आगामी वर्ष सात लाखभन्दा बढीलाई रोजगारी सिर्जना गर्छौं : अर्थमन्त्री खतिवडा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७७, शनिबार ०५:२१

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न सरकारले बजेटमार्फत करिब ६० अर्ब रुपैयाँ खर्च गर्न लागेको बताएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई उकास्न विभिन्न कार्यक्रममार्फत ५५ अर्बदेखि ६० अर्ब रुपैयाँसम्म खर्च गर्ने गरी कार्यक्रम ल्याइएको उनले बताए ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले सरकारले बजेटमार्फत कोरोनाका कारण असर परेको अर्थतन्त्रलाई माथि उकास्न विभिन्न कार्यक्रमबाट राहतको व्यवस्था गरेको बताए । आर्थिक क्रियाकलापलाई पुँजी क्षय हुन नदिन र उद्योगी व्यवसायीको मनोबल माथि उठाउन सामाजिक कार्यक्रम र राहतका क्षेत्रमा ठूलो आकारको बजेट छुट्याइएको मन्त्री खतिवडाले भनाइ छ ।

उनले राहतको प्याकेज होमोजोनस नहुने र राहत नगदमा, छुटमा, प्रोत्साहनमा, सस्तो ब्याजमा दिइने ऋणमा, बीमा शुल्कमा दिइने छुट र कर छुटमा दिइएको प्रष्ट्याए । बजेटले रोजगार सिर्जना गर्ने, उद्योग व्यवसायलाई सञ्चालन गर्ने, र नयाँ लगानी बढाउने विषयमा सम्बोधन गरेको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ३ अर्ब, विद्युत् छुटमा ८ अर्ब, सहुलियतपूर्ण कर्जाका लागि १४ अर्ब, पुनर्कर्जाका लागि २० अर्ब रुपैयाँ खर्च हुने जानकारी दिए । यस्तै, कर छुटमार्फत साढे ६ अर्बको राहत मिल्ने र खाद्यान्न बिक्री वितरणमा १० प्रतिशत छुट दिँदा ५० करोडभन्दा बढी रकम खर्च हुने मन्त्री खतिवडाले बताए ।

बजेटमा ७ लाख भन्दा बढीलाई रोजगारी सिर्जना गर्ने गरी कार्यक्रमहरु समावेश गरिएको अर्थमन्त्री खतिवडाले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम, साना किसान कर्जा कार्यक्रम, युवा स्वरोजगार, गरिवका लागि लघु उद्यम कार्यक्रम, वन पैदावारसम्बन्धी कार्यक्रम, गरिवी निवारण कोष, प्राविधिक व्यावसायिक तालिम, सीपमुलक कार्यक्रम लगायतबाट रोजगारी बढाउने गरी बजेट विनियोजन गरिएको बताए ।

आन्तरिक उत्पादनलाई राजस्वको मुख्य आधार बनाउने र आयातित बस्तुमाथिको निर्भरतालाई कम गर्दै जाने नीति बजेटले लिएको बताए । कोरोना भाइरसका कारण आन्तरिक आर्थिक क्रियाकलाप संकुचित भएको अवस्थामा थप करको बोझ नबढाइएको तर यथावत राखिएको अर्थमन्त्री खतिवडाले बताए ।

यस्तै, एक दर्जन वस्तुहरुको अन्तशुल्क घटाइएको समेत उनले बताए । भन्सारतर्फ आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा फरक पारिएको उहाँले बताउनुभयो । तयारी वस्तु भन्दा कच्चा पदार्थको भन्सार दर एक तह कम गरिएकोे बताए ।

पेट्रोलियम पदार्थ र सुनचाँदीको मूल्यलाई भने भारतसँगको मूल्यमा एकरुपता ल्याउनको लागि भन्सार दर बढाइएको बताए । भन्सार दर बढाइएपनि पेट्रेलियम पदार्थको मूल्य तत्काल नबढ्ने उनले स्पस्ट पारे । उनले पेट्रोलियम खपत कम गर्नका लागि विद्युतीय सवारी साधन आयात खुकुलो पारिएको तर महँगो विद्युतीय गाडी आयात हुँदा दुई वर्षको पेट्रोलियम आयात धान्ने पैसा बाहिरिएकोले कर बढाइएको प्रष्टीकरण दिए ।

उच्च आर्थिक वृद्धि गर्न लगानी बढाउनु पर्ने र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने गरी बजेट आएको उनले बताए । जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखी खर्चको प्रकृति बढेकाले आगामी आर्थिक वर्ष आर्थिक विकासलाई तीव्र पार्नुपर्ने चुनौती रहेको समेत मन्त्री खतिवडाले बताए । त्यसका लागि छिटो प्रतिफल दिने, आगामी आर्थिक वर्षभित्रमा सम्पन्न हुने आयोजनाका लागि बजेट विनियोजन गरिएको उनको दाबी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१