लकडाउनको उल्लंघन गर्दै प्रधानमन्त्रीको अ‍ोली पक्षमा प्रदर्शन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७७, बिहीबार ०५:२५

काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको लक डाउनको उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।

प्रधानमन्त्री ओलीलाई पार्टीभित्रैबाट राजीनामा दिन दबाब आएपछि ओली समर्थक नेता कार्यकर्ताहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी समितिका सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो ।

सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन निर्देशन दिँदै कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भने पनि प्रधानमन्त्री ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।

बुधबार काठमाडौं उपत्यकाको कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा लगायतका ठाउँमा प्रदर्शन भएको छ । अत्यावश्यक सेवा क्षेत्र खुला भए पनि लकडाउन पुरै खुलेको छैन । पछिल्लो समय उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढे पनि सडकमा प्रदर्शनकारीहरुको भिड देख्न सकिन्छ ।

प्रदर्शनमा सहभागीहरुले ‘पार्टी एकता जिन्दावाद’, आइएम विथ केपी ओली’, ‘राष्ट्रवादी सरकार जिन्दावाद’, ‘जनताको चाहना, सरकार परिवर्तन गर्न पाइँदैन’, ‘भारतीय हस्तक्षेत्र बन्द गर, सरकार ढाल्न पाइँदैन’, ‘मेरो भोटको अधिकार ५ वर्षको स्थायी सरकार’ लेखिएका प्लेकार्ड बोक्दै नारा लगाएका छन् ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको छ । आजका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विवाद समाधानका लागि निरन्तर वार्तामा बसिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१