बलिउड अभिनेता इरफान खानको निधनको खबरले बलिउड मात्र हैन, संसारभर रहेका फ्यान दुःखी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७७, बिहीबार ०५:२२

काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधनको खबरले बलिउड मात्र दुःखी छैन । संसारभर रहेका उनका फ्यान दुःखी छन् । उनी यस्ता कलाकार हुन्, जसले एकपछि अर्को दमदार फिल्म दिए । बलिउड मात्र होइन, हलिउड फिल्ममा पनि इरफानले काम गरे ।

उनको अन्तिम फिल्म ‘अङ्ग्रेजी मिडियम’ भयो । यही फिल्मसँगै उनले आफ्नो फिल्मी करिअरसँगै जीवनबाट पनि विदा भए ।

चार दिनअघि मात्र आमा गुमाएका इरफानको निधनको खबरले बलिउड स्तब्ध बनेको छ । ५३ वर्षीय इरफान बलिउडमा थोरै फिल्ममा अभिनय गरेर पनि चर्चामा थिए । उनको चर्चा हलिउडमा समेत हुने गर्छ ।

इरफानले ‘सलाम बम्बे’, ‘कमलाकी मौत’, ‘एक डाक्टरकी मौत’, ‘लाइफ अफ पाई’, ‘लञ्च बक्स’, ‘पान सिंह तोमर’, ‘बिल्लु’, ‘हसिल’, ‘तलबार’ लगायतका फिल्ममा काम गरेका छन् ।

उनले अभिनय गरेका दुई फिल्म ‘स्लमडग मिलिनियर’ र ‘लाइफ अफ पाई’ ले ओस्कर अवार्डको केही विधामा अवार्ड हात पारेका थिए ।

इरफान लामो समयदेखि क्यान्सरबाट पीडित थिए । बुधवार मुम्बईस्थित एक अस्पतालको सघन कक्षमा उनले अन्तिम सास लिए । उनको निधनपछि बलिउड तथा नेपाली कलाकारले इरफानलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

इरफान वि.सं. २०६७ सालमा नेपाल आएका थिए । उनले त्यतिबेला नागरिक दैनिकसँगको अन्तर्वार्ताका क्रममा भनेका थिए – नेपालीहरु यति आकर्षक होलान् भन्ने मैले अनुमान गरेको थिइनँ ।

इरफानको निधनको खबरले उनका मित्र सुनील पोखरेल स्तब्ध भएका छन् । उनले फेसबूकमा लेखेका छन् – प्रिय साथी इरफान, विदा । रेस्ट इन पिस । आई अलवेज रिमेम्बर यु ।

इरफानलाई अरू कलाकारले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘इरफान खान अभिनयको दुनियाँमा सधैं बाँचिरहने छन्,’ हरिवंश आचार्यले लेखेका छन् ।

‘एउटा थेसपियन एक्टरको महाप्रस्थान । तिम्रा मन छुने स्पोनटेनियश अभिनयको जादु हाम्रो मनमा सदैव रहनेछ, तिमी मेरा लागि एक सिनियर मात्र होइनौ,’ रंगकर्मी तथा निर्देशक अनुप बराल इरफानलाई श्रद्धाञ्जली दिँदै लेख्छन्, ‘मैले विश्वास गर्ने अभिनय पद्धतिको पायोनियर पनि हौ, अलविदा माइ डियर एक्टर ।’

बलिउड अभिनेता अमिताभ बच्चन लेख्छन् – ‘इरफान खानको निधनको भर्खरै खबर मिल्यो, यो अत्यन्त विचलित गर्ने दुःखद खबर हो, एक असाधारण प्रतिभा, एक विनम्र सहयोगी, सिनेमाको दुनियाँमा एक महान योगदानकर्ता, हामीलाई धेरै छिटो छोडेर गए, खाली ठाउँ छोडेर गए ।’

भारतीय गायिका लता मंगेशकरले पनि इरफान खानको निधनको खुबरले दुःखी तुल्याएको लेखेकी छिन् । यस्तै अभिनेत्री केकी अधिकारी, ऋचा शर्मा, कलाकार जीवन भट्टराई लगायतले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् । बलिउड सेलिब्रेटीले इरफानको योगदान सम्झँदै उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आफ्नो अभिनयको जादुका कारण सधै चर्चामा रहेका इरफान फरक खालका फिल्ममा काम गर्न रुचाउँथे । पेन्टिङमा पनि रुचि राख्ने इरफान पछिल्लो समय क्यान्सरसँग जुधिरहेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०