ओली-प्रचण्डको डेढ घन्टा भेटवार्ता : ओली भन्छन्, ‘प्रदर्शन हुन्छ, सबैलाई देखाइदिन्छु’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७७, बिहीबार ०५:१५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज डेढ घन्टा भेटवार्ता भएको छ । आफ्नै पार्टीका नेताहरुलाई भारतीय दलाल भन्दै सडकमा भइरहेको प्रदर्शनबाट सुरु भएको संवाद अन्तिममा अर्को वार्ताको समयसमेत अनिश्चित बनेर टुंगिएको छ ।

बेलुकी ५ बजे सुरु भएको वार्ता बेलुकी ६:३० बजे सकिएको थियो । भेटवार्ताका क्रममा आज ओलीनिकट नेता, कार्यकर्ताले देशभर गरेको प्रदर्शनका विषयबाट समग्र विषय प्रवेश भएको थियो । तर, अन्तिमसम्म पुग्दा सहमति उन्मुख भन्दा पनि अर्को वार्तासमेत टुंगोमा नपुगेको सचिवालय सदस्यहरुले बताएका छन् ।

सुरुमा प्रचण्डले आफ्नै पार्टीका नेताहरुलाई सडकमा गाली गर्न लगाएर के गरेको ? भनेर ओलीलाई सोधेका थिए । त्यसपछि ओलीले प्रदर्शनलाई स्वभाविकरुपमा लिनुपर्नेमा जोड दिएका थिए ।

सुरुवातमा प्रचण्डले भने, ‘यो पञ्चकालीन शैलीमा देशभर प्रदर्शन गर्न लगाएर तपाईँले के गर्न खोज्या ? यो राम्रो भएन । आफ्नै पार्टीका नेतालाई विभिन्न आरोप लगाएर पार्टी एक ठाउँमा हुन्छ ? मिलाउँ भनेर मैले गरेको प्रयास कसरी सफल होला ?’

ओलीले लगत्तै जवाफ फर्काए । उनले भने, ‘आफ्नो नेतालाई जबरजस्ती फाल्न खोजेपछि प्रदर्शन हुनु स्वभाविक हो । पार्टी एकता कसरी हुन्छ ? प्रदर्शन हुँदै जान्छ । यस्तैले त हो नि अगाडि बढ्ने । देखाए भो नि आफ्ना पनि सडकमा । सबैलाई देखाइदिन्छु, देखाउनलाई त प्रदर्शन भएको होला ।’

पार्टी एकता बचाउनु पर्छ भनेर लागेको स्मरण गर्दै प्रचण्डले भने, ‘कहिले पार्टी फुट्यो भन्नु हुन्छ । कहिले पार्टी दर्ता गर्न भन्नुहुन्छ । कहिले अध्यादेश ल्याउने तयारी गर्नुहुन्छ । कहिले आफ्नै पार्टीको बैठक छाड्नु हुन्छ । यसरी कसरी एकता कायम हुन्छ ? तपाईँको योजना के हो ?’

त्यसको पनि ओलीले जवाफ फर्काए । उनले भने, ‘सकेको गर्नुस् तपाईँहरुले पनि मैले पनि गर्छु । तपाईँहरुले कारबाही गर्नुस् मैले पनि देखाइदिन्छु व्यवहारबाट । पार्टी एकता अब हुँदैन । कसरी हुन्छ एकता ?’

प्रचण्डले आवेश र आक्रोशले कुनै पनि कुरा नहुँने भएकाले अहंकार र घमण्ड त्याग्न ओलीलाई आग्रह गरे । उनले भने, ‘तपाईँमा अहंकार र घमण्ड भरिएको छ । त्याग्नुस् राम्रो हुन्छ । आम कार्यकर्ता र जनताको भावनाले गर्दा एकताकै पक्षमा लागेको छु । सबैकुरा त्यागेर मात्र यहाँसम्म आएको हो । तपाईँले त कुर्सीको स्वार्थमात्र हेर्नुबाहेक के गर्नुभयो पार्टी एकताका लागि ? त्याग भन्ने पनि हुन्छ । जहिल्यै घमण्ड र अहंकार ?’

ओलीले छलफलका क्रममा अहिले जसरी पार्टी एक ठाउँमा नहुने प्रष्ट पारेका छन् । उनले भने, ‘महाधिवेशन कुरेर एकल अध्यक्ष बन्नुस् । फेरि चुनाव लडेर प्रधानमन्त्री बन्नुस् । अब यो पार्टी एक हुँदैन । तपाईँसँग भन्दा पनि अन्य वरिष्ठहरुका क्रियाकलापले पहिले पनि हैरान थिए, अहिले झन थपिएको छ ।’

सरकारको काम अहिलेसम्मकै राम्रो भएको दावी पनि ओलीले गरेका थिए । उनले प्रचण्डसँगको भेटवार्तामा भने, ‘कोरोनाको व्यवस्थापन दक्षिण एसियामै राम्रो गरिएको छ । विकासको राम्रो सुरुवात भएको छ । सडकहरु चिल्ला भएका छन् । तर, दुई चारजनाले बैठकमा केही भएन भनेर उफ्रिन्छन् । सरकारको काम जनताले देखेका छन् ।’

भनाभनबाट सुरु भएको ओली प्रचण्ड वार्ताकै क्रममा ओली उठेर हिँडेपछि प्रचण्ड पनि बालुवाटारबाट बाहिरिएका थिए । सकरात्मक छलफल अगाडि बढेको भने पनि अर्को भेटवार्ताको मितिसमेत तय नभएरै आजको भेटवार्ता सकिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१