निगमले घटायो हवाइ भाडा दर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ भाद्र २०७१, बुधबार ०७:०८

काठमाडौँ ,१८ भाद्र । नेपाल वायु सेवा निगमले मलेसियामा रहेका अवैध नेपाली कामदार फर्काउने बेला बढाएको हवाई भाडा घटाएको छ। निगमले मलेसिया–काठमाडौं हवाई भाडा ७० प्रतिशतसम्म बढाएको थियो । निगमले नयाँ भाडा पाँच सय ६० रिंगेट (१६ हजार ८ सय) कायम गरेको छ।download (1)

सस्तोमा उडान भरिरहेको निगमले एकतर्फी हवाई भाडा गत साता पाँच सय तीन रिंगेटबाट (१५ हजार ९० रुपैयाँ) आठ सय ६० रिंगेट (२५ हजार ७ सय १० रुपैयाँ) पुर्‍याएको थियो। बढेको भाडा कायमै रहेको भए ट्राभल डकुमेन्ट लिएर घर फिर्ने तयारीमा बसेका करिब १० हजार कामदारमाथि व्यवभार थपिन्थ्यो । निगमले अहिले अवैधानिक कामदारका लागिमात्र पाँच सय ६० रिंगेट बनाएको हो ।

निगमको मलेसियास्थित कन्ट्री म्यानेजर सुधन श्रेष्ठले हवाई भाडा घटेको जानकारी दिए । ‘हामीले दसैको सिजन भनेर हरेक वर्ष भाडा बढाउँछौं, अहिले पनि त्यही प्रक्रिया थियो । तर अवैधानिक कामदार घर फर्कने बेला मर्का पर्छ भनेपछि भाडा दर घटाइयो,’ उनले भने । अब ट्राभल डकुमेन्ट लिएर बसेका अवैधानिक कामदारका लागि निगमको भाडा दर पाँच सय ६० रिंगेट हुन्छ, उनले भने । अरु यात्रुका लागि भने भाडादर यथावत हुने उनले बताए ।

अवैधानिक रूपमा मलेसियामा काम गरिरहेकाहरू कुनै पनि बेला पक्राउ पर्न सक्ने हुँदा नेपाली दूतावासले कोपरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली व्यवसायीको समन्वयमा स्वदेश फर्काउने सुचना जारी गरेको भोलीपल्टै नेपाल एयरलायन्सले मलेसियादेखि नेपालको हवाई भाडा ७० प्रतिशतले बृद्धि गरेको थियो । हवाईभाडा बृद्धिले दसैमा घर फर्कने कामदारसमेत समस्यामा परेका छन् ।

हवाईभाडा बृद्धि भएपछि कोपरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली दुतावास मलेसियाले निगमलाई पत्र लेखि भाडा घटाउन आग्रह गरेका थिए ।

मलेसियास्थित नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले अवैधानिक रूपमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउने तयारी भैरहेको बेला एकैचोटी हवाईभाडा बृद्धिले कामदारहरुलाई असर गरेको थियो घटाउन हामीले अनुरोध गरेर पत्र पठाएका थियौं, अहिले घटेको छ, यसले अवैधानिक कामदारलाई राहत हुन्छ, उनले भने । भाडा बृद्धि पछि रोकिएका कामदार दुतावासको सम्पर्कमा आउन थालेका छन्, विस्तारै सबै कामदारलाई स्वदेश पठाउँछौं, उनले भने ।

दुतावासले अवैधानिक कामदारहरु स्वदेश फिर्ता हुन सुचना जारी गरेको थियो । सूचनामा आगामी डिसेम्बर ३१ भित्र नेपाल फर्काउने प्रक्रिया सुरु गरिएकाले तत्काल दूतावासमा सम्पर्क गरी यात्रा अनुमतिपत्र बनाउन आग्रह गरिएको छ ।

कोपरासी र दूतावास मिलेर अहिले ट्राभल डकुमेन्ट लिएर आउने कामदारलाई नेपाल फिर्ता पठाइरहेको छ । सेप्टेम्बर दोस्रो सातादेखि दैनिक ३ सयभन्दा बढि कामदारलाई नेपाल पठाउने तयारी दुतावासको रहेको छ ।

गैरआवासिय नेपाली संघ, मलेसियाका बरिष्ठ उपाध्यक्ष रमेश तिवारीले हवाईभाडा नेपाल फर्कने सबै कामदारका लागि घट्नुपर्ने बताउँछन्, दसैमा विदामा घर फर्कने कामदारसँग महँगो भाडा लिनु न्यायोचित होइन, त्यसैले भाडादर सबैलाई समान हुनुपर्छ, भाडा पनि अझ पहिलाकै दरमा आएको छैन, उनले भने । अलिकति कमाउन दुख पसिना गर्ने कामदारले घर जाँदा महँगो भाडा तिर्न सक्दैन, त्यसैले पहिला जति थियो त्यति नै भाडा बनाउनुपर्छ, उनले भने । यसलाई कुनै अफर र स्किम बनाउनु हुँदैन् । आफ्नो देशको एयरलायन्सले सस्तो लग्दा राम्रो सन्देश नै जान्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१