तीन सातादेखि खाना पकाउने ग्यासको हाहाकार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ भाद्र २०७१, बुधबार १५:३४

जाजरकोट,  २५ भाद्र   । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । तीन हप्तादेखि यहाँको सदरमुकाममा खाना पकाउने ग्यासको अभाव भएको हो ।

सल्लीबजार जाजरकोट सडकखण्डका विभिन्न ठाउँमा पहिरो पन्छाउन नसकिएका कारण ग्यास ल्याउन समस्या भएको मनकामना ग्यास र भेरी ग्यासका बिक्रेताले बताएका छन् । यहाँको सदरमुकाममा ५०० भन्दा बढी ग्यासबाट खाना पकाउने उपभोक्ता रहेका छन् ।
खलङ्गा, वोहरा, दल्ली, रिम्ना, थाप्ले, गौरीखालीलगायतका ठाउँमा रहेका होटल व्यवसायीले अत्यधिक ग्यासको प्रयोग गर्ने गरेका छन् । ग्यास सकिएपछि सबैभन्दा बढी सदरमुकाममा भाडा गरी बस्ने विद्यार्थीलाई भएको छ ।

उनीहरू अहिले महँगो पैसा तिरेर होटलमा खाना खाइरहेका छन् । जिल्लाको उत्तरपूर्वी गाविस नायकवाडा–२ जिरीबाट सदरमुकाम आएर पढ्दै गरेका कालीबहादुर सिंह भन्छन्–“ग्यास सकिएको आज १२ दिन भयो कहिले आउने केही पत्तो छैन होटलमा खाना खाँदा ग्यास खरिद गर्ने पैसाभन्दा बढी खर्च भइसकेको छ ।”

यता ग्यास  सञ्चालक चित्रबहादुर खत्रीका अनुसार ग्यास आउन कम्तीमा चार दिनभन्दा बढी लाग्न सक्छ । जाजरकोट सदरमुकाममा मनकामना र भेरी ग्यास प्रयोगमा छन् । होटलमा अहिले दाउराको प्रयोग गरेर खाना पकाइरहेको नयाँ नेपाल होटलका सञ्चालक लोकबहादुर खत्रीले बताउनुभयो ।

ग्यास सकिएपछि यहाँको सदरमुकाममा दाउराको व्यापार ह्वात्तै बढेको छ ।रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१