यस्तो लक्षण देखिए क्यान्सर हुन सक्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०७५, आईतवार १४:०७


क्यान्सर आफैमा ठूलो रोग होइन, जसरी शरीरलाई मधुमेह, उच्च रक्तचाप जस्ता रोेग लाग्छन्, क्यान्सर पनि त्यसरी नै लाग्ने सामान्य रोग हो । तर समयमा रोगको पहिचान र उपचारमा ढिला गरियो भने यसले ज्यान लिन सक्छ ।

शरीर वृद्धि विकासको क्रममा कोषिकाहरुको अनियन्त्रित विकास अथवा धेरै कोषको उत्पादन हुँदा आउने समस्या नै क्यान्सर हो । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले राम्ररी काम नगर्दा पनि कोष अनावश्यक रुपमा वृद्धि हुने गर्दछ । शरीरको टाउको देखि खुट्टासम्मको जुनसुकै भाग, बाहिरी र भित्री अंगमा क्यान्सर हुन सक्छ । हाम्रो अस्वस्थकर खानपान र जीवनशैलीको कारणले, वंशाणु रोग भएर र विशेषगरी निकोटिनको प्रयोगले क्यान्सर लाग्न सक्छ । यसका विभिन्न चरणहरु हुन्छन्, समयमा नै उपचार गर्न सकेमा यो रोगबाट बच्न सकिन्छ । क्यान्सर रोग लागेका बिरामीलाई यस्ता लक्षण देखिन्छन् :

निको नहुने खोकी लाग्नु र स्वर परिवर्तन हुनु
यदि कसैलाई खोकी लागेको धेरै समय भएको छ, सामान्य उपचार गर्दा पनि खोकी निको भएको छैन भने त्यो क्यान्सर रोग लागेको लक्षण हुन सक्छ । ३ देखि ४ हप्तासम्म खोकी निको भएन भने त्यो फाक्सो अथवा मुखको क्यासर हुन सक्छ । त्यस्तै गरी आवाजमा परिवर्तन आयो भने पनि क्यान्सर रोग लागेको हो कि भनी शंका गर्नुपर्छ । एक्कासी आवाज धोत्रो हुनु पनि फोक्सो अथवा मुखको क्यान्सर रोगको लक्षण हो ।

कोठी बढ्नु वा रंग बदलिनु
शरीरमा भएको कोठीको रंग बदलिएको छ, खैरोबाट गाढा कालो भयो, अथवा सानो आकारको कोठी ठूलो हुँदै गयो भने पनि यो क्यान्सर रोगको लक्षण हुन सक्छ । कोठीमा एकदमै छिटो यस्ता परिवर्तन भएमा यो छालाको क्यान्सको लक्षण हुन सक्छ ।

शरीरका कुनै भागमा गिर्खा आउनु
शरीरको कुनै पनि भागमा विशेषगरी स्तनमा दुख्ने अथवा नदुख्ने गिर्खा आयो भने सचेत हुन जरुरी छ । दुख्ने वा नदुख्ने जे जस्तो गिर्खा आएमा अस्पताल गई हाल्नु पर्छ ।

शरीरबाट रगत वा पिप बगेमा
महिलाको महिनावारी अनियमित भएमा अथवा, महिनावारीमा रगतसँगै पिप बगेमा, शारिरीक सम्पर्कको बेलामा रगत देखिनु त्यस्तै गरी महिनावारी रोकिइसकेका महिलाहरुमा रगत देखिनु पनि त्यो पाठेघरको मुखको क्यान्सर हुन सक्छ । दाँतको गिजाबाट अस्वाभाविक रगत बग्नु ब्लड क्यान्सरको लक्षण हुन सक्छ र मलद्वारबाट रगत आएमा त्यो मलद्वारको क्यान्सरकोे लक्षण हुन सक्छ ।

पुरानो घाउ निको नभएमा
शरीरमा लागेको घाउ चोटपटक लामो समयसम्म निको नहुने कारण मधुमेह हो । यस्तै एचआइभी संक्रमितलाई पनि यस्तो समस्या देखा पर्न सक्छ । यी कारण बाहेक शरीरका घाउ निको नहुँदा घाउ ब्रिग्रिएर अल्सर र बिस्तारै क्यान्सर हुन सक्छ । त्यसैले लामो समयसम्म घाउ निको नभएका पुराना घाउलाई पनि विचार गर्नुपर्छ ।

दिसा पिसाब गर्ने बानीमा परिवर्तन आएमा
आफ्नो दैनिक दिसा पिसाब गर्ने दैनिकीमा परिवर्तन आयो भने पनि सचेत हुनुपर्छ । आज कब्जियत भयो, भोलि झाडापखाला लाग्यो, दिनमा २ पटक दिसा गर्ने बानीमा ४ भयो अथवा २ दिनमा एक पटक भयो । र पिसाब गर्ने बानीमा पनि छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, पिसाब गरिसकेपछि पनि तत्काल पिशाब फेर्न मन लाग्ने अथवा पिसाब गर्न कुर्नु परेमा, दिसा र पिसाबमा रगत देखिएमा पनि क्यान्सर हुन सक्छ ।

खाना निल्न गाह्रो भएमा
खाना खाने नली तथा पेट थैलोको क्यान्सर छ भने बिरामीलाई खाना निल्न गाह्रो हुन्छ । कहिलेकाहीँ झुसिलो डकार आएमा हामी ग्यास्ट्रिकले हो भन्छौ तर यस्तो समस्या क्यान्सरमा पनि हुन सक्छ ।

तौल घटेमा
शरीरलाई अरु रोग लागेको छैन, अथवा सामान्य कमजोरी महशुस भएको छ तर एक्कासी तौल घटेको छ भने त्यो क्यान्सरको लक्षण हुन सक्छ । जुनसुकै क्यान्सर लागेको प्रारम्भिक चरणमा पाँच देखि छ महिनाको समयमा १० प्रतिशतले वजन घट्छ, कमजोरी हुने अल्ती लाग्ने हुन्छ ।

क्यान्सर हुन लागेको कुरा बिरामी आफैले थाहा पाउन सक्दैन । सुरुको चरणमा क्यान्सर रोग लागेको कुरा थाहा पाउन अस्पतालमा जाँच गर्न जरुरी छ । तर हामीकोमा यसको कमै मात्र चलन छ । क्यान्सरको पहिलो चरणमा थाहा पाउन सके यसलाई निको पार्न पनि सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०