नेपाल-भारतबीच बहुप्रतिक्षित ऊर्जा बैठक पोखरामा सुरु

ssapana44@gmail.com' jamuna aryal
९ माघ २०७५, बुधबार १३:१०

पोखरा – नेपाल-भारतबीच बहुप्रतिक्षित ऊर्जा बैठक पोखरामा बुधबार बिहानदेखि सुरु भएको छ। बैठकका लागि नेपाल र भारतका अधिकारी मंगलबारै पोखरा आइपुगेका छन्। आज हुने बैठक सहसचिवस्तरीय हो। यो बैठकले पारित गरेका विषयलाई बिहीबार हुने सचिवस्तरीय बैठकले अनुमोदन गर्नेछ।

बैठकको मुख्य एजेन्डामा नेपाल-भारत इनर्जी बैकिङ र सीमापार विद्युत् प्रसारण लाइन निर्माण छन्। अघिल्लो महिना नयाँ दिल्लीमा भएको नेपाल भारत ऊर्जा आदान प्रदान समितिको १३ औं बैठकले दुई देशबीच इनर्जी बैकिङका लागि सहमति जनाएको थियो। उक्त सहमतिलाई पोखरा बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

बुधबार हुन लागेको सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी) बैठकको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्यालले गर्दैछन्। बैठकमा सन् २०१७ को फेब्रुअरीमा काठमाडौंमा भएको सचिवस्तरीय र गत १६ अप्रिल २०१८ मा नयाँ दिल्लीमा भएको पाचौं सहसचिवस्तरीय (जेडब्लूजी) बैठकका निर्णयमाथि समीक्षा हुनेछ।

यो बैठकमा विद्यमान ढल्केबर (नेपाल)—मुजप्‍फपुर (भारत) ४०० केभी प्रसारण लाइनलाई २२० केभी र ४०० केभीमा सञ्चालन गर्नेबारे छलफल हुनेछ। अन्नपूर्णलाई प्राप्त बैठकका एजेन्डा सूचिअनुसार नेपाल र भारतबीच विद्यमान विद्युत् व्यापारअन्तर्गत हालै सञ्चालनमा आएको कटैया-कुसाहा १३२ केभी प्रसारण लाइन र रक्सौल-परवानीपुर १३२ केभी प्रसारणबारे समीक्षा हुनेछ।

यसअन्तर्गत टनकपुरबाट नेपाललाई दिने थप बिजुलीका सम्बन्धमा पनि छलफल हुँदैछ।नेपाल र भारतबीच लामो समयदेखि चर्चामा रहेको दोस्रो सीमापार विद्युत् प्रसारण लाइन आजको बैठकको दोस्रो मुख्य एजेन्डाका रुपमा रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१