व्यवसायीका समस्या समाधान नभए भयावह अवस्था आउँछ : हान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०७७, मंगलवार ०५:२७

काठमाडौं । होटल संघ नेपाल (हान)ले होटल व्यवसायीका समस्या सम्बोधन नभए भयावह अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

६ महिनासम्म होटल बन्द गर्ने गरी गरेको निर्णयप्रति नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असहमति जनाएपछि हानले यस्तो चेतावनी दिएको हो । आइतबार हानले ६ महिना होटल व्यवसाय बन्द गरी श्रमिकहरुलाई १२ दशमलब ५ प्रतिशत तलब दिने र त्यसमा असहमति जनाए कामदार नै कटौती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति असहमित जनाउँदै सरकारले हानसँग सोमबार छलफल गरेको थियो ।

छलफलमा हानका पदाधिकारीहरुले होटल व्यवसायी र श्रमिक दुबै पक्षका कुराहरु सम्बोधन नभए भयावह अवस्था सिर्जना हुने चेतावनी दिएका छन् । विश्वका धेरै होटल र पर्यटन व्यवसाय बन्द हुँदा कर्मचारी कटौती गरिरहे पनि नेपालमा त्यो अवस्था सिर्जना हुन नदिन उचित निर्णय हुनुपर्ने हानले बताएको छ ।

अहिलेको समस्यालाई सबैले इमानदारीपूर्वक सम्बोधन गर्नुपर्ने होटल संघ नेपाल (हान) का कानुनी सल्लाहकार गान्धी पण्डितले बताए । होटल व्यवसायीहरुको समस्यामा आँखा चिम्लेर बसे अन्य क्षेत्रमा पनि आगो सल्किन सक्ने चेतावनी उहाँले दिए ।

सोमबार हानका पदाधिकारी र सरकारी पक्षबीच ८, १० महिनासम्म होटल व्यवसाय बन्द भए के गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको उनले बताए । लामो समय होटल व्यवसाय बन्द हुने अवस्थामा सरकारले गर्न सक्ने सहयोगका विषयमा पनि छलफल भएको पण्डितले बताए । व्यवसायी र श्रमिकहरु दुबै पक्षलाई राहत पुग्नेगी सहमतिमा पुग्न सकिने संकेत आजको छलफलबाट मिलेको उनको भनाइ छ ।

अर्को बैठक बैशाख २९ गते बस्ने भएको छ । हानले आइतबार आगमी असोज मसान्तसम्म होटल व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । पूर्ण रुपमा होलट बन्द हुने अवस्थामा कामदारलाई १२ दशमलब ५ प्रतिशत मात्रै तलब दिने तर कामदारले त्यसमा असहमति जनाए आंशिक वा पूर्ण रुपमा कामदार कटौतीको प्रकृया सुरु गर्ने निर्णय पनि गरेको थियो । कोभिड—१९ को असर अहिले होटल व्यवसायमा पनि परेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०