घोडेपानी र घान्द्रुकमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिए

ssapana44@gmail.com' jamuna aryal
७ माघ २०७५, सोमबार १७:०८

काठमाण्डौँ – म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र घोडेपानी र घान्द्रुक क्षेत्रमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिएका छन्।

सन् २०१८ मा ६५ हजार ७६ विदेशी पर्यटकले घोडेपानी–घान्द्रुक पदमार्गमा पर्ने पर्यटकीयस्थलको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय घान्द्रुकले जनाएको छ। 

वीरेठाँटीमा रहेको चेकपोष्टको तथ्यांकअनुसार सन् २०१७ को तुलनामा २०१८ मा सो क्षेत्रमा एक हजार ५३९ बढी पर्यटक भ्रमणमा आएका एक्याप घान्द्रुकका प्रमुख विदुरविक्रम कुइँकेलले जानकारी दिए। अधिकृत कुइँकेलका अनुसार सन् २०१७ मा ६३ हजार ५३७, सन् २०१६ मा ४७ हजार २७४, सन् २०१५ मा ३६ हजार र २०१४ मा ४२ हजार पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए। 

वीरेठाँटी, शिख र छोमरोङ चेकपोष्टमार्फत् घोडेपानी, घान्द्रुक क्षेत्रको पदयात्रामा आउने र फर्कने पर्यटकको विवरणसहितको तथ्यांक राख्ने गरिन्छ।  

म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको घान्द्रुक, लान्द्रुक, एबिसी क्याम्प, घम्पुसलगायत पर्यटकीयस्थल यहाँको आकर्षण हो। 

वीरेठाँटीबाट भित्रिएका आधा जसो पर्यटक छोमरोङ हुँदै अन्नपूर्ण आधारशिविर (एबिसी) पुग्ने गरेका छन्।

सन् २०१८ मा ३३ हजार ६७९ पर्यटक छोमरोङ हुँदै एबिसी पदयात्रामा गएका थिए। छोमरोङ हुँदै एबिसी पदयात्रामा जाने पर्यटकको सङ्ख्या २०१७ मा ३१ हजार ६८९ थियो । मगर, गुरुङ बस्ती, उनीहरुको कला, संस्कृति जीवनशैली, हिमशृङ्खला, सूर्योदय, लालीगुराँसको जङ्गल, एकान्त वातावरण यस पदमार्गको मुख्य विशेषता हो । घान्द्रुक घोडेपानी क्षेत्रमा चिनियाँ, फ्रेन्च, कोरियन र मलेसियन पर्यटक बढी मात्रामा आउने गरेका छन् । 

म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङ जिल्लालाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति रु २०० र अन्य मुलुककाले प्रतिव्यक्ति रु दुई हजारका दरले सरकारलाई शुल्क तिर्दै आएका थिए । सरकारले गत कात्तिकमा राजपत्रमा सूचना प्रकाशन गरेर नेपालीलाई पनि प्रतिव्यक्ति रु १०० का दरले प्रवेश शुल्क लिने र विदेशीको प्रवेश शुल्क वृद्धि गरेकोमा समुदाय तथा पर्यटन व्यवसायीले विरोध जनाएका छन् । पछिल्लो व्यवस्थाअनुसार सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार शुल्क निर्धारण गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०