‘रुख काटिन्छ कि भनेर विकास रोक्ने कुरा हुदैँन’: प्रधानमन्त्री

ssapana44@gmail.com' jamuna aryal
३ माघ २०७५, बिहीबार १२:५१

काठमाण्डौ – ठूला विकास आयोजनामा देखिएका समस्या र तिनको समाधानको लागि बुधबार राष्ट्रिय योजना आयोगमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगमा बसेको बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, संघीय सरकारका मन्त्री, सचिव, प्रदेश योजना आयोगका प्रमुख लगायतको उपस्थिति थियो । 

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले ठूला विकास आयोजनाका समस्या सुनाउनुभयो । यस्तै मन्त्रीहरुले पनि समस्या सुनाए । 

समस्यामध्येको एक थियो वनका कारण विकास निर्माणमा भएको समस्या । बुधबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टै छलफल गरेका वनमन्त्री शक्ति बस्नेतले विकास निर्माणका काममा रुखको विवाद धेरै आएको बताउनुभएको थियो । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट खर्च हुन नसकेको, विकास निर्माणमा विनाकारण ढिलासुस्ती भएको, सरकारका विरुद्धमा अफवाह फैलँदासमेत सम्बन्धित मन्त्रालयले खास कुरा सार्वजनिक नगरेको लगायतका गुनासो गर्नुभयो । 

प्रधानमन्त्री ओलीले वनका कारण विकास रोकिन नहुने र विकासका नाममा अन्धाधुन्ध वन विनाश हुन नहुने बताउनुभयो । 

‘हामीले रुख काटिन्छ कि भनेर विकास रोक्ने कुरा पनि भएन, अनि अन्धाधुन्ध रुख काटेर पनि विकास गर्न हुन्न, वातावरणको मामलामा संवेदनशील हुनैपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो । 

केही समयअघि धनगढीको देवहरियादेखि बेहडाबाबा जोड्ने सडक खण्डमा ३१ वटा रुख  काट्न नमिलेपछि रुख छलेर बाँकी भागमा पिच गरिएको नागरिक दैनिकमा समाचार नै प्रकाशित भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०