एक पूर्वआनीले बमजनले आफूमाथि यौन दुर्व्यवहार गरेको खुलासा

ssapana44@gmail.com' jamuna aryal
४ माघ २०७५, शुक्रबार ०९:४७

काठमाण्डौँ – आश्रममा बसेकी एक पूर्वआनीले रामबहादुर बमजनले आफूमाथि पनि यौन दुर्व्यवहार गरेको बताएकी छन्।

मकवानपुरको छतिवनस्थित अजिङ्गरेकी असली लामा नामकी पूर्वआनीले आफू पनि बमजनको यौन दुर्व्यवहारको सिकारमा परेको बताइन्।

उनका पति दीपक भुजेलले आफ्नी पत्नीले पनि दुर्व्यवहार खेप्नुपरेको भन्दै प्रतिक्रिया लेखेका थिए। त्यसको केही समयपछि सम्पर्कमा आएकी असलीले आफू बमजनको आश्रममा बस्ने पहिलो समूहकी आनी भएको बताइन्।

‘रामबहादुर बमजनको हलखोरियास्थित आश्रममा सबभन्दा पहिले आनी बनेका हामी चार जना थियौं,’ उनले सेतोपाटीसँग भनिन्, ‘हामी बस्न थालेको झन्डै ४ वर्षपछि उसले मलाई दुर्व्यवहार गर्‍यो।’

बमजन २०६२ जेठबाट बारा जिल्लाको रतनपुरी जंगलमा तपस्या बस्न थालेका थिए। असली भने त्यो बेला एक जना गुरूसँग लामा पढिरहेकी थिइन्। तपस्या बसेका बमजन पनि आफ्ना चेला भएको गुरूले उनलाई बताए। उनकी बहिनी पनि सँगै पढ्थिन्।

एक दिन गुरूले नै बमजनको दर्शन गर्न भनेर रतनपुरी जंगलमा लगे। दर्शन गर्न गएका उनीहरू त्यहीँ बस्न थाले। त्यहाँ गएपछि बल्ल असलीलाई थाहा भयो, बमजनकी आमा नातामा उनकी फूपु पर्दिरहिछन्। टाढाको साइनो भए पनि उनी त्यही परिवारमा बस्न थालिन्। बमजनको घरमा धेरै काम हुन्थ्यो। पूजा पनि चलिरहन्थ्यो। असलीले फूपुको परिवारलाई काममा सघाउन थालिन्।

हलखोरियामा बमजनले आश्रम निर्माण गरेपछि असली र उनकी बहिनी त्यहीँ गए। त्यसबाहेक विष्णु बल र मीना वाइवा पनि आनी बनेर त्यहाँ बस्न थाले।

असलीका अनुसार त्यतिखेर बमजनको नियमित सम्पर्कमा उनको परिवार मात्र थियो। बमजनको संरक्षणका लागि बनेको समितिका मान्छेहरू त्योभन्दा बाहिरी घेरामा थिए।

‘बमजनका दाजु, दिदीहरू मनमाया र राजकुमारी भित्र जान पाउँथे। सुरूमा हामी बाहिर आश्रममा मात्र बस्थ्यौं। दर्शन पाइन्नथ्यो,’ असलीले भनिन्।

धेरै समय बितेपछि एकदिन बमजनकी दिदी राजकुमारीले चार जनालाई राखेर सोधिन्, ‘तिमीहरू गुरूका लागि के के गर्न सक्छौ?’

‘मैले सोचेँ। जंगलमा बसेको गुरूलाई कसैले केही गर्‍यो भने वा आश्रममा आक्रमण भयो भने के गर्छौ भनेको होला,’ असलीले भनिन्, ‘त्यस्तो सोचेर ज्यान दिन तयार छौं भनेका थियौँ। कुरा त अर्कै रहेछ।’

त्यो दिन राजकुमारीले उनीहरूलाई भनिन्, ‘गुरूले खाना खान्छ।’

उनीहरू झस्किए। त्यतिञ्जेल उनीहरू बमजन निराहार तपस्या बसेको विश्वासमा थिए। असलीले सोधिछन्, ‘किन दुनियाँलाई गुरूले केही खाँदैन भनेको त? तपस्या बसेको भनेर किन भनिरहेको त?’

‘तपस्या गरेको त साँच्चै हो। सुरूमा खाँदैनथ्यो, पछि उसले खाना ल्याउनू भन्न थाल्यो,’ राजकुमारीको जवाफ सम्झिँदै उनले भनिन्, ‘बाहिरकालाई भन्यो भने पत्याउँदैनन्, त्यसैले नभनेको।’

त्यसपछि असलीलाई बमजन बस्ने गरेको पाताल गुम्बाभित्र जाने अनुमति मिल्न थाल्यो। बमजनका दिदीहरू मनकुमारी र राजकुमारीले बमजनका लागि खाना पकाएर लगिदिने काम उनलाई लगाउन थाले।

‘बमजन तपस्या बसेको ठाउँमै एउटा ठूलो रूख थियो। त्यो रूखको मुनिपट्टि एउटा प्वाल थियो। त्यहाँ सेतो बाल्टिन राखेको हुन्थ्यो। मैले लगेर खाना त्यसमा राखिदिन्थेँ। बमजनले आफूलाई मन लागेको बेला खान्थ्यो। अरूलाई त्यहाँसम्म जाने अनुमति थिएन,’ उनले सम्झिइन्।


प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०