खेलकुदमन्त्री सुनारको चुनौती- कसैबाट एक रुपैयाँ लिएको भए प्रमाणित गरेर देखाउनुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ जेष्ठ २०७७, मंगलवार ०५:१८

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले एकजना सांसदले आफ्नो प्रतिष्ठामा आँच पुर्याउने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिलाई प्रमाणित गर्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिने क्रममा मन्त्री सुनारले सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिको इज्जत, प्रतिष्ठा, इमान र छविलाई बिनाआधार कसैलाई धमिल्याउन छुट नभएको बताए । उनले विनाप्रसंगका विषय जोडेर मन्त्रीलाई विवादमा तान्न खोज्नु उचित नहुने टिप्पणी गरे ।

‘सार्वभौम संसदको यो रोष्टममा उभिरहँदा आज म अत्यन्तै गम्भीर र दुःखी छु । एकजना माननीय सदस्यले पर्सा वीरगञ्जको नारायणी रंगशालाबारे बोल्दै गर्दा माननीय मन्त्रीज्यूलाई एन्फाले पनि बढा माया गरेको छ । सुन्नमा आएको छ कि १७ करोड रुपैया एन्फाले पनि उहाँलाई दिएको छ भनेर भन्नुभयो ।’ उनले भने, ‘माननीयज्यूले के भन्न खोज्नुभएको हो ? आसय के थियो ? माननीय ज्यूले नै स्पष्ट गर्नुपर्यो । म सम्माननिय सभामुख महोदय मार्फत अनुरोध गर्न चाहन्छु ।’

मन्त्री सुनारले आफूले कोही कसैबाट एक रुपैयाँ नलिएको भन्दै आफूमाथि लगाएको आरोप प्रमाणित गरेर देखाउन ती सांसदलाई चुनौती दिए । उनले एन्फा एकेडेमी स्थापनाका लागि भएको कामबारे आफूलाई औपचारिक जानकारीसम्म नभएको स्पष्ट पारे ।

मन्त्री सुनारले सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिको सार्वजनिक जीवन नभई निजी जीवन पनि हुने र सार्वजनिक जीवनमा रहेकै आधारमा व्यक्तिको इज्जत प्रतिष्ठा इमान र छबिलाई बिनाआधार कसैले धमिल्याउन नपाउने उल्लेख गरे । उनले आफ्नो इमान्दारिता र खेल क्षेत्रमा प्राप्त गरेको सफलतामाथि प्रहार गरी बद्नाम गराउने काम गरिएको भन्दै ती सांसदको अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण पनि गराए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१