राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ श्रावण २०७७, मंगलवार ०५:०३

काठमाडौँ । सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रालयले गठन गरेको सिफारिस समितिले सिलवाल सहित तीन जनाको नाम सदस्य सचिवमा सिफारिस गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री जगतविश्वकर्माले प्रस्ताव गरेको नाममा मन्त्रीपरिषद्ले सिलवाललाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । समितिले सदस्य सचिवका लागि सिलवाल सहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो ।

सरकारले झण्डै एक बर्ष अघि सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो । तर राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै सदस्य सचिव पदको पद खारेज भएको थियो । मन्त्रालयले नयाँ ऐन अनुसार सदस्य सचिवको नियुक्ति प्रक्रिया अघि बढाएको थियो ।

पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट छनोट भएको सदस्य सचिवमा मन्त्रालयले सिलवालको नाम समावेश गर्दै मन्त्रीपरिषद्मा पेश गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले रूचाएका र विश्वास गरेका सिलवालनै सदस्य सचिवको रुपमा आउने धेरैको विश्वासको थियो । सोही अनुसार मन्त्रीपरिषद्को बैठकले सिलवालको नामलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सम्पन्न गरेर प्रधानमन्त्रीको मन जितेका सिलवालले प्रधानमन्त्रीसंगै परामर्श गरेर पुन सदस्य सचिवको दौडमा उत्रिएका थिए । पहिलो पटक सदस्य सचिवको रुपमा राखेपको कमाण्ड सम्हाल्न आएका सिलवालको दोस्रो कार्यकाललाई थप चुनौतीपूर्ण मानिएको छ ।

संघीय संसदले पारित गरेर भर्खरै कार्यान्वयनमा आएको खेलकुद विकास ऐनलाई कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी सिलवाल समक्ष रहेको छ । यस्तै, बैठकले राखेपको उपाध्यक्ष शिव कोईरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । खेलकुद महासंघका नेताहरुको तिव्र लबिङ र प्रधानमन्त्रीकै विश्वास पात्रहरुको जोडबलमा कोईरालालाई राखेपको उपाध्यक्षमा नियुक्त गरिएको हो । कोईराला नेकपाको खेलकुद महासंघका सह संयोजक हुन् । उनी नेकपाभित्रका पूर्व माओवादी केन्द्रका नेता हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१