क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने पाँच खेलाडी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ बैशाख २०७७, सोमबार ०५:१४

काठमाडौं । क्रिकेटको सबैभन्दा पुरानो प्रारुप टेष्ट क्रिकेटको सुरुवातताका कुनै पनि निश्चित समय वा दिन तोकिएको थिएन । जसको कारण खेल हप्ता दिनभन्दा बढी खेल्नुपर्ने अवस्था थियो ।

सन् १९३८/३९ तिर इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको टेष्ट ९ दिनसम्म भएको थियो । नवौं दिनमा इंग्ल्याण्डलाई जितका लागि ४१ रन चाहिएको थियो । तर, इंग्ल्याण्डका खेलाडीले पानीजहाजमा चढ्नु पर्ने भएको हुँदा उक्त खेल बराबरीमा सकिएको थियो ।

त्यसपछि टेष्ट क्रिकेटमा नियम परिवर्तन गर्दै पाँच दिनसम्म खेल्ने गरी समय निर्धारण गरियो । प्रत्येक दिनमा तीन सेसनको ९० ओभर खेल्ने निर्णय भयो ।

टेष्ट क्रिकेटमा खेलाडीले पनि एक, दुई रन गर्दै पारीलाई अगाडि बढाउनु पर्ने हुन्छ । ९० को दशकपछि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका खेलाडीको खेल्ने शैलीमा परिवर्तन आयो । उनीहरुले आधुनिक प्रविधिको विकाससँगै क्रिकेटलाई पनि अघि बढाए । उनीहरुले क्रिकेटको तीनवटै प्रारुपमा आफ्नो उत्कृष्ट ब्याटिङ गर्ने शैलीबाट लामो लामो गगनचुम्बी छक्का प्रहार गर्न सक्षम भएका छन् ।

यहाँ टेष्ट क्रिकेटमा धेरै छक्का प्रहार गर्ने शीर्ष पाँच खेलाडीका बारेमा चर्चा गर्ने छौं ।

१. ब्रेन्डोन म्याकुलम (१०७ छक्का)

न्युजिल्याण्डका पूर्वकप्तान तथा विकेटकिपर ब्याट्सम्यान ब्रान्डोन म्याकुलम सधैं आक्रामक ब्याटिङ गर्ने खेलाडीका रुपमा चिनिन्छन् । उनले टेष्ट क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

म्याकुलमले १०१ टेष्टको १७६ पारीमा १०७ छक्का हिर्काएका छन् । उनले १०७ खेलमा ३८.६४ को औसतमा ६ हजार ४५३ रन बनाएका छन् ।

२. एडम गिलक्रिष्ट (१०० छक्का)

अष्ट्रेलियाका पूर्वविकेटकिपर ब्याट्सम्यान एडम गिलक्रिष्ट सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका छन् ।

उनले ९६ टेष्टको १३७ पारीमा ४७.६० को औसतमा ५ हजार ५७० रन बनाउने क्रममा १०० छक्का प्रहार गरेका छन् । साथै, उनले १७ शतक तथा एक दोहोरो शतक बनाएका छन् ।

३. क्रिस गेल (९८ छक्का)

वेष्ट इण्डिजका ओपनर क्रिस (युनिभर्स बोस) सबै फर्म्याटमा आक्रामक रुपमा खेल्ने गर्दछन् । गेलले पारीको पहिलो बलदेखि नै ठूलो सट खेल्न सुरु गर्दछन् ।

उनले सन् २००० देखि २०१४ सम्म १०३ टेष्टको १८२ इनिङमा ९८ छक्का प्रहार गरेका छन् । यस्तै, टेष्टमा ४२.१८ को औसतमा ७ हजार २१४ रन बनाएका छन् ।

४. ज्याक कालिस (९७ छक्का)

दक्षिण अफ्रिकाका अलराउण्डर ज्याक कालिसले टेष्ट क्रिकेटमा ९७ छक्का प्रहार गर्दै सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको चौथो स्थानमा रहेका छन् ।

ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट रहेका कालिसले १६६ टेष्टमा १३ हजार २८९ रन बनाउँदा ९७ छक्कासमेत प्रहार गरेका छन् ।

५. वीरेन्द्र सहवाग (९६ छक्का)

भारतीय ओपनर वीरेन्द्र सहवाग सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको शीर्ष पाँचभित्र परेका छन् । सहवागले टेष्ट क्रिकेटमा ९६ छक्का प्रहार गरेका छन् ।

दायाँ हाते ब्याट्सम्यान सहवागले सन्यासअघि १०४ खेलको १८० पारीमा ४९.३४ को औसतमा ८ हजार ५८६ रन बनाएका छन् । यस्तै, उनले उक्त रन बनाउने क्रममा २३ शतक तथा ६ दोहोरो शतक प्रहार गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१