामा संगठित गर्ने कि अराजक भीड बनाउने ? पार्टीको अधीनमा व्यक्ति हुने कि व्यक्तिको अधीनमा पार्टी ? विवेकले सत्ता चलाउने कि सत्ताले विवेक ? र सामूहिक निर्णय व्यक्तिगत उत्तरदायी कि व्यक्तिगत निर्णय को सामूहिक जिम्मेवारी ? भन्ने गम्भीर बहस चलिरहेको छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१