प्राथमिकतामा परेन राष्ट्रिय खेल भलिबल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७७, बिहीबार १०:४५

काठमाडौँ । जेठ ८ गते, भलिबल दिवस । तीन वर्षअघि २०७४ जेठ ८ गते नेपाल सरकारले राष्ट्रिय खेल घोषणा गरेसँगै भलिबलले नयाँ पहिचान पाएको हो ।

राष्ट्रिय खेल मानिएसँगै भलिबलमा विकासको अपेक्षा गरिएको थियो । भलिबल खेल राष्ट्रिय खेलमा सूचीकृत हुँदा खेलाडीमा जुन खुसी देखिएको थियो, त्यसको अनुभूति भने तीन वर्षसम्म भएको छैन ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण यो वर्षको भलिबल दिवसमा कुनै औपचारिक कार्यक्रम छैन । पदाधिकारीहरू र युवा तथा खेलकुद मन्त्रालयले अनौपचारिक शुभकामना अदान–प्रदान गरेर भलिबल दिवस मनाउने भएका छन् ।

राष्ट्रिय खेलको मान्यता पाएको तीन वर्ष बितिसक्दा किन एउटा कर्भडहल पनि बन्न सकेन ? राष्ट्रिय खेलको मान्यता पाएपछि खेल र खेलाडीका लागि के फरक पर्‍यो ? नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा भलिबलले राष्ट्रिय खेलका रूपमा पाउनुपर्ने कुनै पनि सुविधा राज्यबाट नपाएको बताउँछन् । उनले भने, ‘राष्ट्रिय खेल भनेर के गर्नु ! हामीसँग एउटा कर्भडहल पनि छैन । त्रिपुरेश्वरको कर्भडहलमा क्युमा बस्नुपर्छ।’

नेपालले पहिलोपटक आयोजना गरेको एभीसी सेन्ट्रल जोन पुरुष भलिबल कभर्डहल नहुँदा लगनखेलस्थित नेपाली सेनाको तालिम केन्द्रमा आयोजना गरिएको थियो ।

गत मंसिरमा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदको अभ्यासमा खेलाडीहरुले समस्या झेल्नुपरेको थियो ।

राष्ट्रिय खेल भनिए पनि न्युनतम पूर्वाधार मानिने एउटा कभर्डहल समेत नहुँदा खेलाडी चिन्तित देखिएका छन् । राष्ट्रिय भलिबल टोलीका कप्तान इम राना भलिबलले राष्ट्रिय खेलको पहिचान पाउनुअघि र पछिमा पूर्वाधार विकास र खेलाडीका पक्षमा खास फरक नपरेको बताउँछन् ।

कप्तान रानाले भने, ‘राष्ट्रिय खेल भएपछि सबैले महसुस गर्ने गरी केही पनि परिवर्तन भएको छैन, न कर्भडहल छ न खेलाडीका लागि कुनै सुविधा छ ।’

पछिल्लो समय नेपालको भलिबल खेल राम्रो हुने क्रममा रहे पनि अभ्यास गर्ने र खेल्ने कभर्डहल नहुँदा समस्या भएको रानाको भनाइ छ । उनी संघको कामसँग भने सन्तुष्ट छन् । उनी भन्छन्, ‘संघले अन्तर्राष्ट्रिय सहभागिता बढाएको छ । सरकारसँग हामीले बाह्रै महिना अभ्यास गर्न सकिने सुविधा सम्पन्न कभर्डहल मागेको हौँ । अहिलेसम्म पाएका छैनौँ ।’

भलिबल खेलको विकासका लागि युवा तथा खेलकुद मन्त्रालय सकारात्मक भए पनि प्राथमिकतामा नराख्दा स्थिति जस्ताको तस्तै रहेको अध्यक्ष शर्मा बताउँछन् ।

‘नेपाली भलिबलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (आईओसी) ले राम्रै सहयोग गरिरहेका छन् । मन्त्रालयले राष्ट्रिय खेलको विकासमा कुनै पनि योगदान दिएको छैन,’ अध्यक्ष शर्माले भने, ‘मन्त्रालयले सधैँ आश्वासनमात्रै दिइरह्यो । तीन वर्ष पूरा भयो अहिलेसम्म पाँच पैसा सहयोग गरेको छैन ।’

गत कात्तिक अन्तिमतिर एक औपचारिक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सुविधा सम्पन्न भलिबल कर्भडहलका लागि जग्गा व्यवस्थापनसहित कभर्डहल निर्माणमा सहयोग गर्ने घोषणा गरेका थिए ।

मन्त्रीको घोषणापछि राखेप सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा तीन ठाउँमा कर्भडहलका लागि जग्गा हेरेको अध्यक्ष शर्माले बताए ।

कीर्तिपुर, बूढानीलकण्ठ र गोदावरीमा भलिबल कर्भडहलका लागि जग्गा हेरे पनि त्यसको टुङ्गो लाग्न नपाउँदै कोरोना भाइरस (कोभिड–१९) को महामारीले देश लकडाउन भएपछि काम रोकिएको उनको भनाइ छ ।

भलिबल दिवसमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले भलिबल खेलाडी, पदाधिकारी र प्रशंसकलाई शुभकामना दिँदै आर्थिक वर्ष २०७७/७८ मा काठमाडौँ उपत्यकामा सुविधा सम्पन्न कभर्डहल बनाउन बजेटको व्यवस्थापन गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

मन्त्री विश्वकर्माले खबरहबसँग भने, ‘यस वर्ष सरकारले भलिबल खेललाई महत्वका साथ अगाडि बढाउने छ । हामीले काठमाडौँ उपत्यकामा भलिबल कोर्टको आवश्यकता महसुस गरेका छौँ । आर्थिक वर्ष २०७७/७८ भित्र सकिने गरी सुविधा सम्पन्न कर्भडहल बनाउन बजेटको व्यवस्थापन गरिनेछ ।’

भलिबल संघ संरचनागत हिसाबले देशभर पुग्न सकेको छैन । संघले भलिबलको प्रादेशिक र जिल्ला संरचनाअनुसार आधारभूत तहबाट खेलाडी उत्पादन गर्न सकेको छैन ।

सरकारले देशभरका ७५३ वटै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने योजना बनाएको छ । सोहीअनुसार चालु आर्थिक वर्षमा २८४ पालिकामा खेलग्राम निर्माणको काम चलिरहेको मन्त्री विश्वकर्माले बताए । स्थानीय तहमा खेलग्राम निर्माण भएपछि भलिबलको विकासमा पनि मद्दत पुग्ने उनको भनाइ छ ।

यही वर्ष महिला भलिबलमा पहिलोपटक नेपालले अन्तर्राष्ट्रिय स्वर्ण पदक हासिल गरेको छ । बंगलादेशमा भएको पहिलो संस्करणको एसियन भलिबल फेडेरेसन (एभिसी) सेन्ट्रल जोनमा स्वर्ण पदिक जितेर नेपाली महिला टोलीले इतिहास रचेको थियो ।

तेह्रौँ दक्षिण एसियाली खेलकुदमा महिला टोलीले पहिलोपटक रजत पदक हासिल गर्‍यो ।

पुरुष टिमले भने पछिल्ला अन्तर्राष्ट्रिय खेलमा राम्रो नतिजा हात पार्न सकेन । काठमाडौँमा भएको सागमा नेपाल पदकविहीन भयो । पूर्वाधार बनाएर खेलाडीलाई अभ्यास र अन्तर्राष्ट्रिय खेलको अवसर दिने हो भने प्रदर्शनमा सुधार हुने कप्तान इम राना बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१